परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मर्दैनन् गुरुहरू

कविता

 

गुरुहरू तिमी हामी जस्तै हुन्
फरक यति मात्र हो – ती मर्दैनन् !
हो – मर्दैनन् गुरुहरू!

आकाश झैं खुला भएर पनि
सीमा बुझ्छन् ती
ज्ञानको सीमाभित्र
कसैलाई कैदी बनाउँदैनन्
आफ्नै पाखण्डको बालुवामा
ती मुण्टो लुकाउँदैनन्

“स्वर्ग र नर्कका चाबी छन् मसंग” भनेर
कहिल्यै कसैलाई ढाँट्दैनन्
बौद्धिक तानाशाह कदापि हुन्नन् ती
“मेरै पछि लाग” भन्दैनन्

“हेरे देखिन्छ संसार
हेर, खुल्नेछ हृदयागार!” भन्छन् ती मायाले
अन्धो कसैलाई बनाउँदैनन्

कसरी मर्न सक्छन् गुरुहरू?
कुनै रागको डोरीमा ती बाँधिन्नन्!

तिमी हामी “जय गुरुदेव” भनौं या नभनौं
कालजयी हुन्छन् गुरुहरू
गुरुहरू मर्दैनन्!
गुरुहरू मर्दैनन्!!

******

(डा. सरोज धितालको फेसबुकबाट साभार)

Facebook Comments