परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सरकार र नेकपा माओवादी (चन्द समूह) बीच ३ बुँदे सहमति

काठमाडौँ, फागुन २० । नेत्र विक्रम चन्द ‘विप्लब’ ले नेतृत्व गरेको भूमिगत नेपाल कम्युनिष्ट पार्टी माओवादी (चन्द समूह) शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ भने सरकारले चन्द समूहमाथि लगाएको प्रतिबन्ध हटाएकाे छ ।  नेपाल सरकार र सो समूहबीच हिजो र आज भएका तीन चरणका वार्ताको परिणामस्वरूप आज यससम्बन्धी तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सरकारी र नेकपा चन्द समूहको वार्ता टोली । तस्बिर सौजन्यः नेपाल सरकारका वार्ताटोली सदस्य राजन भट्टराई ।

नेपाल सरकारका वार्ता टोली प्रमुख गृहमन्त्री रामबहादुर थापा बादल र नेपाल कम्युनिष्ट पार्टी (चन्द समूह) का वार्ता टोली प्रमुख, प्रवक्ता ‘प्रकाण्ड’ ले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ— ”उक्त सहमतिमा नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दी रिहाइ र मुद्दा खारेजी लगायतका विषयहरू छन् ।”

सहमतिको विस्तृत विवरण भोलि फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ । सो समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (चन्द समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ ले सम्बोधन गर्नुहुनेभएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सशस्त्र विद्रोही नेकपा माओवादी २०६५ सालमा राज्यसँगको शान्ति सम्झौतामार्फत् शान्तिपूर्ण राजनीतिमा आए पनि साेही पार्टीका एक नेता विप्लब भने शान्तिपूर्ण सम्झौताप्रति असहमति जनाउँदै पुनः सशस्त्र भूमिगत आन्दोलनमा फर्किएको थियो ।

 

Facebook Comments