चुनाव आयो रे !
व्यङ्ग्य
अब चुनाव हुन्छ रे, नेताले धन झिक्छ रे
मासु–भात रक्सी अब खान दिन्छ रे
मेरो गाउँ–घरमा अब नेता आउछ रे
हल्ला खुबै चलेको छ चुनाव हुन्छ रे !
चट्याङ–प्रहार
मलाई पनि नेताले अब भने चिन्छ रे
जे मागे नि हुन्छ भन्दै दिन्छु भन्छ रे
हामीसँग नेताले मिठो भाषा बोल्छ रे
मुस्काउँदै हात जोडी भोट माग्छ रे !
गाउँका ती गुण्डालाई पैसा पनि दिन्छ रे
गाउँमा लौ स्कुल, कलेज, बाटो खुल्छ रे
रेल पनि आउँछ रे, एयरपोर्ट नि बन्छ रे
गाउँ घरका सप्पैलाई जागिर मिल्छ रे !
गाउँ सहर बन्छ रे,अस्पताल नि खुल्छ रे
खानापिना औषधी सब सित्तै हुन्छ रे
नेताजी ले गाउँमा अझ केके ल्याउँछ रे
सुती बसे पनि घरमा पैसा आउछ रे !
तिर्न पनि नपर्ने त्यस्तो ऋण दिन्छ रे
पढ्न पनि नपरी सबै पास हुन्छ रे
ठिटाठिटी सबैको बिहे गराइदिन्छ रे
गाई–भैंसी, भेडा–बाख्रा सप्पै ब्याउँछ रे !