परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बुढा बुढी त देवता

(कविता)

बुढा-बुढी त देवता समान ठान्छु मित्र हो

मभित्र भावना छ है विशाल नै विचित्रको

जुहारतुल्य लाग्छ हो मुहार त्यो पवित्रको

म टाल्न खोज्छु वेदना हियारभित्र छिद्रको॥१

 

युवा र बाल वृद्ध नै स्वभाव हो मनुस्यको

समस्त भोग्छ लोकले घुमीघुमी अवस्य यो

पिएर दिव्य अमृतै सधैँ युवा रहन्छ को?

नदी समान जिन्दगी बहन्छ नित्य यो अहो!॥२

 

जरा र मृत्यु जन्मिँदै छ साथमा सजीवको?

बदल्नसक्छ को कहाँ र सत्य यो अजीवको?

न राम कृष्णले सके न भो अभेद्य बुद्धको

शरीर जीर्ण हुन्छ यो छ मृत्य धर्मयुद्ध यो॥३

 

प्रबुद्ध जान वृद्ध ती खुदा समान नै जुनै

मुहान हुन् विशेष नै असीम ज्ञानका उनै

विशुद्ध पार्न अग्निमा पसे समानका सुनै

हुँदैन भित्र आँतमा विकार क्लेश नै कुनै॥४

 

नराख हेयभावना अशक्त हुन् भनी अब

गरेर राख कामना सुसार प्रेमले सब

सुकर्ममा छ स्वर्ग हो कुकर्ममा छ रौरव

मनुस्यधर्ममा चले अवश्य मिल्छ सौरभ॥५

(छन्द:पञ्चचामर)

Facebook Comments