परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आमा–बुवा कहिल्यै मर्नुहुन्न

कविता

आमा–बुवा कहिल्यै मर्नुहुन्न 

पहिले छुट्टै शरीर हुनुहुन्थ्यो, अहिले हुनुहुन्न ।

 

म मेरो अनुहार ऐनामा गहिरिएर नियाल्छु 

मैले मेरो एकलौटी भनेको अनुहारमा आमाको झझल्को पाउँछु  

अनुहारको बान्की उस्तैउस्तै छ 

नाक, आँखा, ओठ, गाला, छाला आमाको जस्तैजस्तै छ 

आमाको सम्झनामा डुबेको मनमा विचार आउँछ— 

मेरी आमा त मेरो अनुहारमै हुनुहुन्छ ।

 

म सम्झन्छु, मैले आमाको पार्थिव शरीरलाई दागबत्ती दिएको 

मेरो आँखा आफ्नै मुख नियाल्न पुग्छ   

मैले दागबत्ती राखिदिएको आमाको त्यो मुख, यो अहिलेको मेरो जस्तै थियो 

सम्झनाको त्यो मुख र मैले हेरिरहेको यो मुखमा फरक खोज्छु, पाउँदिन 

रोमाञ्चित हुन्छु र म निर्क्यौलमा पुग्छु — 

हो, त्यो मुख दुरुस्तै यस्तै थियो 

म नमरेसम्म यो अनुहारमा मेरी आमाको त्यो अनुहार मसँगै रहन्छ 

मेरी आमा सधैँ मसँगै हुनुहुन्छ  । 

 

म मेरो शरीरको बान्की नियाल्छु 

मैले मेरो शरीर बुवाकै ढाँचाको पाउँछु 

बुवाको टाउको र चिउँडोको बान्की अहिलेको मेरो जस्तै थियो 

मेरो स्वभाव भोग्नेले अहिले भन्ने गरेका छन्, बुवाको पनि यस्तै थियो 

मेरो हिँडाइ उस्तै रे, अग्लो पनि म दुरुस्तै रे, 

हात–खुट्टाका औंला, नङ र बोलीचाली पनि उस्तैउस्तै रे 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

बुवाको सम्झनामा डुबेको मनमा बिचार आउँछ 

मेरो बुवा त मेरो शरीरमा सधैँ मसँगै हुनुहुन्छ ।

 

म सम्झन्छु, मैले बुवाको पार्थिव शरीरलाई दागबत्ती दिएको 

हो, हो त्यो शरीर पनि अहिलेको यो मेरो जस्तै थियो 

यो मैले मेरो भन्ने गरेको शरीर पहिले बुवाको थियो 

कताकता मनमा मेरो बुवा सजीव भएर आउनुहुन्छ 

मेरो बुवा त मेरो शरीरमै सधैँ मसँगै हुनुहुन्छ ।  

   

अहिले म आफैँ मेरो आमा र म आफैँ मेरो बुवा 

यस्तो लाग्छ मलाई यो अनुहार र शरीर दिएर 

उहाँहरूले मलाई यो संसार भोग्न छोडिदिनुभएको छ 

गोठालाले परै बसेर आफ्ना गाईस्तुलाई नियाले झैँ 

मैले नदेख्ने ठाउँबाट उहाँहरू मलाई नियालिरहनुभएको छ 

पहिले झैँ अहिले पनि उहाँहरूले मेरो हित–अहित बुझिरहनुभएको छ 

आफ्नो यो सन्तानलाई सर्वगुण सम्पन्न बनाउन कोशिस गरिरहनुभएको छ

गोठालोले आफ्ना गाईवस्तुलाई झैँ मलाई सुरक्षा दिइरहनुभएको छ 

मेरो सम्पूर्ण अस्तित्वको सवारी चढेर 

मेरा आमा–बुवा यतै कतै मसँगै सधैँ रहिरहनु भएको छ ।

 

आमा–बुवा कहिल्यै मर्नुहुन्न

पहिले छुट्टै शरीर हुनुहुन्थ्यो, अहिले हुनुहुन्न ।

Facebook Comments