परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

चाँगुनारायण नगरपालिकामा ज्येष्ठ नागरिक मिलन चौतारी

भक्तपुर । चाँगुनारायण नगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई मानव विकासको अंगका रूपमा अगाडि बढाउन ज्येष्ठ नागरिक मिलन चौतारीको अवधारणालाई कार्यान्वयनमा ल्याएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यतिर १ नंवर वडाबाट सुरु भएको यो अभियान अहिले २ नंवर वडा हुँदै अरु वडामा पनि विस्तार हुन थालेको छ ।

विशेष गरी कामकाजबाट अवकाशप्राप्त ज्येष्ठ नागरिकहरूको ज्ञान, अनुभव र सिपलाई उनीहरूकै सक्रियतामा नगरका वडाहरूको विकासमा उपयोग गर्ने उद्देश्यले मिलन चौतारीको अवधारणालाई चाँगुनारायण नगरपालिकाले कार्यान्वयनमा ल्याएको हो ।

ज्येष्ठ नागरिकहरूका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था एजिङ नेपाल र चाँगुनारायण नगरपालिकाको अगुवाइमा सुरु भएको यो अभियानको सुरुवात नगरपालिकाको वडा नंबर १ स्थित न्यौपाने गाउँबाट भयो । आफ्नो जन्मगाउँ समेत रहेको यो वडामा मिलन चौतारीको उद्घाटन गर्न प्रसिध्द हास्यव्यंग्यकार तथा ज्येष्ठ नागरिकको सेवामा समर्पित व्यक्तित्व चट्याङमास्टर अर्थात् कृष्णमुरारि गौतम पुग्नुभएको थियो । एजिङ नेपालका संस्थापक अध्यक्ष तथा बुढ्यौली साहित्यका समेत प्रवर्धक गौतम (चट्याङमास्टर) ले प्रमुख अतिथिको आसनबाट बोल्दै आफ्नो अवधारणालाई चाँगुनारायण नगरपालिकाले आफ्नै जन्मगाउँबाट कार्यान्वयन गरी आफैँलाई उद्घाटन गर्न बोलाएकोमा धन्यवाद दिनुभयो ।

ज्येष्ठ नागरिकहरूलाई अध्यात्मको संगत र शरीरको सुगठन दुबै आवश्यक पर्छ भन्दै प्रमुख अतिथि गौतमले ज्येष्ठ नागरिकहरू अध्यात्मसँग सम्बन्धित गतिविधिमा मात्रै सहभागी नभई गाउँ–टोल र राष्ट्रका विकास कार्यमा समेत सहभागी हुनु जरुरी रहेको धारणा राख्नुभयो । वडा नंबर १ स्थित ज्येष्ठ नागरिक मिलन चौतारीको अवधारणा आफ्नो वडामा पनि लैजान उत्सुक अन्य वडाका अध्यक्षहरूले पनि प्रत्यक्ष सहभागी भई सो कार्यक्रमको अवलोकन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले ज्येष्ठ नागरिकहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई नगरको विकासमा लगाउने तथा उनीहरूको अवकाशप्राप्त जीवन सहज बनाउने अवधारणा मन परेरै आफूले कार्यान्वयनमा ल्याएको बताउनुभयो । यो अवधारणा सबै वडामा छिटै कार्यान्वयन गरिने पनि उहाँले जानकारी दिनुभयो । मिलन चौतारीको उद्घाटन चट्याङमास्टरले तबला बजाएर गर्नुभएको थियो ।

चाँगुनारायण नगरपालिकाको वडा नंबर १ मा खुलेको ज्येष्ठ नागरिक मिलन चौतारीका लागि सामुदायिक भवनको एक तला छुट्याइएको छ । मिलन चौतारी सञ्चालनका लागि नगरपालिकाले हरेक वर्ष एक लाख रूपैयाँ प्रदान गर्ने घोषणा गर्नासाथै चट्याङमास्टरले पनि पहिलो वर्षका लागि एक लाख रूपैयाँ आफ्नो तर्फबाट दिने बचन दिनुभयो ।

मिलन चौतारी सञ्चालनका लागि एक व्यवस्थापन तदर्थ समिति पनि गठन गरी आवश्यक सामग्री र कार्यभार हस्तान्तरण गरिएको छ । मिलन चौतारीलाई व्यवस्थित ढंगले दिगो रूपमा सञ्चालन गर्न चाँगुनारायण नगरपालिकाले सञ्चालन कार्यविधि तयार गरिरहेको छ ।

मिलन चौतारी ज्येष्ठ नागरिकहरूको एकांकीपन हटाउने उपाय समेत बन्ने विश्वास यसका अवधारणाकारहरूले लिएका छन् ।

Facebook Comments