परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोभिडलाई हराऊँ

छन्द : उपजाति

कस्तो अनौठोसित रोग आयो

संसार नै लग्लग भै कमायो

साम्राज्य विस्तार गरेर आयो

बाएर ठूलो मुख स्वात्त खायो ।।

 

सेताघरे थ्यो अति नै धमन्डी

क्षेप्यास्त्र निर्माण गरेर चण्डी

बनेर साम्राज्य फिँजाउँथ्यो त्यो

झुक्यो शिरै नै पनि आज त्यस्को ।।

 

उद्योग धन्दा सब ठप्प भाछन्

गरीबका दुर्दिन आज आछन्

आयात निर्यात सबै सुत्या छन्

कालाबजारेहरुले लुट्या छन् ।।

 

भ्राता फिरेको छ कतारबाट

रित्तै फिरे दाजु विहारबाट

बढ्दो छ दुर्भिक्ष कराल बन्दै

रुन्छिन् नि आमा धनहीन बन्दै ।।

 

रोगीहरूको उपचार छैन

निरोगको अौषधि नै बनेन

संसारमा कोभिडले गनेन

आफ्नो र अर्को यसले चिनेन ।।

 

साँच्चै यहाँ डाक्टर रुग्ण भाछन्

उस्तै बनेका परिचारिका छन्

क्यै अोखतीको पनि छैन पूर्ण

देखिन्छ सर्वत्र सबै अपूर्ण ।।

 

बसौँ घरै धैर्य गरेर नित्य

हाम्रो यही जीवन हो अनित्य

जित्नेछ मान्छे सब रोगलाई

हराउँछौँ कोभिड रोगलाई ।।

Facebook Comments