परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मोरङ्गमा कोरोना विरुद्ध सामुदायिक सचेतना अभियान

विराटनगर । स्थानीय समुदायमा कोरोनासम्बन्धी सचेतना फैलाउने उद्देश्यले मोरङको रतुवामाई नगरपालिका ५ र ८ का स्थानीय युवा समूहले कोरोना भाइरस सम्बन्धी सचेतना अभियान सञ्चालन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले युवालाई आफ्नो परिवार तथा समुदायमा कोरोना भाइरस सम्बन्धी सचेतना फैलाएर भाइरसबिरुद्धको लडाईमा सरकारलाई सहयोग गर्न आव्हान गरेको सन्दर्भमा स्थानीय युवा समूहले सचेतना अभियान सञ्चालन गरेका हो ।

सिंगो देशले कोरोना भाईरससँग जुधिरहेको अवस्थामा स्थानीयबासीलाई कोरोना भाइरस र यसबाट जोगिने उपायबारे बुझाउने अभिभारा हरेक समुदायका युवाको काँधमा आएको कुरा सचेतना अभियानका सदस्य हरि ढुङ्गानाले बताएका छन् । ढुङ्गानाका अनुसार रतुवामाई ५ र ८ स्थित उल्लुघुटु, मिलडाँडा, संजिवनी र कोइलीडाँगीका १ सय ५० घरमा ६ सय थान मास्क वितरण गरिएको छ ।

कोरोना भाइरसबाट बच्ने उपायसम्बन्धी पर्चा तथा पम्प्लेट पनि घर-घरमा वितरण गरिएको जानकारी ढुङ्गानाले दिएका छन् । युवा समूहले स्थानीयलाई मास्क वितरण गर्दै सही प्रयोग गर्ने तरिका सिकाउनुका साथै हाट बजार र चोकमा जाँदा कम्तिमा दुई मिटरको भौतिक दूरी कायम गर्नेबारे पनि सचेतना अभियान सञ्चालन गरेको छ ।

यो युवा समूहले स्थानीय समुदायलाई जनस्वास्थ्य, जनजीविका, सामाजिक सद्भाव एवं सामूहिक भावना र एकापसमा सरसहयोग, सरसफाइसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Facebook Comments