परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

यहाँ अझै मानिस बाँकी छन्

चट्याङ-प्रहार

यहाँ गरिब छन्, अशिक्षित छन्,
आफ्नै पसिनाको कमाइले पाल्छन् र पालिन्छन्
अभावसँग हाँसी-हाँसी खेल्छन्
आइज नेता यहाँ अझै मानिस बाँकी छन् ।

 

ढाँट्न जान्दैनन् यी, फटाहालाई चिन्दैनन् यी
“म जान्ने हुँ” भन्नेलाई मान दिन्छन् यी
आफ्नो हृदय जस्तै अरुलाई निश्छल ठान्छन्
आइज नेता यहाँ अझैँ मानिस बाँकी छन् ।

 

यिनको मनमा सुन्दर स्वर्गको फोटो छ
त्यसप्रति यिनको ठूलो श्रद्धा र मोह छ
त्यसको फाइदा उठा, यिनलाई आफ्नो पछि लाग्नु भन्
आइज नेता यहाँ अझैं मानिस बाँकी छन् ।

 

यिनले पत्याउँछन् तेरा कुरा,
यिनलाई कसैका कुरा नपत्याउन आउँदैन
स्वभावैले हितैषी यी सबैलाई आफ्नै हितैषी ठान्छन्
आइज नेता यहाँ अझै मानिस बाँकी छन् ।

 

अन्य आकर्षणहरू

भोट दिउँ गधालाई

फुलेको जवानी

उहाँ फटाहा हुनुहुन्छ

आउनुहोस् भ्रष्टाचार गरौँ

 हे ईश्वर, पैसा खेर नफाल 

अनि भन् अब यिनले के गर्नुपर्छ ?
आफू मर्नुपर्छ कि आफ्नालाई मार्नुपर्छ ?
तँ धर्तीमा स्वर्ग ल्याइदिने मानिस ! यिनले तेरो कुरा मान्छन्
आइज नेता यहाँ अझै मानिस बाँकी छन् ।

 

भनिदे तेरो भनाइ मान्दा मरे सहिद भइन्छ
सहिद भए महान भइन्छ, अनि पो स्वर्ग धर्तीमा आउँछ
धर्तीमा स्वर्ग आउँछ भने यी मर्न, मार्न तयार थिए, छन् र रहनेछन्
आइज नेता यहाँ अझै मानिस बाँकी छन् ।

 

आइज-आइज यी मानिसलाई राक्षस बनाइदे
मानिसलाई राक्षस बनाउने तन्त्रमन्त्र सुनाइदे
स्वर्गलाई धर्तीमा लिएर आउँछु भन्, यी पत्याउँछन्
किनभने यिनले तलाई अझै आफू जस्तै मानिस नै ठान्छन् !
आइज नेता यहाँ अझै मानिस बाँकी छन् !!

Facebook Comments