परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बतासिएको शहरी विकास– स्मार्ट सिटी

हामी जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा परिसंवाद् गर्छौँ। हरेक प्रश्नका उत्तर हुन्छन् तर सबै उत्तर समाधान हुँदैनन् । त्यसैले हामी प्रश्नको उत्तर होइन, समाधानका लागि परिसंवाद् गर्छौँ । कुनै पनि विषयवस्तुको अति सामान्यीकरणले विषयवस्तुलार्ई बुझ्न र त्यसलार्ई व्यवहारमा उर्तान प्रशस्त अन्योल थप्छ । त्यसैले हामी कुनै पनि विषयवस्तुलार्ई मसिनो गरी पर्गेल्ने जमर्को गर्छौँ । अधिल्लो परिसंवादमा हामीले शहरी विकासका वेथितिहरुका बारेमा गहन मन्थन गर्यौं । आज हामी सहरी विकासकै नाममा हिस्टेरिया झै फैलिएको स्मार्ट सिटीका बारेमा मन्थन गछौं । यस विषयमा विचार मन्थनका लागि आजको परिसंवादमा नेपाल सरकारका पूर्व सचिव तथा सहरी विकासका विज्ञ किशोर थापा, नेपाल सरकार, सहरी विकास मन्त्रालयका प्रवक्त कृष्णप्रसाद दवाडी जलस्रोतविद् तथा अन्नुसन्धानदाता अजय दीक्षित सहभागी हुनुहुन्छ । यस परिसंवाद्लार्ई सहजीकरण गर्दै हुनुहुन्छ, वातावरणमा अध्ययन र अध्यापन गर्नुहुने डा. सरोज ज्ञावालीले । अब परिसंवाद् सुरु गरौँ ।

डा. सरोज ज्ञवाली

किशोर सर, अहिले नेपालमा स्मार्ट सिटीको बहुचर्चा हुन थालेको छ । स्मार्ट सिटी भ्रम हो कि यथार्थ भन्ने मैले एउटा लेख लेखेको थिएँ । यसको वास्तविकता के  हो ?

किशोर थापा

मैले पनि केही महिना पहिला यो स्मार्ट सिटीको विषयलार्ई लिएर एउटा ठुलै लेख लेखेको थिएँ । स्मार्ट सिटीको सोच कहाँबाट आयो भनेर हेर्नुभयो भने सूचना प्रविधिको क्षेत्रवाट आएको देखिन्छ । आइटीको क्षेत्रमा काम गर्ने साथीहरूले स्मार्ट सिटी र स्मार्ट टेक्नोलोजी भनेर ल्याएको देखिन्छ । यो धारणा ल्याउनेहरूको सोच अहिले पनि आईटी गभर्न सिटी हो भन्ने नै छ । आइटीले व्यवस्थापन गर्ने सिटी हो भन्ने भनाई छ । पेपरलेस सिटी हो भनाई छ । समग्रमा आइटीद्वारा सञ्चालित सहर नै हो । यसमा सबैका आ–आफ्ना बुझाइहरू छन् । सबैको बुझाइ एकै खालको हुनुपर्छ भन्ने पनि छैन । तर यो नेपालमा पनि फेशनका रूपमा अगाडि आएको छ । यो हरेक नेताजीको जिब्रोमा आएको छ । मेयरको मुखमा आउन थाल्यो । यो क्षेत्रका विज्ञलार्ई के दवाव आउन थाल्यो – नेपालको सन्दर्भमा स्मार्ट सिटी भनेको के हो ? के के भयो भने स्मार्ट सिटी हुने हो ? र, कसरी बनाउने भन्नेबारेमा एकदमै बहस र पैरवीहरू चलेका छन् । नेपालको सन्दर्भमा मैले स्मार्ट सिटीका पाँचवटा लक्षणहरू के के हुन ? भनेर यसरी भन्ने गरेको छु – स्मार्ट पूर्वाधार, स्मार्ट वस्ती, स्मार्ट गर्भनिङ सिष्टम, स्मार्ट नागरिक र स्मार्ट प्रविधि लगायत पूरा भएको हुनुपर्छ भन्ने कुरालार्ई मैले अगाडि सारेको छु । यी पाँचवटा लक्षण पूरा भएपछि स्मार्ट सिटी भन्न सकिन्छ भनेको छु । यसलार्ई मैले नेपाली नामाकरण ‘छरितो सहर’ भनेर गरेको छु । नेपाली शब्द हेर्दा स्मार्ट सिटीको सबैभन्दा नजिकको शब्द हो जस्तो लाग्छ । स्मार्ट सिटीको बारेमा सहरी विकास मन्त्रालयले पनि विभिन्न अध्ययनहरू गराइरहेको छ । वालिङ, लुम्बिनी र पालुङटार, निजगढलार्ई स्मार्ट सिटी बनाउने भनिएको छ । यी नयाँ भए । अन्य  पुरानालार्ई पनि बनाउने भनिएको छ तर सोच भनेको सूचना प्रविधिको धारणाबाट गएको छ ।  तर म के भन्छु भने स्मार्ट सिटी बनाउने हो भने सूचना प्रविधिलार्ई एउटा पूर्वाधारको रूपमा लिनुपर्छ  । अहिलेको जस्तो ढिलो इन्टरनेटले त्यो सहर चल्दैन । त्यसो भएको हुँदा पनि अप्टीकल फाइबर सहितको सडकपूर्वाधारको रूपमा लिनुपर्छ । उर्जाको खपतमा कमी ल्याउनुपर्यो । नवीकरणीय उर्जाको बढी प्रयोग गर्नुपर्यो । पानीको व्यवस्था सोही अनुसारको राम्रो हुनुपर्यो । फोहोरमैला व्यस्थापन राम्रो हनुपर्यो । रोगी, अल्छी र कामचोर नागरिकवाट स्मार्ट सिटीको कल्पना गर्न सकिँदैन ।

कष्णप्रसाद दवाडी

यसमा अलि फरकखालको कामलार्ई अगडि बढाइरहेका छौँ । हालै केही मेयर र योजना आयोग समेत लागेर के के भयो भने स्मार्ट सिटी हुन्छ भनेर केही मापदण्डहरू बनाउन सरकार र सहरी विकास मन्त्रालय लागिसकेको छ । छिटै यसको परिणमा बाहिर आउँछ ।

अजय दीक्षित

मेरो विचारमा यो कतैवाट सिर्जित एजेण्डा हो । यसलार्ई आधुनिकताको पर्यायवाची मानेर अगडि बढिरहेका छौँ । काठमाडौँमा नै भनौँ न हामी सबैले इन्टरनेट प्रयोग गछौँ । भलै ढिलो छ । हामी स्मार्ट हौँ त ? मेरो घरमा इन्टरनेट छ । मेरो अफिसमा इनटरनेट छ । इन्टरनेट बेगर मेरो दिनचर्या नै अगाडि बड्दैन ।

 

विषय विश्लेषण:

  • हामीले सहर बनाइराखेका छैनैँ घर बनाइराखेका छौँ ।

  • पहिला घर बनाउने अनि सहरीकरणका सामान्य पूर्वाधारहरूको खोजी गर्ने उल्टो योजनाको शिकार भएको अवस्था छ ।

  • राज्यले कुन स्थानमा सहर वा वस्ती बसाउने भनेर जमिन नछुट्याएको अवस्था नै अनियन्त्रित सहर बन्नुमा मुख्य जिम्मेवार छ ।

  • खेतवारीमा घर बनाएका कारण पुर्वाधार पुर्याउन नसकिएको हो र त्यो महँगो पनि हुन गएको हो  ।

  • अनियन्त्रित सहर विस्तार, डोल क्षेत्र र नाला मिची प्रकृतिलार्ई चुनौती दिंदा बाढी बस्तीमा पसिरहेको छ ।

  • २९३ वटा नगरपालिकालार्ई योजना सहितको सहरीकरणको विकास गर्ने अधिकार रहेको छ ।

  • जमिन व्यक्तिको भए पनि त्यसमा के गर्न हुन्छ र के गर्न हुँदैन भनेर सरकारले स्पष्टसँग नभनिदिँदा अनियन्त्रित बस्तीहरू विस्तार भइरहेका  छन् ।

  • सहरीकरणको ज्ञान चाहिँ पश्चिमेली राष्ट्रबाट लिने हाम्रो सामाजिक, राजनीतकि र सांस्कृतिक संरचना नमिल्दो भएको हुँदा पनि समस्या भइराखेको छ ।

  • विगतको तुलमामा छोटो समयमा धरै पानी पर्ने क्रम बढेको र हामीले खोलाहरूलाई कुलामा परिणत गरेका हुँदा बाढी बस्तीमा पसेको हो ।

रघु मैनाली

अहिले हामी जेलार्ई  स्मार्ट भनिरेहका छौँ । कमर्शको सोचवटा हेर्ने हो भने नेगेटिभ प्रस्तुति हो । स्मार्ट एकउन्टिङ भनेको कसरी छलछाम गर्ने भन्ने हो । यो पहिलेदेखि चलेको । यो अहिलेको मात्र कुरा होइन । अहिले जुन स्मार्ट सिटीको कुरा ल्याइरखेका छौँ, अहिले बाहिर सडकमा हिंड्दा पिसाव फेर्नका लागि एउटा ट्वाइलेट छैन । हामीले न्यूनतम आधारभूत पूर्वाधार सहितको सहरको कुरा गर्न सकेका छैनौँ । जव कि समान्य बोलीचालीको भाषामा पनि अेभर जान्नेलार्ई ‘स्मार्ट’ भन्छ । स्मार्ट सिटी प्रविधिमैत्री मात्र बनायौँ ।

अजय दीक्षित

अथवा यसो भनौँ, हाम्रा जुन संरचनाहरू बनायौँ, हाम्रा बाटाहरू बटुवामैत्री छैनन् । हामी नै गाडी चलाउँछौँ । अन्यत्र पहेलो बत्ती बटुवाको अधिकारका लागि हो । त्यो हामीले गर्न सकेका छैनौँ । त्यस्ता वास्तविकताहरूलार्ई विर्सेका छौँ कि ? वास्तविक चुनौँतीहरूलार्ई स्मार्टको आवरण दिएर त्यसलार्ई लिपपोत पो गरिरहेका छौँ कि ।

रघु मैनाली

यसमा मेरो कुरा त के छ भने स्मार्ट भन्ने सोच व्यापारिक हिसावले मात्र आएको हो कि ? प्रविधिको व्यापारका लागि मात्र आएको त होइन ?

किशोर थापा

मैले अघि भनेँ नि, स्मार्ट शब्द नै सूचना प्रविधि उद्योगवाट आयो । अहिले सबै विदेशी ब्रण्डहरूमा स्मार्ट स्मार्ट भनेर जोड्न थालिएको छ । हरेक प्रविधिमा यो जोड्न थलिएको यो विकाउनका लागि । स्मार्ट भनेपछि युवाहरूलार्ई पनि सजिलो भएको छ । समग्रमा भन्दा स्मार्ट फोनले धेरै कुराहरूलार्ई स्मार्ट बनाएको देखिन्छ । भएको पूर्वाधारले मानवीय संवेदनलार्ई कति छोएको छ र त्यसको स्थायित्व छ, त्यसमा भर पर्छ । अहिले हाम्रा सहरहरू नै बस्न नालायक छन् । स्मार्ट भनेको घेरै पछिको कुरा हो । नगरिकका आधारभूत आवश्यकता पूरा भएपछि अनि अर्को चरणमा मात्र यो कुरा गर्न सुहाउँछ ।  पहलो कुरा, खान पाउनुपर्यो । त्यसपछि मात्र मीठो खाने कुरा आउँछ । भोको पेटमा त जे पायो त्यो खाने हो । मीठो– नमीठो भन्ने कुरा आउँदैन । यो बडी राजनीतिक बहसको विषय भएको देख्छु । मलार्ई अनुभव छ, म सहरी विकास मन्त्रालयमा सचिव हुँदा विदेशी एजेण्डाहरू आउँथे । कहिले इको सिटी भनेर आउने, कोही ग्रीन सिटी भनेर लाग्ने, कोही हेल्थी सिटी भन्ने । डब्लुटीसी भन्ने संस्थाले हेल्थी सिटी भन्ने कार्यक्रम ल्यायो ।  कोही सस्टेनिवल सिटी भनेर ल्याउने । यी सारा एजेण्डामा कर्मचारी तन्त्र, विज्ञ समूह र राजनीतिज्ञ घुमेका छौँ । तर हामीलार्ई चाहिएको के हो भन्ने कुरा हामीले भन्न सकेनौँ । त्यसमा म पनि दोषी होला ।

समस्याको पहिचान:

  • राज्यले कुन ठाउँ बस्ती बस्ने ठाउँ हो र कुन होइन भनेर नभनिदिँदा मान्छेले जहाँ पायो त्यहीँ घर बनाउने र पूर्वाधारको खोजी गर्ने कार्य भइरहेको छ ।

  • घडेरी भन्नासाथ सामान्य पूर्वाधार भएको भन्ने परिभाषालार्ई जनस्तरमा बुझाउन नसक्दा पनि सर्वसाधरणले खेतबारीमा घर बनाइराखेका छन् ।

  • सहर र बजारको अन्तर छुट्याउन नसक्दा पनि समस्या भइरहेको छ ।

  • विगत दुई दशकको राजनीतिक अस्थिरताका कारण र जनप्रतिनिधि विहीनाताका कारण गाउँबाट सहरमा बसाइ सराइको क्रम थाम्नै नसक्ने गरी बढेको छ ।

  • हामीले जीवनमा नभई नहुने र नभई बाँच्न नसकिने पानीलार्ई सारै हेपेका छौँ ।

अक्षय दीक्षित

किशोर सर, त्यसमा हाम्रो  चिन्तनमा कमी भएन ? हाम्रो ज्ञानमा, सोचमा, हाम्रो सहरी विकासमा प्रतिबिम्बित नै भएन । त्यसो भन्नुको अर्थ विदेशीलार्ई पूर्णतया नकार भन्न खोजोको त होइन ?

किशोर थापा

हो । एक किसिमको आत्मकेन्द्रित प्रतिविम्बित हुने वातावरण पनि बनेन । देशविदेशमा हुने सेमिनारमा दौँडन थाल्यौँ । पेपर लेख्न थाल्यौँ । तर कसैले  आफनो कुरा गरेनौँ । म पनि त्यसरी नै दौडेकै हो । जव म परिपक्व हँदै आएपछि सहरी विकास सचिव हुँदा मात्र नेपालीले बुझने कार्यक्रम ल्याउँ भनेर लागेँ  ।  त्यो कार्यक्रम थियो– सफा सहर कार्यक्रम । कतिपय सन्दर्भमा भवन विभागले त्यो कार्यक्रम गरिरहन्छ । वर्षमा एउटा सफा सहर घोषणा हुन्छ र १०, १५ लाख पुरस्कार दिने कुरा हुन्छ । सफा सहर हुनका लागि नेपाली सर्न्भमा ५ वटा साधारण शर्तहरू राखियो । त्यो सबैले बुझेको र ग्रहण गरेको मैले पाएको थिएँ । नत्र सबै गोलमोटल भयो ।

कृष्णप्रसाद दवाडी

हामीले ट्रमोलोजी लिंदाखेरि अलिकति माइन सेटमा नै आरोप लगाउन त खोजेको होइन तर पनि पश्चिमा हेजेमोनीका कारण पनि होला, अहिले पुनर्निर्माण चलिरेहको छ । त्यहाँ हेर्यो भने ‘कन्ट्रकसन इज अन प्रोग्रेस, सरी फर इनकन्भेनियन्स कज’ भनेर अंग्रेजीमा लेखिरहेको हुन्छ ।  म जस्तो तथाकथित पोष्ट ग्रयाजुयट मानिसलार्ई  पचाउन गाह्रो हुन्छ । हाम्रो सहरको ड्राइभर भनेको ल्याप्चे लगाएर खलासी बसेर, गुरुको कृपाले सिकेको हुन्छ । त्यस्ताको बाहुल्य भएको ठाउँमा सरले भने जस्तो त्यसलार्ई नेपालीमा राख्न सकेको भए बढी प्रभावकारी हुने थियो । स्मार्ट सिटीले नेपाली सन्दर्भ के बोक्छ, त्यसलार्ई समावेश गरेर प्रचारप्रसार गर्न पाए अलि प्रभावकारी होला कि ? सरले भनेको छरितो सहर भने जस्तौँ ।

किशोर थापा

छरितो शब्दको प्रयोग मानिस वा बस्तु सबैमा प्रभावकारी हुने रहेछ । महिला, पुरुष, बच्चा सबै सन्दर्भमा प्रयोग गर्ने शब्द भएको हुँदा त्यो शब्दको छनोट गरेको हुँ । चालढाल मिलेको हुनुपर्छ ।

डा. सरोज ज्ञवाली

अन्तमा अर्को विषयमा पनि छलफल गरौँ । सहरीकरणको अर्को महत्वपूर्ण पाटो ऊर्जा पनि हो । ऊर्जाबेगर सहरी विकासको कल्पना पनि गर्न सकिँदैन । उर्जामा हामी ठूलो लक्ष्य राखेर आर्थिक लाभ लिने भनेर लागिरहेका छौँ । त्यो हो, जलमा आधारित ऊर्जा । अबको दश वर्षमा सौँर्य ऊर्जा जलस्रोत ऊर्जाभन्दा छरितो र प्रभावकारी बन्न सक्ने सन्दर्भमा हामी प्रतिश्पर्धा गर्न सक्छौँ कि सक्दैनौँ ? हाम्रा योजनाविद्हरूले यो कुरालार्ई मध्येनजर कसरी गरिराखेका होलान् ?

अजय दीक्षित

कसरी यसको उपयोग हुन्छ भन्ने कुरा हो । जस्तो लोडसेडिङको बेला हामी सबैले इन्भर्टर राख्यौँ । हामी सबैको घरमा सोलार छ । छ, सात लाख रूपयाँ लगानी गरियो । त्यो त्यतिकै थन्केर बसेको अवस्था छ । प्राधिकरणले त्यो उपयोगको विधि खोजेको भए ठूलो लगानीबाट प्रतिफल पाउन सकिन्थ्यो । म सौर्य उर्जाको विज्ञ त होइन तर यसका केही सीमाहरू छन् । पानी परेको वेला, राती हुँदैन र वादल लागेको समयमा कम हुन्छ । तपाईसँग म के कुरामा सहमत छु भने प्यानलको मूल्य चाहिँ सस्तो हुँदै गइरहेको छ । यसमा विभिन्न अध्ययन भइरहेका छन् । सौँर्य ऊर्जासँग जलस्रोत ऊर्जाले प्रतिस्पर्धा गर्न लगानीका हिसावले गाह्रो हुने कुरा आएका छन ।

रघु मैनाली

पाँच वर्षपछिलार्ई हेरेर कुरा गर्ने हो, काठमाडौँमा यही ढंगले सहरीकरण हुने हो र प्रकृतिलार्ई यसैगरी अटेर गरिरहने हो भने अजय सरले भनेजस्तो पानी पर्ने मात्र (छोटो समयमा धेरै पानी) बढेको छ । त्यो निकास हुनलार्ई धेरै ठाउँ चाहिन्छ । नत्र डुवान हुन्छ । यही ढंगवाट जाने हो भने काठमाडौँको डुवान तोड्न नयाँ मञ्जुश्री नै पो चाहिने हो कि?

अजय दीक्षित

त्यो अवस्था त नआउला । तर डोलक्षेत्र डुवान हुनसक्छ । नदीको सामान्य प्रणाली के हो । नदी, किनार, कृषिजन्य भूमि त्यसपछि बस्ती। नदी भन्नेवितिकै यो प्रणालीसँग जोडिएको छ । नदीलार्ई हामीले किनारबाट पर्खाल लगाएर अलग गराएका छौँ । विस्तारै ती नदी छैनन्, कुला बनेका छन् । डोलक्षेत्रमा डर छ जस्तो लाग्छ मलार्ई । अहिले हेर्नुस्, माइतिघर क्षेत्र, जमल, पुतलीसडक क्षेत्रमा अलिकति ठूलो पानी पर्नासाथ डुबान हुन्छ । सहरी विकासमा हामीले पानी निकासको कुरालार्ई विर्सेका छौँ ।

कृष्णप्रसाद दवाडी

हामी मेलम्ची आउने कुरामा उत्साहित छौँ । त्यो आउला । त्यो आउँदा उपत्यकामा प्रयोग हुनेभन्दा प्रतिदिन दोब्बर पानी आउनेवाला छ । त्यो पानी ढलको रूपमा खोलामा पुग्दा कुनै न कुनै रूपमा निकासमा असर पुग्छ कि ?

अजय दीक्षित

जमिनको हिसाबले त्यो पानी धेरै होइन । सामान्यतया विहान बढी पानीको प्रयोग हुने हो । पानी प्रयोगको हिसावले ढल चाहिँ बढ्न सक्छ । बाढी र डुवान हुनेगरी त्यो पानीको योगदान हुँदैन ।

किशोर थापा

तर के चाहिँ हुन्छ भने त्यसको वागमती बेसीन चाहि परिवर्तन हुन्छ । बागमती डिस्चार्ज वर्षामा २७४ र हिउँदमा १६ क्युसेक छ । हिउँदमा पनि बागमती तर्नसक्ने चाहिँ हुँदैन ।

अजय दीक्षित

उपत्याकाका सबै खाली ठाउँमा घर बन्नेवाला छ । त्यसवेला कुला–बाटा जो परम्परागत रूपमा निकासका बाटा थिए, ती त थुनिइसके । त्यही कारण स्थानीय रूपमा धेरै डुवानहरू भएको हामी पाउँछौँ । किशोर सरको शब्द सापटी लिएर भन्नुपर्दा सहर होइन कि घर क्षेत्र डुवान हुनसक्छ । खोलाको प्रवाह केही बढ्न सक्छ ।

डा. सरोज ज्ञावली

हामी किन बृहत् सहरी योजना बनाउन सक्दैनौँ, जसले गर्दा ३ करोड जनसंख्यामा डेढ करोडलार्ई सहरमा नै ब्यवस्थित गर्न  सकियोस? किन सहरी विकासको योजना काठमाडौँ केन्द्रित मात्र छ ?

कृष्णप्रसाद दवाडी

अरु प्राविधिक कुराहरू त सरहरूवाट आउला । सरकारले त्यो विषयमा केही सोचाइलार्ई अगाडि बढाइरहेको छ । अहिले हाम्रो बसाइ सराइको जुन क्रम चलिहरको छ, पहाडवाट तराई क्षेत्रमा बढी बसाइ सराइ बढी भइरहेको कुरालार्ई ध्यानमा राखेर तराईका २१ ठाउँमा व्यवस्थित सहर बसाउने योजना अगाडि बढाइएको छ । आशा गरौँ, अव हुने सहरीकरणमा ‘पहिला बस्ती अनि सहरीकरण’ को कुरा नहोला । सहरीकरणसँगसँगै वस्तीको विकास हुन्छ भन्ने कुराको आशा गरौँ ।

समाधानका उपाय :

  • नयाँ र पुराना नगरपालिका मात्र होइनन्, नगरउन्मुख गाउँपालिकालार्ई पनि योजना सहितको बस्ती बसाउन केन्द्र र प्रदेश सरकारले कडाईका साथ निर्देशन दिनुपर्छ ।

  • सबै तहका सरकारको योजना बाहिर बनेका घरहरूमा राज्यले उपलब्ध गराउने कुनै पनि सविधा उपलब्ध नहुने कुरामा सबै नागरिकलार्ई सचेत गराउनुपर्छ।

  • हाम्रो मौलिक विशेषतालार्ई ध्यानमा राखी सहरी विकासको योजना बनाइनुपर्छ । विदेशी वा विभिन्न स्वार्थ समूहका एजेण्डामा कर्मचारीतन्त्र, विज्ञ समूह र राजनीतिज्ञ हिँड्नु हुँदैन ।

  • हाम्रो सन्दर्भमा मौलिकता सहितको स्मार्ट वा छरितो सहर निर्माण गर्ने ध्यान दिनुपर्छ ।

  • सञ्चारमाध्यमले सशक्त खबरदारी (स्वस्थ, सुविधासम्पन्न, योजनासहितको मौलिकपन झल्किने दिगो सहरीकरणका लागि) गर्ने, सञ्चार माध्यमले परिवर्तनकारी माध्यमको भूमिका खेल्ने ।

 

किशोर थापा

त्यस्तो सहर बसाउने हो भने जग्गाको पनि धेरै किफायत हुन्छ ।  व्यवस्थित बस्ती बसाउने हो भने एक हेक्टर जमिनमा तीनसय मानिस मज्जाले बस्न   मिल्छ । त्यो भनेको २० रोपनीमा तीनसय बस्न मिल्छ । अव्यवस्थित भएपछि त्यसले जग्गा बेसी लिन्छ । त्यसो हुँदा थोरै ठाउँमा धेरै सुविधा पाउनुहुन्छ । बस्ती पातलो भयो भने पनि पूर्वाधार महँगो हुन जान्छ ।

अजय दीक्षित

यसमा मेरो फरक दृष्टिकोण छ । हुन त म सहरी विकासको विज्ञ होइन । म चाहिँ मानिसलार्ई यान्त्रिक रूपमा राख्न मिल्दैन भन्ठान्छु। तपाईको जीविकोपार्जनसँग नजोडी तपाईको बस्तीको काम छैन । तपाई पढ्न आउनुभयो र रोजगारी गरेर बसिरहनुभएको छ । ल, सहर बसाउँछु तपाई पाँचखाल गएर बस्नुस् भन्ने हो भने तपाई बस्नुहुन्छ ? तपाई जानुहुन्न नि । त्यसो भएको हुँदा कहीँ न कहीँ जीविकोपार्जन र सामाजिक संस्कारसँग नजोडिकन तपाई बस्नुहुन्न । त्यस्तो बस्ती मानवीय संवेदनासँग जोडिनुपर्दछ । हाम्रो जीवनपद्धति भनेको कुखुरा, बाख्र्रा चाहियो, भैंसी चाहियो । जाउलो खाएर भएन, पिठो खानुपर्यो । यी कुराहरू जीवनपद्धतीसँग जोड्नुपर्छ । भएभरका मानिस काठमाडौँ किन आएभन्दा भएभरको सुविधा यहीँ छ । अर्को कुरा प्राकृतिक रूपमा एयरकण्डिसनको वातावरण छ । त्यसैले यान्त्रिक रूपमा मानिसलार्ई यहाँ वा त्यहाँ गएर बस भन्न गाह्रो हुन्छ जस्तो लाग्छ । मानिस आफ्नो परम्परा र थातथलोसँग जोडिएन भने त्यहाँ बस्दैन । रोजगारी, संस्कार, परम्परालार्ई नजोडी हुँदैन भन्न खोजेको हो ।

किशोर थापा

अवधारणका हिसावले ३ वटा कुरा सहरमा हुन्छन् । मान्छेहरू कहाँ बस्ने ? कहाँ काम गर्ने ?  कामबाट फर्केपछि फुर्सदमा के गर्ने ? त्यसमा संस्कारका करा आउँछन, धर्मका कुरा आउँछन्  र अन्य समुदायका कुरा आउँछन् । सहरमा यी ३ वटा कुरा नभई नहुने विषय हुन् । नेपाली समाजमा दुईवटा शब्द प्रचलित छन् । सहर र बजार। जस्तो मुग्लिन बजारमा समानको लेनदेन र किनवेच मात्र हुन्छ । त्यहाँ अरु कुरा नभए पनि हुन्छ । तर सहरमा तीनवटै कुरा नभई मानिस बस्न सक्दैन ।

डा. सरोज ज्ञवाली

यहाँहरूले सहरी विकास, खुला ठाउँ र पानी निकासका बारेमा जुन अमूल्य विचार दिनुभएको छ । यसलार्ई जनस्तरसम्म लैजाने छौँ र फेरिफेरि हुने यस्ता कार्यक्रममा पनि यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा गदै कार्यक्रमको अन्त्य गर्न चाहन्छु ।

 

हेर्नु होस

बहकिएका योजना र भद्रगोल शहर

 

 

Facebook Comments