परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दक्षिण एशियामा प्रेस स्वतन्त्रता पछाडि फर्किँदै

सन्दर्भः विश्व प्रेस स्वतन्त्रता दिवस (भाग १)

र्खरै मे ३ को सन्दर्भ पारेर नेपाल लगायत विश्वभरि प्रेस स्वतन्त्रता दिवस मनाइयो । फ्रान्सस्थित रिपोर्टर्स विथआउट बोर्डर्सले हरेक वर्ष यही दिवसछेक पारेर प्रेस स्वतन्त्रता सूची सार्वजनिक गर्ने गर्छ । यसले जारी गरेको सूचीका आधारमा विश्वभरि प्रेस स्वतन्त्रताको अवस्थाबारे विचार विमर्श र विश्लेषण हुने गरेको छ । यो वर्ष प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा नेपाल लगायतका दक्षिण एशियाली देशमा प्रेस स्वतन्त्रता झनै कमजोर बन्न पुगेको देखिएको छ । यस भाग १ मा हामी दक्षिण एशियाली देशको प्रेस स्वतन्त्रताको अवस्थाबारे मोटामोटी छलफल गर्ने छौँ भने भाग २ मा नेपालका छिमेकीहरू (सार्क राष्ट्र) को प्रेस स्वतन्त्रताबारे विहङ्गम विश्लेषण गर्नेछौँ ।

पोहोर ६२.६७ अंक ल्याएर ७६ औँ स्थानमा रहेको नेपाल यो साल ५७.८९ अंक ल्याएर नाटकीय ढंगले ९५ औँ स्थानमा झरेको छ । प्रेस स्वतन्त्रताको यो सूचीमा १०० पूर्णांक राखिएको हुन्छ । जसअन्तर्गत सबैभन्दा धेरै अंक ल्याउने एक नंबरमा रहन्छ भने सबैभन्दा कम अंक पाउने १८० औँ स्थानमा रहन्छ । उदाहरणका लागि सन् २०२३ को प्रेस स्वतन्त्रता सूचीमा नर्वे १०० पूर्णांकमा ९५.१८ अंक ल्याएर पहिलो भएको छ भने सबैभन्दा कम २१.७२ अंक ल्याएर उत्तर कोरिया सबैभन्दा अन्तिम, १८० औँ स्थानमा रहन पुगेको छ । त्यसैले जति धेरै स्थान देखिन्छ, त्यति नै प्रेस स्वतन्त्रता कमजोर भएको मानिन्छ । नेपालले सन् २०२२ मा ७६ औँ स्थान कायम गरेकोमा यसपल्ट ९५ औँ स्थानमा पुग्दा प्रेस स्वतन्त्रताको हिसाबले १९ स्थानले तल झर्दै कमजोर प्रेस स्वतन्त्रता भएको अवस्थामा आइपुगेको छ ।

रिपोर्टर्स विथआउट बोर्डर्सले १८० देशमा गरेको प्रेस स्वतन्त्रता सर्वेक्षणले दक्षिण एशियाका आठमध्ये नेपाल लगायत पाँचवटा देशमा यो वर्ष प्रेस स्वतन्त्रता संकूचनमा परेको देखाएको छ । अपवादमा तीनवटा देशको प्रेस स्वतन्त्रतामा सामान्य सुधार भएको छ । संकूचनमा पर्ने पाँच देशहरूमा नेपाल, भारत, माल्दिभ्स, भुटान र बाङ्गलादेश रहेका छन् । यिनीहरूमध्ये पोहोरको तुलनामा नेपाल ७६ बाट ९५ औँ, भारत १५० बाट १६१ औँ, माल्दिभ्स ८७ बाट १०० औँ, भुटान ३३ बाट ९० औँ र बाङ्ग्लादेश १६२ बाट १६३ औँ स्थानमा झरेका छन् । गत सालको तुलनामा सुधार भएकामध्ये पाकिस्तान १५७ बाट १५० औँ, अफगानिस्तान १५६ बाट १५२ औँ र माल्दिभ्स १४६ बाट १३५ औँ स्थानमा उक्लेका छन् ।

सार्क क्षेत्रका राष्ट्रहरूको तुलना गर्दा बढी प्रेस स्वतन्त्रता भएकामध्ये भुटान पहिलो र नेपाल दोस्रो स्थानमा रहेका छन् ।

रिपोर्टर्स विथआउट बोर्डर्सले प्रेस स्वतन्त्रताका हिसाबमा विश्वको मानचित्रबाट नमूना छनौट गरेका १८० देशमध्ये पाँच रंगले सबैभन्दा बढी स्वतन्त्रता भएका र सबैभन्दा कम स्वतन्त्रता भएका देशहरूको वर्गीकरण गरेको छ । यसअन्तर्गत प्रेस स्वतन्त्रता राम्रो अवस्थामा भएका देशहरूलाई हरियो रंग दिइएको छ, जसमा सात नर्डिक देश र आयरल्याण्ड पर्दछन् । प्रेस स्वतन्त्रता सन्तोषजनक भएका ४४ देशहरूलाई हल्का पहेँलो रंगमा देखाइएको छ । समस्या देखिएका नेपाल लगायत ५५ देशहरूलाई गाढा पहेँलो रंगमा देखाइएको छ । प्रेस स्वतन्त्रताका हिसाबले कठिन देखिएका श्रीलंका लगायतका ४२ देशहरूलाई हल्का रातो रंगमा देखाइएको छ भने धेरै गम्भीर अवस्था भएका भारत, चीन लगायतका ३१ देशहरूलाई गाढा रातो रंग दिइएको छ ।

दक्षिण एशियामा नेपाल र भुटानलाई छोडेर बाँकी देशहरूलाई गाढा रातो रंगमा देखाइएको छ, जसको अर्थ यी देशहरूमा प्रेस स्वतन्त्रता गम्भीर अवस्थामा रहेको छ । यिनीहरूमध्येको श्रीलंका भने हल्का रातो रंगमा छ, जसले प्रेस स्वतन्त्रता कठिन अवस्थामा रहेको छ भन्ने देखाउँछ । आफूलाई विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भन्न रुचाउने भारत र एकदलीय कम्युनिष्ट शासन भएको चीन समान गाढा रातो रंगले पोतिएका छन् । यिनीहरूको स्थानमा मात्रै केही भिन्नता छ, जस्तैः १८० मध्ये भारतको १६१ र चीनको १७९औँ स्थान । बाङ्ग्लादेश पनि १६३ औँ स्थानमा रहँदै भारतकै हाराहारीमा उभिएको छ ।

अन्य आकर्षणहरू

संसारभरिकै कुरा गर्दा, रिपोर्टर्स विथआउट बोर्डर्सले के भन्छ भने पत्रकारिताका लागि १० मा सात राष्ट्र खराब छन् भने दशमा केबल तीन राष्ट्र मात्रै सन्तोषजनक अवस्थामा छन् ।

रिपोर्टस विथआउट बोर्डर्सले सन् २००२ देखि प्रेस स्वतन्त्रता सूची सार्वजनिक गर्दै आएको छ । नेपालको कुरा गर्दा हाम्रो देश पनि सन् २००२ देखि नै प्रेस स्वतन्त्रताको सूचीमा समावेश हुँदै आएको छ । यतिखेर नेपालमा माओवादी सशस्त्र द्वन्द्व चलिरहेको थियो । सन् २००२ मा नेपाल १२७ औँ स्थानमा थियो भने २००३ मा प्रेस स्वतन्त्रताको अवस्था झनै बिग्रेर १५० औँ स्थानमा रहन पुग्यो । राजा ज्ञानेन्द्रले शासन हातमा लिएको साल सन् २००५ मा नेपालको प्रेस स्वतन्त्रताको अवस्था झनै नाजुक बन्दै १६० औँ स्थानमा झर्न पुग्यो । २००६ मा एक स्थान सुधार भएर १५९ स्थानमा चढ्न सक्यो । २००७ मा लोकतन्त्र पुनर्वहाली भएपछि यसमा केही सुधार हुन पुग्यो र नेपाल १३७ औँ स्थानमा उक्लिन सक्यो । तर त्यसपछि भएका मधेश÷तराई आन्दोलन तथा जातीय पहिचानका आन्दोलनका कारण नेपालको प्रेस स्वतन्त्रताको अवस्थामा उल्लेख्य सुधार हुन सकेन । यसबीचमा नेपालको स्थान १३८ देखि १२० सम्म रहेको पाइन्छ ।

नेपालको संविधान जारी भएको साल सन् २०१५ र २०१६ मा प्रेस स्वतन्त्रताको सूचीमा नेपाल १०५ औँ स्थानमा रहन पुग्यो । सन् २०१७ मा १०० औँ स्थानमा उक्लिन सफल नेपाल २०१८ र २०१९ मा प्रेस स्वतन्त्रताको अवस्था बिग्रेर १०६ स्थानमा झर्न पुग्यो । २०२० मा त झनै अवस्था बिग्रियो र नेपालको स्थान ११२ हुन पुग्यो । २०२१ मा फेरि प्रेस स्वतन्त्रताको अवस्थामा केही सुधार भई नेपाल १०६ औँ स्थानमा फर्कियो । तर २०२२ मा नेपालले प्रेस स्वतन्त्रताको अवस्थामा उल्लेख्य फड्को मारेर १८० देशमध्ये ७६ औँ स्थानमा उक्लिन सफल भयो । तर यसमा अझै सुधार हुनुको साटो यो वर्ष अवस्था बिग्रन गयो र ९५ औँ स्थानमा धकेलिन पुग्यो ।

यसले के देखाउँछ भने नेपालको प्रेस स्वतन्त्रताको अवस्थामा बारम्बार उतारचढाव आइरहेको छ । यसपल्ट नेपाल तल झर्नुको कारणमा रिपोर्टर्स विथआउट बोर्डर्सले पत्रकारहरूको सुरक्षामा कमी र सेल्फ-सेन्सरसिपलाई देखाएको छ । केही वर्षअघिका प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघका प्रतिवेदनहरूले पनि नेपालमा सेल्फसेन्सरसिप डरलाग्दो रूपमा रहेको देखाएका थिए ।

विश्वमा सबैभन्दा राम्रो प्रेस स्वतन्त्रताको अवस्था पहिलो स्थानमा रहेको राष्ट्रको ताज सन् २०१७ देखि निरन्तर नर्वेले पहिरिरहेको छ । दोस्रो स्थान यसपल्ट आयरल्याण्डले लिएको छ भने तेस्रो स्थान डेनमार्कले लिएको छ । स्वीडेन चौथो, फिनल्याण्ड पाँचौँ र निदरल्याण्ड छैठौँ स्थानमा रहेका छन् । प्रेस स्वतन्त्रताका हिसाबले सबैभन्दा पुछारका पाँच देशमा उत्तर कोरिया (१८०), चीन (१७९), भियतनाम (१७८), इरान (१७७) र तुर्कमेनिस्तान (१७६) रहेका छन् ।

रिपाेर्टर्स विथआउट बाेर्डर्सले के कुरा ‍औँल्याएको छ भने विश्वमा राजनीतिक नेताहरू नै गलत सूचना फैलाउन लागिपरेका छन् । आर्टिफिसियल इन्टेलिजेन्सका कारणले पनि उस्तै देखाउनेगरी गलत तस्बिरहरूको प्रयोग सामाजिक सञ्जालहरूमा भएकाले सही र गलत छुट्याउन समस्या हुन थालेको छ ।

Facebook Comments