परिवर्तन
चट्याङ-प्रहार
जिल्लामा नेताज्यूको सवारी छ
सवारीको राम्रो तयारी छ ।
मूल बाटोमा लस्करै स्वागतद्वार छन्
ध्वजा पताका टाँगिएका सडक वारपार छन्
हरेक द्वारको प्रायोजक स्थानीय व्यापारी छ
भन्नेले भन्छन् ऊ ठूलो कालोबजारी छ ।
रित्ता भित्ताहरू आउने नेताको पोस्टरले भरिएका छन्
स्वागतद्वारको दायाँ–बायाँ पूर्ण कलश सजिएका छन्
हरेक स्वागतद्वारको माथि रेसमी तुल झुण्डिएको छ
त्यसमा नेताजीको नाम चमकदार रङ्गमा लेखिएको छ ।
‘श्री…. (फलाना नेता) कि– जय जय जय’
हरेक स्वागतद्वारको दायाँ–बायाँ पङ्क्तिबद्ध भिड सय–दुई सय
स्कुल ड्रेसमा केटाकेटी नेताज्यूको स्वागतमा आएका छन्
हरेकको हातमा पार्टीको झण्डा फर्फराएका छन् ।
लेखिएको छ जहाँ पर्खाल या घरको गारो छ
‘हाम्रो नेता हाम्रो देश, प्राण भन्दा प्यारो छ’
‘सङ्घीय गणतन्त्र व्यवस्था जिन्दाबाद’
‘नेता श्री… (फलानो) जिन्दावाद जिन्दावाद ।’
अन्य आकर्षणहरू
लाम लागेका छन् झ्याउरे शरीर लिएर चाउरे अनुहारहरू
अघिल्लो पङ्क्तिमा ठेलमेल नेताका दर्शनाभिलाषीहरू
सखारै वनबाट टिपेर ल्याएका फूलका झुप्पा समाएका छन्
‘निर्विकल्प गणतन्त्रीय व्यवस्था अमर रहोस्’ नारा घन्काएका छन् ।
त्यो पट्यार लाग्दो प्रतिक्षालाई जीवन्त बनाउन
एउटा पुटुस्स भुँडीवाला बिचैमा बुरुक्क उफ्रिएर कराउँछ
‘श्री.. (फलानो) नेता कि’–
यन्त्रवत सबको मुखबाट निस्कन्छ–जय !’
‘निर्विकल्प गणतन्त्रीय व्यवस्था’–
यन्त्रवत सबको मुखबाट निस्कन्छ– ‘अमर रहोस्’
‘हाम्रो नेता हाम्रो देश’–
यन्त्रवत सबको मुखबाट निस्कन्छ ‘प्राणभन्दा प्यारो छ !’
‘….। (फलानो) पार्टी–
यन्त्रवत सबको मुखबाट निस्कन्छ– ‘जिन्दावाद जिन्दावाद !’
म चुपचाप उभिएको देखेर नजिकै उभिएका एक बुढाले सोधे–
‘तपाईंं गणतन्त्रवादी होइन कि के हो ?
मैले भने–‘किन नहुनु, गणतन्त्र ल्याएकै मैले हो ।’
उनले फिस्स हाँस्दै भनेँ–
‘मैले त परिवर्तन मात्रै ल्याएको हो’
मैले पनि त्यही फिस्स हाँसो फर्काउदै भनेँ –
“देख्दैछु, के साँच्ची परिवर्तन आएकै हो ?“
जिल्लामा नेताज्यूको सवारी छ
सवारीको राम्रो तयारी छ ।
Facebook Comments