परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अष्टमीको दान र दिल्लीको जोगीबाट पाएको ज्ञान

जीवनका खुड्किला- १३

सन् १९९९ को अक्टोबर महिना । विद्यावारिधीको सिलसिलामा नयाँ दिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययनरत थिएँ । दुई शत्र कोर्सवर्क गर्नु अनिवार्य थियो । निश्चित ग्रेड कोर्शवर्कमा प्राप्त गरेपछि सिधै विद्यावारिधिमा नाम दर्ता गर्न पाइने तर त्यो नसकेमा एम.फिल्. गर्नुपर्ने प्रावधान । अध्यापन कार्यमा नियमित हुँदै विद्यार्थी हुन गएको भए पनि पढाइ र मूल्याङ्कनको प्रणालीले मनोविज्ञानमा एक प्रभाव पर्दै गएको महशुस गर्दै थिएँ । भारतभरिको प्रतिस्पर्धाबाट छानिएर आएका नियमित पढाइका २० देखि २५ वर्षे युवाहरु बीच उनीहरुभन्दा दोब्बर उमेरको मेरो बुढीन लागेको वा बोधो दिमाग खरो उत्रिने नउत्रिने आशङ्का आफुभित्र भने थियो । त्यसमाथि पलायनरु शिवस्वामी (पि.एस.) रामाकृष्णन् जस्ता ख्यातीप्राप्त सुपरिवेक्षकको मातहतमा काम गर्न पाउनु गौरवको विषय भएपनि कम चुनौतीपूर्ण थिएन ।

बिहानको करिवकरिव दश, साढे दश बजे, माझ सडकमा थुप्रै मान्छेको बीच जोगीले त्यसरी लुट्दा कोही बोलिदिने थिएनन् । भीडको बीचबाट नजिकै ड्युटीमा रहेको प्रहरीलाई हेरेँ । उ बोलाउँदा नसुनिने दुरीमा थियो र आरामसंग खैनी माड्दै थियो । प्रहरीबाट पनि केही होला भन्ने तत्काल सम्भावना रहेन । अजिङ्गर प्रजातिगत रुपमा विषरहीत सर्प हो र अझ त्यो त बच्चा भएकोमा म आफू ढुक्क भएकोले म तर्फ फिँजाइरहेको अजिङ्गरको घाँटीमा मैले मज्जाले अठ्याएँ । अजिङ्गरको पुच्छरदेखि शरीर जोगीसंगै रहेको, ढाडमा समातोर मतर्फ फिँजाएर पैसा थुतेर मुखमा हालेको अवस्थामा यो अठ्याई अजिङ्गर र जोगी दुबैको लागि अप्रत्याशीत रह्यो । अजिङ्गरको मुख उघ्रियो, जिब्रो लामो बाहिर निस्कियो । जोगी ‘नागदेवताको क्या करेगा तु पापी, तेरेको श्राप दुंगा’ भन्दै झन रिसाउन थाल्यो ।

प्रयोगशालामा बसेर दोस्रो शत्रको परीक्षा तयारी अध्ययन तथा सीमित अध्ययन बिदाका कारण अनुसन्धान प्रस्तावनामा काम गर्दै थिएँ । मन भने घरी घरी उडेर ‘नौरथामा आज अष्टमी’ भनेर गन्दै थियो । आफु कार्यरत प्रयोगशालाका अधिकाशं सदस्य, प्राध्यापकदेखि शोधार्थीसम्म ‘नवरात्र’को ब्रत बस्थे । मेरो मन भने आज अष्टमी पर्सी दशैं आफु चाँहि यता भएकोले श्रीमती र छोराहरुसंग दशैं मनाउन नपाइने भयो भन्दै खिन्न हुँदैथियो । एक्कासी प्राध्यापक रामाकृष्णन् आफ्नो स्वाभाविक तर तीब्र गतिले हिंड्दै मेरो डेस्क अगाडि आएर उभिनुभयो र अंग्रेजीमा ‘कोइराला, के गर्दैछौ’ भनी सोध्नुभयो । मैले आफुले गरी रहेको काम बारे बताएँ । ‘दशहरामा परिवारसंग भेट्ने इच्छा भए जान सक्छौ दुइचारदिनका लागि, आफ्नो पढाई व्यवस्थापन गर्न सक्ने भए’ भनी आफैं प्रस्ताव गर्नुभयो । मलाई त ‘के खोज्छस् काना आंखो’ झैं भयो उहाँको प्रस्ताव एवं सुझाव । म ‘पढाई व्यवस्थापन गर्न सक्छु, अनुमति पाए पाँच दिनमा फर्किने गरी दशैं परिवारसंगै मनाएर आँउछु’ भनी नम्र स्वरमा अनुरोध गरेँ । अनुमति पाएँ पनि ।

प्राध्यापक रामाकृष्णन्को सचिवालयमा गएर फोन गरेँ, बारखम्बा रोडस्थित नेपाली राजदुतावासमा कार्यरत प्रथम सचिव कालीप्रसाद पोखरेललाई सोही दिन बेलुका ७.३० को गोरखपुरसम्मको रेल टिकट लिइदिनका लागि । कालीजी दिल्ली रहुञ्जेल नेपाली समुदायबीच निकै सहयोगी र लोकप्रिय हुनुहुन्थ्यो । दिल्ली शहरभित्र दिल्ली परीवहन निगमका बसहरुको राम्रो सुविधा थियो तिनताका । मैले प्रयोगशाला भवनबाट निस्केर ६१५ नं. को बस लगत्तै समातेँ र सरोजिनी नगर बजार तर्फ लागेँ । सरोजिनी नगर बजार दक्षिण दिल्लीबाट नजिक, सहज पहुँच भएको र विद्यार्थीदेखि कुटनीतिज्ञसम्मलाई उपयुक्त हुने खालको मध्यमवर्ग लक्षित बजार थियो ।

बस स्टपमा ओर्लेर बजार प्रवेश गर्ने सानो सडक तर्फ लाग्दा बजार शुरु हुने बिन्दुकै चोकमा मान्छेको ठुलै जमघट देखियो । घना जनसंख्या भएको दिल्ली महानगरमा विभिन्न पेशा र चेतना समूहका मान्छेको बसोबास भएकोले जादुगर, चटके, जोगी जो भए पनि झुरुप्प मान्छे भेला हुने त आम प्रवृत्ति नै थियो । सवारी प्रवेश निषेध क्षेत्र र ट्राफिक ढाट नजिकै हुनुको कारणले एकप्रकार साइड मार्ग छेक्ने गरी नै मान्छे थुप्रिएका थिए । म मान्छेको भीड पन्छाउँदै अघि बढ्दै थिएँ । एउटा गेरु बस्त्रधारी, जटाधारी निधारमा रङ्गिचङ्गी चन्दन धसेका बाबा घाँटीमा सर्प बेरेर हातले त्यही सर्प चलाउँदै थियो । सर्प जीब्रो चलाउँथ्यो, मान्छे पैसा चढाउँथे सर्पको जीब्रोतर्फ लक्षित गरेर । जमघट छेउमा म पुग्ने बित्तिकै, जोगीले सर्प मेरो अगाडि ल्याइपुर्‍यायो । प्राणी शास्त्रको विद्यार्थी हुनुको नाताले सर्प अजिङ्गर प्रजातिको थियो भन्ने त चिनेँ मैले । बच्चै भए पनि अजिङ्गर भएकोले आकार मनग्य ठूलो थियो । आकारको कारणले सर्प नपन्छाइकन म अगाडि जान मिल्दैनथियो । बाटो छेकिएको थियो ।

‘नाग देवताको दर्शन कर ले बच्चा’ भन्दै जोगीले मेरो बाटो छेक्यो । सर्पको प्रजाति आफूलाई पहिचान भइसकेपछि, समयको सिमिततालाई ख्याल गरेर पार पाउने उपाय सोच्दै गर्दा एस्एलसीको पाठयक्रमको गद्य संग्रहमा पढेको ‘दिल्लीको सुर्मावाला’ लेख सम्झना आयो मलाई । पहिलो पटक दिल्ली गएको नेपाली मूलको पहाडी युवालाई एउटा चटकेले आँखाको धुलोमैलो सफा गरिदिन्छु भनेर सुर्मा नामको झोल राखेर झिटीमिटी पारीकन बेखर्ची बनाएको त्यो गद्य साहित्य कम यथार्थ र मर्मस्पर्शी थिएन ।

जोगीले सर्पसहित बाटो छेकेको, वरपर मान्छेको बाक्लो भीडलाई जबर्जस्ती पन्छाएर हिंड्न सम्भव थिएन । ‘हुलमुलमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु’ भन्ने उखान संझिदैं दुई रुपैयाँ भेटीको रुपमा दिएर बाटो लाग्छु भन्ने सोचेँ र पेन्टको पछाडिको खल्तीमा हात लगेर पर्स निकालेँ । पर्स खोलेर नोट झिक्न नपाउँदै बिजुली चम्केको गतीमा जोगीले मेरो पर्सबाट दुई रुपियाँ लगायत साना नोट छोडेर सबैभन्दा पछाडि रहेको पाँचसय रुपैयाको एकमात्र नोट थुतेर कच्याक कुचुक पार्दै अजिङ्गरको मुखभित्र हालिदियो । अक्क न बक्क परेँ म एकैछिन त । जम्मा त्यही पाँचसय रुपैयाँ थियो जगेडा आफुसंग । केही सामान किनेर श्रीमति र छोरालाई लगिदिउँला दशैं उत्सव भनेर बोकेर आएको, जोगीले खाइदियो भन्ने पर्‍यो । अकलले काम लिनु बुद्धिमानी भनेर मैले जोगीलाई ‘तिमीलाई भेटी दिन म तयार थिएँ, किन मेरो पैसा खोसेर नागको मुखमा हालेउ ? मेरो पैसा फिर्ता देउ’ भनें ।

जोगी त जटा झट्कारेर, ओठको दुबै छेउबाट थुक निकालेर फुंफुं गर्दै आँखा रातो पारीकन ‘नागदेवताले ग्रहण गरिसकेको दक्षिणा फिर्ता माग्ने तँ अधर्मी, पापी होस् । आज महाअष्टमीको दिन यस्तो पापीलाई दुर्गा भवानीले नष्ट गर्छिन् । तंँ यहाँबाट गइहाल’ भन्न थाल्यो ।

बिहानको करिवकरिव दश, साढे दश बजे, माझ सडकमा थुप्रै मान्छेको बीच जोगीले त्यसरी लुट्दा कोही बोलिदिने थिएनन् । भीडको बीचबाट नजिकै ड्युटीमा रहेको प्रहरीलाई हेरेँ । उ बोलाउँदा नसुनिने दुरीमा थियो र आरामसंग खैनी माड्दै थियो । प्रहरीबाट पनि केही होला भन्ने तत्काल सम्भावना रहेन । अजिङ्गर प्रजातिगत रुपमा विषरहीत सर्प हो र अझ त्यो त बच्चा भएकोमा म आफू ढुक्क भएकोले म तर्फ फिँजाइरहेको अजिङ्गरको घाँटीमा मैले मज्जाले अठ्याएँ । अजिङ्गरको पुच्छरदेखि शरीर जोगीसंगै रहेको, ढाडमा समातोर मतर्फ फिँजाएर पैसा थुतेर मुखमा हालेको अवस्थामा यो अठ्याई अजिङ्गर र जोगी दुबैको लागि अप्रत्याशीत रह्यो । अजिङ्गरको मुख उघ्रियो, जिब्रो लामो बाहिर निस्कियो । जोगी ‘नागदेवताको क्या करेगा तु पापी, तेरेको श्राप दुंगा’ भन्दै झन रिसाउन थाल्यो । छेउछाउका भीडका मान्छे भने अलिक पर सर्न थाले ।

मैले पनि ‘मेरो पैसा फिर्ता नदिइकन तेरो नाग छोड्दिन’ भनें । तबसम्म अजिङ्गर छटपटाउन थालेको थियो । जोगीले सम्हालेको अजिङ्गरको शरीरको भार यो अप्रत्याशीत अठ्याईले गर्दा जोगीलाई असन्तुलित बनाउन थालेको थियो । करीव दुई मिनेट त्यो क्रम रहेपछि जोगीले ‘आज अष्टमीको दिन महाकालीलाई भोग नचढाई नागदेवले तेरो पैसा फिर्ता गर्न मिल्दैन’ भन्यो । मैले ‘भोग चढाउने मेरो आफ्नै ठाउँ छ, नागदेवतालाई भोग चढाउने हो भने मेरो तर्फबाट दिने भेटी, दक्षिणा यही हो भनेर मैले छुट्याएको दुई रुपैयाँको नोट निकालेँ ।

जोगी रौद्र रुप धारण गर्दै फत्फताउदैँ आफ्नो देब्रे हात मुट्ठी पारेर बूढी औंला, चोरी औंलाको बीच र नाडीको मध्य भागमा मम्ज्जैले दाँत गाडेर छाला चिथोर्‍यो । भल्भल रगत निकाल्यो । त्यो आफ्नै रगत उसले अजिंगरको मुखमा चटायो र अजिङ्गरको मुखभित्र देब्रे हाताका दुइटा औंला बूढी औंला र चोर औंला घुसाएर र्‍याल लत्पतिएको कच्याककुचुक भएको पाँच सय भारुको नोट रिसाउँदै मेरो हातमा थमाइदियो । मैले दुई रुपैयाँको नोट उस्को हातमा दिएँ र आफ्नो बाटो लागेँ, सरोजनी नगर बजार तर्फ ।

विविधताले भरीपूर्ण विशाल भारतमा प्राज्ञिक गुणस्तरको वर्गीकरणमा पहिलो संख्यामा पर्ने जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यावारिधि तहमा अध्ययन गर्दा समाजसंग साक्षात्कार पाएको त्यो व्यवहारिक ज्ञान मैले मेहनत गरेर लेखी बुझाएको शोध ग्रन्थ तथा सामना गरेको शोधको मौखिक परीक्षा भन्दा कम महत्व र ज्ञानवद्र्धक रहेन ।

Facebook Comments