जोगाऊँ कसरी ?
चट्याङ–प्रहार
अर्को सत्तामा बसेको बेला सुगौली सन्धिका कुरा छोडौँ कसरी ?
आफैँ सत्तामा बसेको बेला कालापानीका कुरा उठाऊँ कसरी ?
१
कालापानी हाम्रै हो भनौँ भने सरकार पनि हाम्रै हो भनौँ कसरी ?
सरकार हाम्रै हो भनौँ भने कालापानी पनि हाम्रै हो भनौँ कसरी ?
२
सत्तो सराप गर्न त जान्याथ्यो हामीले पनि, तर गरौँ कसरी ?
यता सरापौँला उता कुर्सी फुत्किएला, दुइटै जोगाऊँ कसरी ?
३
कुर्सी र कालापानी दुइटै सकिन्न, एउटा कुन चैँ जोगाऊँ कसरी ?
राष्ट्रवादी बन्ने अहिलेको दौडादौडमा फेरि सबैलाई पछारौं कसरी ?
४
नाङ्गो खुकुरी लिएर लिम्पियाधुरा जानेलाई तानौँ कसरी ?
तान्न त मन लाग्छ तर अब त्यो खुकुरी लुकाऊँ कसरी ?
५
इतिहासकै बलियो सरकार हो तर बल कहाँ, के देखाऊँ, कसरी ?
जसले उचालेर राखेको हो, उसैले अप्ठेरोमा पार्दा गुहार कसको मागौँ कसरी ?
६