परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आउनुहोस् भ्रष्टाचार गरौँ

चट्याङ-प्रहार

भ्रष्टाचार त यस्तरी फैलिएछ,
मानिसको यो कामको सिको अब कुकुरले पनि गर्न थालेछ
तीन महिना जति भएको थियो खडेरी परेको,
कुकुरले त खुट्टो उचालेर
रूखको फेद्सँगै घुस माग्न थालेछ ।

रूख भन्ने– बरु फलफूल छ दिन्छु, पैसा छैन ।
कुकुर धाक दिने– मलाई खुट्टो उचाल्न के अरु ठाउँ छैन ?
कुकुरले जे सित्तै गर्नै पर्छ आखिर ठाडो ढुङ्गामा गर्यो
मर्नै नपर्ने फलदायी रूख भ्रष्टाचार सफल नभएर सुकेरै मर्यो
भ्रष्टचारले यस्तो नगर्नु गर्यो ।

‘भ्रष्टाचार गर्नु हुँदैन’
मैले यो भनेको दिनदेखि छोरो स्कूल जान मान्दैन
भन्छ– भ्रष्टाचार त पढेलेखेकाले गर्ने काम हो,
अशिक्षितले त गर्छु भने पनि मौका नै पाउँदैन
जब भ्रष्टाचार गर्नु नै छैन भने स्कूल जानु किन ?
यस्तो शक्तिशाली तर्कपूर्ण हुन्छ भ्रष्टाचार
नयाँ साइकल घुस दिन्छु भनेको दिनदेखि
छोरो फटाफट स्कूल जान्छ, जा भन्नै पर्दैन, ढिलो गर्दैन ।

भ्रष्ट एक, भ्रष्ट दुई, भ्रष्ट तीनले पनि पुग्दैन,
लिने, दिने, मिलाउने र जोगाउने भ्रष्ट चार नभई भ्रष्टाचार हुँदैन
चार चार जना पढेलेखेका मानिस मिलेर गरेको कामलाई,
कुनै आयोगको नियुक्ति पत्र नलिएकाले
भ्रष्टाचार भएको हो भन्न मिल्दैन ।

सप्पैलाई थाहा छ को को भ्रष्टाचारी हुन्, तर भन्न मिल्दैन,
आसले पनि भन्न मिलेन, त्रासले पनि भन्न मिल्दैन,
अर्काले घुस खायो भन्नेले आफू घुस खाने मौका पाउँदैन ।
भनिहाल्यो भने खाने मौका त गुमाउँछ गुमाउँछ,
आफू खुवाउनेहरूको पङ्क्तिमा सामेल नभई सुख पाउँदैन ।
चारचार जना पढेलेखेका मानिस मिलेर गरेको कामलाई
बिना सरकारी अधिकार कसैले भ्रष्टाचार भन्न मिल्दैन
भन्नेलाई सरकारले भन्ने अधिकार दिँदैन

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

 हे ईश्वर, पैसा खेर नफाल 

बिर्सनुको मजा !

भ्रष्टाचार रोक्न सक्ने जम्मा तीन जना–
शिक्षक, बाउ र आमा
शिक्षकलाई राजनीतिले भ्यायो,
बाउलाई धन कमाउने धुनले खायो,
आमालाई बाजारले लोभ्याएपछि,
कसैले भ्रष्टाचार गर्दिर्न भन्न पायो ?

घुस दिनेले आफ्नो लाभ देखेरै दिने भो ।
घुस लिनेले दिनेलाई हुने लाभबाट नै लिने हो ।
दुई पक्षको लाभालाभको सम्बन्धबाट लाभान्वित हुन
तेस्रो पक्ष भ्रष्टाचार निवारणवाला आएको हो ।
चौथो लाभान्वित पक्षले यी पङ्तिहरू कोर्दाको मजा लिइरहेको छ,
तपाईंँ पाँचौँ पक्ष यो पढ्नुको स्वादबाट लाभान्वित हुँदै हुनुहुन्छ ।
एक लेनदेनबाट पाँच पाँच पक्ष लाभान्वित हुने,
घुस बाहेक अरु के कुनै लेनदेन हुन सक्छ ?

त्यसैले आउनुहोस् भ्रष्टाचार पढौँ लेखौँ विद्वान बनौंँ
ठूल्ठूला भ्रष्टाचार सिद्धान्त छाँट्न सक्ने बनौँ
आखिर यो देश र समाजको लागि केही गर्नैपर्छ
कुनै न कुनै पदमा बस्नैपर्छ
एक्लै थोरै गर्न सकिन्छ थोरै गरौँ
सङ्गठित भए बढी गर्न सकिन्छ बढी गरौँ
जति सकिन्छ त्यति गरौँ
यही सजिलो, यही रमाइलो
जसले जति सक्छ त्यति गरौँ
आउनुहोस्, आउनुहोस् भ्रष्टाचार गरौँ ।

Facebook Comments