म एक्लो
चट्याङ-प्रहार
सबैको भएँ म, मेरा कोही भएनन्
जो जो थिए मेरा अब ती रहेनन्
गुरु भन्नु हुन्थ्यो यहाँ सब छन् एक्लै
भएछ र भ्रान्ति खोजें आफ्ना बेग्लै
भयो पाएको झैँ तर होइन रहेछन्
आए जे लिन ती लिएर गएछन्
म मात्रै छु मेरो, मेरो छु म मात्रै
ती मेरा भनेका थिए भ्रान्ति मात्रै
आयो सत्य सामु अब भ्रान्ति छैन
यहाँ मेरो भन्नु कतै कोही छैन
सबै एक्ला एक्लै कोही छैन बेग्लै
म हाँस्छु, म रुन्छु, म मेरो छु एक्लै
यही सत्य पूर्ण छ अरु सत्य छैनन्
सबैको भएँ म, मेरा कोही भएनन्
गुनासो यो होइन न ता पश्चाताप हो
सबैको मेरै हाल शायद श्राप नै हो
बुझेँ सत्य बल्ल अब भ्रम रहेनन्
धेरैको भएँ म, मेरो कोही भएनन् ।