परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

समृद्ध नेपाल म हेर्न पाऊँ

 कविता (छन्द:उपजाति)

बाली सुनौलो रसिलो लगाऊँ

खनेर माटो पसिना बगाऊँ

आलस्य सारा तनको भगाऊँ

समृद्ध नेपाल म हेर्न पाऊँ॥१

 

सिता जुठो घूस मिसी नखाऊँ

गाथा कुनै शोषकको नगाऊँ

उठौँ जुटौँ राष्ट्रियता जगाऊँ

समृद्ध नेपाल म हेर्न पाऊँ॥२

 

हिमालको गौरव गीत गाऊँ

पहाडका गोठ धुरी बनाऊँ

मधेश सिङ्गो ढुकुटी सजाऊँ

समृद्ध नेपाल म हेर्न पाऊँ॥३

 

सीमा छुटेका पनि घेर्न पाऊँ

झुटा सबै मम्मति केर्न पाऊँ

खामो कुहेका जति फेर्न पाऊ

समृद्ध नेपाल म हेर्न पाऊँ॥४

 

खाएर थोरै म पुरा अघाऊँ

कछाड भोटो बरु मै लगाऊँ

उद्योग धन्दा घरमै चलाऊँ

समृद्ध नेपाल म हेर्न पाऊँ॥५

 

घन्टा सबै मन्दिरको बजाऊँ

माली बनी वाग सधैँ सजाऊँ

स्वधर्ममा च्यूत बनी नजाऊँ              

समृद्ध नेपाल म हेर्न पाऊँ॥६

 

आफ्ना सबै रीत मिली रचाऊँ

स्वाधीनताको जग यो बचाऊँ

विदेशको लालचमा नजाऊँ

समृद्ध नेपाल म हेर्न पाऊँ॥७

Facebook Comments