परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

छापा पत्रकारिताले भोग्नुपरेको समस्या!

समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउछ । प्रकृतिदेखि सामाजिक क्षेत्रमा पनि परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौ । मानव जीवनमा पनि शारीरिक विकाससँगै सीप, सोच, बौद्धिकता र व्यबहारमा परिवर्तन आउ छ । अहिलेको समयले मानव समुदायलाई  प्रविधिमय बनाउदै लगेको छ । सबै विषयमा प्रविधिको बोलवाला बढी रहेको अवस्थामा कतिपय नयाँ कार्य क्षेत्र फैलदै गएका छन् भने कतिपय पुराना प्रविधिमा आधारित कार्यहरू ओझेल पर्दै गएका छन् । अहिलेको युगमा सबैले  प्रविधिमैत्री बन्दै तदनुरुप चल्नु नै फाइदाजनक हुन्छ । नत्र समयले मानिसलाई पछि पार्दै लान्छ ।

२०४६ सालको जनआन्दोलनले नेपालमा प्रजातन्त्र ल्यायो । यो प्रजातन्त्रसँगै थुप्रै क्षेत्रमा परिवर्तनहरू आए । सञ्चार, यातायात, शिक्षा र स्वास्थ्यका क्षेत्रमा नेपालले धेरै प्रगति गर्न पुग्यो । शिक्षा, स्वास्थ्य र यातायातका क्षेत्रमा जस्तै सञ्चार क्षेत्रमा पनि लगानीका ढोकाहरू खुले । पंचायत कालमा मुर्झाएर रहेका छापा पत्रकारिताले पनि बौरिने मौका पाए । राणा शासनकालमा विदेशी भूमिबाट सञ्चार हुने समाचारका साधन नेपालबाट पनि केही हदसम्म हुन थालेका थिए । छापा पत्रकारिताले  पंचायत व्यवस्था फालेर प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न थोरबहुत मद्दत गरेका थिए । सरकारी सञ्चार माध्यम एक प्रकारले अहिले जस्तै सरकारकै गुणगानमा व्यस्त र मस्त रहने भएकाले बिस्वास योग्य थिएनन् । त्यस बखत तीनै साप्ताहिक, पाक्षीक र मासिक लगायतका छापा पत्रपत्रिका समाचारका विस्वासीला माध्यम बन्न पुगेका थिए । सायद सञ्चारका अन्य माध्यम नभएर पनि होला  उपलब्ध छापा पत्रपत्रिकालाई नै विस्वास गर्नु पर्ने बाध्यता भएको ।

त्यसताका पत्रपत्रिकाहरूको मिसन थियोे । सरकारी सञ्चार माध्यम बाहेक अन्य साप्ताहिक लगायत सबै छापा सञ्चार माध्यमले “प्रजातन्त्र” प्राप्तिलाई नै आफ्नो लक्ष बनाएका थिए । नभन्दै २०४६ सालपछि जनआन्दोलनबाट नेपालमा प्रजातान्त्रिक व्यवस्था स्थापना भयो । जनतामा एक खालको उत्साह र उमंगको संचार भयो । पंचायती व्यवस्था समाप्त भएर बहुदलीय व्यवस्था स्थापना भएको सुखद कारणले नै होला ३/४ वर्षसम्म छापा पत्रकारिता सप्रिएर फस्टाएको अवस्थामा थियो । यसपछि भने नेपालको भूमिमा ब्रोडसिट पत्रिकाले बजार पाउने र उद्योग धन्धा फस्टाउने ठानेर होला केही व्यक्ति छापा पत्रिकामा लगानी गर्न अगाडि बढे । यो अवस्थासम्म पनि छापा पत्रिका माथि पाठक वर्गको अटुट विस्वास र माया थियो । स्थिर सरकार र परिपक्क नेतृत्व प्रजातन्त्रले दिन्छ भन्ने बिस्वास जनतामा थियोे । तर, प्रजातन्त्र पछि निर्वाचित नेपाली काङ्ग्रेसको एकमना सरकार आन्तरिक किचलोका कारण कुबेलामा ढल्यो । जसले गर्दा राजनीति, सञ्चार क्षेत्रलगायत सबैतिर निराशा छायो ।

यसै बेलादेखि राजनीतिमा खिचातानी सुरु भयो भने पत्रकार र छापा पत्रिकाहरू पनि विभाजित हुन पुगे । प्रजातन्त्र स्थापनार्थ गरिएको परिश्रम बिर्सिएर पत्रकार र पत्रिकाले पार्टी पत्रकारिता गर्न थाले । २०५१ सालको चुनाव पछिदेखि छापा पत्रकारिता क्रमश पार्टी पत्रकारिता, गुट पत्रकारिता र नेता पत्रकारिता तर्फ विभक्त हुँदै गयो । पाठकहरू अन्योलमा पर्दै गए । पत्रकार र पत्रिकामा उदाएको पक्षधरताले गर्दा एउटै समाचार पत्रिकैपिच्छे फरक रुपमा आउन थाले । जसले गर्दा छापा पत्रिकाले आर्जन गरेको विस्वासनीयता गुम्दै गयो । सत्ता सुखभोग हो र हामीले पहिला गरेको दुखअनुरुप अब सुखभोग गर्न पाउनु पर्छ भन्ने मान्यता नेताहरूको सोचमा देखा पर्न थाल्यो । यसले सबै पार्टी भित्र गुट, उपगुट र नजानिदो गरि समानन्तर समिति जन्मन थाले ।

यिनै गुट, उपगुट र समानन्तर समिति सञ्चालन गर्ने नेताहरूसँगै पत्रकारहरू पनि विभाजित रुपमा देखिए । प्रजातन्त्र प्राप्ति पछि पार्टी पत्रकारिता गरिरहेका पत्रकारहरू क्रमश पार्टी भित्रको गुट पत्रकारिता र नेता (व्यक्ति) पत्रकारिता तर्फ लहसिदै गए । कतिपय छापा पत्रिकाहरू पार्टीका गुट र उपगुट हुदै व्यक्तिका बन्न पुगे । हुदाहुदै ठूला विज्ञापन दाताहरूसमेत गुट र नेता व्यक्ति हेरेर विज्ञापन उपलब्ध गराउने अवस्थामा पुगे । यश अवस्थाले गर्दा कतिपय पत्रिकाको आर्थिक (अर्थ प्राण) अवस्था सुक्न पुग्यो । सञ्चार माध्यम बाँच्ने भनेको विज्ञापनले नै हो । विज्ञापनमा मन्दी आएपछि छापा पत्रिकाले आफ्नो पत्रिकामा काम गर्ने पत्रकार र कर्मचारीलाई समयमै तलब भत्ता उपलब्ध गराउन नसक्नु स्वभाविकै भयो ।

जब पत्रिकाहरूमा आर्थिक मन्दी सुरु भयो तब पत्रकारहरू पनि छटपटाउन थाले । स्वभाविकै होला यस्तै अवस्थामा तलब नपाएका पत्रकारले परिश्रम नगरी  अतिरिक्त आम्दानी हुने ठाउँहरू खोज्न थाले । सही सत्य समाचार खोजेर आफ्ना पाठक समक्ष पुराउने भन्दा पनि आफ्नो आर्थिक गर्जो टार्नु पर्ने अवस्था पत्रकारहरूले भोग्न थाले । यिनै कारणले गर्दा पर्चाकारिता, पक्षपोषण, पार्टीकारिता र चाटुकारिताको आरोप छापा पत्रकारितालाई लाग्न थाल्यो । स्वच्छ समाचार, खोजमुलक समाचार र वस्तुनिष्ट समाचार तलबविहिन पत्रकारले खोज्न छाडे । पत्रकारिताको आचार संहिता एकातिर असमाचारको बाढी अर्कोतिर हुन थाल्यो । जसले गर्दा पत्रकार र छापा पत्रिका प्रतिको पाठकको विस्वासमा ठेस पुग्यो । र आम पाठकलाई  समाचारहरु असान्दर्भिक, झुठ र अर्घेलो लाग्न थाले ।

काठमाडौं महानगरपालिका कुमारीगाल खरिबोट स्थित स्टेस्नरी पसलका सन्तोष अधिकारीले पत्रपत्रिका बेच्न थाल्नु भएको थुप्रै वर्ष भयो । उहाँले आफ्नो परिवारको खर्च त्यही पसलको आम्दानीबाट चलाउदै आउनु भएको थियोे । केही दिन अघि सन्तोषले यो पंक्तिकारलाई बोलाएर पेशा परिवर्तन गर्नु पर्ने अवस्थामा पुगेको गुनासो गर्नु भयो । उहाले छापा पत्रिकाका ग्राहक घट्दै गएर सकिएको, पत्रिका बिक्री हुन छाडेको र  पत्रिकाले सत्य र खोजमूलक समाचार सम्प्रेषण गर्न नसक्दा पत्रिका बिक्रेताहरू यो अवस्थामा पुगेका हुन भनेर सुनाउनु भयो । वास्तवमा सन्तोषजीको यो साधारण अभिव्यक्तिमा पत्रकारले सोच्नु पर्ने थुप्रै कुरा लुकेका छन् । २०४६ सालपछि फस्टाएको छापा पत्रकारिताले एउटा समूहलाई राम्रैसँग रोजगारीको व्यवस्था गरेको थियोे । तर, अब त्यो अवस्था रहेन ।

पत्रकारहरू एक प्रकारले सुविधा भोगी हुँदै गए । दुख गरेर समाचार खोज्ने भन्दा डेक्समा बसेर अरुले लेखेको समाचार आफ्नो बिचार अनुसार काटछाट गरेर पेज भर्ने ध्याउन्नतिर लागे । जसले गर्दा कतिपय समाचारको आशय र मर्म नै फरक पर्नु स्वाभाविकै हो । यस्ता समाचार पढ्ने पाठकले एउटै समाचारको वास्तविकता बुझ्नलाई  भिन्न भिन्न पत्रिका हेर्नु पर्ने भयो । जसले गर्दा पाठक वर्गलाई आर्थिक देखि मानसिक भारसमेत पत्रकारले थपी दिए । यही बेला समाजमा सामाजिक सञ्जाल हावी हुँदै गयो । एफएम रेडियो र विभिन्न टेलिभिजन च्यानलहरू थपिए । जनताले छिटोछरितो रुपमा निर्बाध  सही सत्य सूचना प्राप्त गर्न सक्ने माध्यमहरू बढ्दै गए । छापा पत्रिकामा भोलिपल्ट पढ्न पाउने समाचार पाठकले आजै पढ्न पाए । जसले गर्दा छापा पत्रिकाका पाठक घटे ।

अहिले छापा पत्रकारिता निकै कमजोर अवस्थाबाट गुज्रिरहेको छ । अथवा पत्रिकाहरूको आर्थिक अवस्था कमजोर बनेको छ । तर, जहाँ समस्या त्यहाँ उपाय नभन्ने कुरा हुदैन । अनलाइन पोर्टलहरूलाई समेत उछिनेर सामाजिक सञ्जालमा अभ्यास्त भई सकेका आफ्ना पाठकलाई पुन पत्रिका पढ्न रुचि बढाउन भने जरुरी छ । अब यसका लागि के गर्ने भन्ने सवाल उठ्छ । हामीले अहिलेसम्म पाठकहरू समक्ष पुगेर उनीहरूको रुचि बुझ्ने कोसिस गरेकै छैनौं । वाक्क दिक्क लाग्दो राजनीतिक समाचार बाहेक अरु समाचारलाई स्थान दिन कन्जुस्याइँ गरि रहेका छौं । कसैको भजन गाउँदै अर्को कसैलाई खुइल्याउने समाचार अबका पाठकले खासै चाख मानेर पढेनन् । भाषण भूषण, उद्घघाटन, शिलान्यास र पुस्तक विमोचनका समाचारलाई अबका पाठकले तिरस्कार गरिसकेका छन् ।

अहिले विश्वका विकसित देशहरूमा समेत छापा पत्रिकाहरू क्रमश बन्द हुदै गएका छन् । तर, नेपालमा छापा पत्रिकाको महत्त्व, गरिमा र आवश्यकता अझै छ । यसलाई समय सापेक्ष बनाउन भने सक्नुपर्छ । स्वभावैले पत्रकारिता क्षेत्र प्रति पक्ष भूमिकामा रहनु पर्ने हो । तर, अहिले पत्रिकाहरू सत्ता पक्ष र प्रतिप पक्ष खेमामा विभाजित देखिन्छन् । यहाँनेर के भन्नै पर्छ भने सत्ता पक्षको बोझ उठाउने सरकारी सञ्चार माध्यम प्रसस्त छन् । अन्यले जोडबल लगाएर सरकारको भक्तिगान गाउनु पर्ने जरुरत छैन । यसर्थ पत्रकारहरू आफै सच्चिएर आफ्नो संचार माध्यमका समाचारहरू सच्याउन जरुरी छ । पत्रिकाका पाठकले ख‍ोजपूर्ण समाचार पढ्न चाहिँ रहेको अवस्थामा जबर्जस्ती गोजी समाचार पढाउन सकिदैन । यसर्थ खोजपूर्ण, सोधपूर्ण र सत्य तत्थ्यमा आधारित समाचार लेखन तर्फ पत्रकारहरू लाग्नैपर्छ ।

वर्तमान समय पत्रकारहरूले स्वतन्त्र पूर्वक लेख्न पाउने समय हो । यो समयको भरपुर उपयोग गरेर छापा पत्रिकाले आफूलाई अब्बल प्रमाणित गर्न सक्नुपर्छ । अन्यथा समय घर्की सकेपछि पश्चताप गर्नु बाहेक अर्को विकल्प नरहन सक्छ । अहिले थोरै बुझ्ने पाठकले पनि तत्थ्यमा आधारित खोजमूलक समाचार “छ वा छैन” हेरेर मात्र पत्रिका किन्न थालेका छन । छापा पत्रिकाले एकातिर आफ्ना पाठक समाचार पर्गेल्न सक्ने भएकामा खुशी मन्नु पर्ने अवस्था छ भने अर्कोतिर पत्रिका बिक्री नभएकोमा दुख मान्नुपर्ने अवस्था छ । यो “बिक्री नहुने” अवस्थाबाट छापा पत्रिका मुक्त हुन सत्य तत्थ्यमा आधारित खोजपूर्ण समाचार कै आवश्यकता पर्छ ।

अहिले चारैतिरबाट छापा पत्रिका माथि प्रहार भई रहेको अवस्था छ । एकातिर पत्रकारहरूको आफ्नै कमीकमजोरीले यसो भएको हो भने अर्कोतिर विज्ञानले प्रविधिमा गरेको उच्च विकासले पनि यसलाई दपेटी रहेको छ । सामाजिक सञ्जालले पत्र पत्रिकाका पाठकलाई जकडेर राखेको अवस्थामा अनलाइन पोर्टलका छिटाछरिता तर दोधारे समाचारले भुलाई रहेका छन् । अनलाइन न्यूज पोर्टलहरू पार्टी, गुट, नेता हुँदै अहिले आएर आआफ्नै हुन पुगेका छन् । उद्योग पति, ब्यापारी अथवा  विज्ञापन दाताहरू आफैले सहज रुपमा प्राप्त गरेको समाजिक सञ्जाल मार्फत विज्ञापन गर्न थालेका छन् । जले गर्दा छापा माध्यमको आर्थिक प्राण नराम्रोसँग खुम्चिन पुगेको छ ।

ह्वाट्सअप, भाइवर, टिकटक, युटुब लगायतका सामाजिक सञ्जाल व्यापक बनेपछि अन्य सञ्चारका सशक्त माध्यममा विज्ञापन आउने क्रम कम हुदै गएको छ । यो अवस्थाबाट छापा पत्रकारितालाई जोगाउन र पाठकको रुचि बढाउन खोजी रिपोर्टिङ र पाठककै रुचि अनुसारको सामाग्री बाहेक अरु उपाय देखिदैन । रेडियो, टेलिभिजन, अनलाइन माध्यमले दिएका सामाग्री भन्दा अहिले पनि छापा पत्रिकाका पाठक बढ्ने अवस्था रहेको छ । तर, सामाग्री भने सत्य तत्थ्यमा आधारित र खोजपूर्ण हुनैपर्छ ।

अहिलेकै अवस्थाको मूल्यांकन गरेर भन्नू पर्दा सरकारी धारणा र नीति पनि छापा पत्रकारिता बिपरित रहेको पाइन्छ । सरकारी विज्ञापन प्राप्त गर्न सक्ने अवस्था छैन । मन्त्रालय स्तरबाटै आफ्ना मातहतका निकायलाई “सरकारी सञ्चार माध्यममा मात्र विज्ञापन दिनु” भन्ने खालको अघोषित निर्देशन जारी भएको बुझ्न सकिन्छ । सबै सञ्चार माध्यमले यथोचित विज्ञापन प्राप्त गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्छ । यसका लागि छापा माध्यमका पत्रकारहरूले सरकारलाई ठूलै दवाव दिनुपर्ने हुन्छ । अन्यथा ऐतिहासिक रुपमा प्रकाशित हुदै आएका छापा माध्यम बन्द हुँदै जाने अवस्था नजिकिँदै आएको देखिन्छ ।

Facebook Comments