परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दैनिकी

२०७५ असोज १३ गते, शनिबार

सात नंवर प्रदेश संसदको दुई तिहाई बहुमतले प्रदेश नं‍. ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी पारित गरेको समाचार अखबारहरू प्रकाशित छ ।

निर्माण कार्य शुरु भएको २४ वर्ष बितिसक्दा पनि सगरमाथा लोकमार्गको निर्माण सम्पन्न हुन नसकेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

भारतको गोरखपुरदेखि नेपालको सुनौलीसम्म ग्यास पाइपलाइन विस्तार गर्नेबारे नेपाल र भारतबीच सहमति भएको समाचार पनि राजधानी दैनिकमा नै प्रकाशित छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने मन्तव्य दिनुभएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

कास्कीको रूपा ताल र वेगनास तालबीच रहेको पचभैयाँ गाउँकी एक सय १५ वर्षीय धनकुमारी गुरुङको असोज १२ गते निधन भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा नै प्रकाशित छ । उनको जन्म वि.सं. १९६० भदौ ७ गते भएको नागरिकताको प्रमाणपत्रमा उल्लिखित छ ।

पूर्व—पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको डण्डामा बस र ट्रक जुध्दा दुईजनाको मृत्यु हुनुका साथै १६ घाइते भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

नेपाल प्रहरीले उपत्यकामा मादव पदार्थ सेवन गरेर सवारी चलाउने चालकविरुद्ध चलाएको कारबाहीबाट हालसम्म २८ करोड रूपैयाँ उठको समाचार कारोबार दैनिकमा प्रकाशित छ । २०६८ मंसिर १७ गतेदेखि शुरु भएको कारबाहीमा हालसम्म दुई लाख २८ हजार चालक कारबाहीमा परेका छन् ।

नेकपाभित्र आन्तरिक किचलो बढेको र सोही दलका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थायी समितिको बैठक यथाशीघ्र बोलाउन आग्रह गर्नुभएको समाचार अखबारहरूमा प्रकाशित छ ।

२०७५ असोज १२ गते, शुक्रबार 

नेकपाभित्र आन्तरिक विवाद चर्किएको तथा पार्टी निर्णयविरुद्ध माधव नेपाल समूह प्रतिवादमा उत्रिएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मेलाम्ची खानेपानी आयोजनाले परियोजनाको गतिविधि अघि बढाउँदा सडक भत्काएकोमा सडक विभागलाई ९० करोड रूपैयाँ तिर्नुपर्ने भएको समाचार पनि नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

भूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माणका दातृराष्ट्रले सहयोग गर्ने घोषण गरे पनि प्रतिबद्धताअनुरूप रकम उपलब्ध नगराउँदा तीन वर्षको अवधिमा देशले निकै न्यून पाएको समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

वाइड बडी विमान खरिद प्रकरणमा अनियमितता भएको आशंका गर्दै आएको प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले महालेखा परीक्षक टंकमणि शर्मासँग छलफल गर्ने भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

नेपाली बिरामीहरूलाई कमिसनकै लागि भारतीय अस्तपतालमा अस्पतालमा रिफर गर्ने नेपालका चिकित्सक, अस्पताल र एजेन्टहरूलाई कारबाही गर्न नयाँदिल्लीस्थित भारतीय नेपाली राजदूतावासले सरकारलाई आग्रह गरेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

नेपाल—चीन उर्जा संयन्त्रको पहिलो बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ ।
साढे तीन वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि गण्डकी प्रदेशका सांसदहरू सक्रिय भएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

पृथ्वीनारायण शाहले नुवाकोटमा निर्माण गरेको साततले दरबार संरक्षणको अभाव भत्कने अवस्थामा पुगेको समाचार छ ।
सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हातहतियार, दस्ताबेजलगायतका सामग्री संकलन गरेर चितवनको शक्तिखोरमा युद्ध संग्रहालय निर्माण गर्न लागिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

कतारमा सन् २०२२ मा हुने विश्वकपका लागि निर्माण गरिँदै गरिएको स्टेडियममा नेपाली कामदारलाई दुई वर्षसम्म बिनापारिश्रमिक काम लगाएर रित्तो हात घर फर्काइएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

२०७५ असोज ११ गते, विहीबार

वैशाख २३ गतेदेखि शुरु भएको संघीय संसदको वर्षे अधिवेशन आजदेखि अन्त्य हुने भएको समाचार छ ।

पन्ध्रौं पटक अनसन बसिसक्नुभएका प्राडा गोविन्द केसीले संसदको चालू अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभएमा आफू पुनः अनसन बस्ने चेतावनी दिनुभएको छ । असोज १० गते प्रेस विज्ञप्ति जारी गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

पेट्रोलियम पदार्थको अभाव भएको मौका छोपी कृत्रिम अभाव पैदा गरेर कालोबजारी गरेको आरोपमा सरकारले उपत्यकाका सातवटा पेट्रोल पम्पमाथि कारबाही शुरु गरेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

संघीय संसद विकास तथा प्रविधि समितिले सहज, सुलभ र सुरक्षित रूपमा सार्वजनिक यातायातको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको समाचार पनि नागरिक दैनिकमा नै प्रकाशित छ ।

आफूले खाइपाई आएको सुविधा कटौती गरिएकोमा असन्तुष्टि जनाउँदै संघीय संसद सचिवालयका १३ जना कर्मचारीले राजीनामा दिएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ । सचिवालयका कर्मचारीले अघिल्लो आर्थिक वर्षसम्म तलबबाहेक ८० प्रतिशत सुविधा लिँदै आएका थिए ।

नेपाल राष्ट्रबैंकले यस वर्षको दशैं—तिहारका लागि असोज २१ गतेदेखि नयाँ नोट साट्ने व्यवस्था मिलाएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

काठको आयबाटै निजगढ विमानस्थल निर्माण गर्न सम्भव भएको समाचार नयाँ पत्रिका दैनिकमा नै प्रकाशित छ ।
सरकारले सर्वसाधारणको लगानीमा तीन हजार सात सय ४५ मेगावाट जलविद्युत उत्पादन गर्ने अवधारणा अघि बढाएको समाचार नयाँ पत्रिका दैनिकमा नै प्रकाशित छ ।

पश्चिम नवलपरासीका किसानले एक वर्षअघिको उखुको भुक्तानी नपाएको भन्दै असोज १२ गतेदेखि पूर्व—पश्चिम राजमार्ग बन्द गर्ने चेतावनी दिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रदेश नं. ७ को राजधानी दिपायलमा सार्नुपर्ने माग राख्दै डोटीमा आन्दोलन हुँदा जनजीवन प्रभावित भएको सञ्चार माध्यमहरूले जनाएका छन् । यसैगरी, देश नं. ७ को राजधानी गोदावरीमा राख्ने संसदीय समितिको प्रस्तावप्रति विरोध प्रकट गर्दै धनीगढीमा पनि आन्दोलन शुरु भएको समाचार छ ।

मानव बेचविखनको अभियोगमा प्रहरीले बैतडीबाट देवकी ढाँट र गणेश विष्टलाई पक्राउ गरेको समाचार छ ।

जुम्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा शुरु भएको समाचार छ ।

सरकारले सर्वसाधारणको लगानीमा तीन हजार सात सय ४५ मेगावाट जलविद्युत उत्पादन गर्ने अवधारणा अघि बढाएको समाचार नयाँ पत्रिका दैनिकमा नै प्रकाशित छ ।

थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभाको बाइसौं अधिवेशनले संस्थाको अध्यक्ष पदमा धनीराम चौधरीलाई निर्वाचित गरेको छ । अध्यक्ष पदका प्रतिद्वन्द्वी राजपा महामन्त्रीसमेत रहनुभएका राजकुमार लेखीलाई हराउँदै चौधरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

 

Facebook Comments