परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मैनाली र पकवाललाई ‘केसीसी प्रोफेसनल जर्नालिज्म अवार्ड’

मदन पुरस्कार निलम कार्कीको 'योगमाया' लाई र जगदम्बाश्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिने

केसीसी प्रोफेसनल जर्नालिज्म अवार्ड २०७५

यो साता देशमा केही पुरस्कार र मानसम्मानका सुखद् समाचार बाहिर आए । काठमाडौँ सिटी कलेजले भदौ १० गते वरिष्ठ पत्रकार/लेखक मोहन मैनाली र झापास्थित बरुण साप्ताहिककी सम्पादक माया पकवाललाई केसीसी प्रोफेसनल जर्नालिज्म अवार्ड २०७५ बाट सम्मानित गर्‍यो । सो पुरस्कार सम्मान पत्र सहित जनही २५ हजार रूपैयाँको रहेको छ । पुरस्कार वितरणका लागि कलेजले एक समारोह आयोजना गरेको थियो ।

बरिष्ठ पत्रकार तथा लेखक मैनालीले दर्जनौँ डकुमेन्ट्री उत्पादन गर्नुभएको छ  भने उपल्लो थलो, मान्ठा डराएको जुग र देखेको देश जस्ता पुस्तकका लेखक हुनुहुन्छ । उहाँलाई देशका विकट स्थानमा पुगी (द्वन्द्वकालमा र अघिपछि) त्यहाँका जनताले भोगेका समस्या, जनजीवन र विकटताको यथार्थ विवरण खोज पत्रकारिता र पुस्तकमार्फत् सार्वजनिक गरेबापत् र काठमाडौँ उपत्यकाबाहिर झापामा सङ्घर्षपूर्ण पत्रकारितालाई निरन्तरता दिइरहेकोमा सम्पादक पकवाललाई सो पुरस्कारबाट सम्मान गरिएको पुरस्कार छनौट समितिका संयोजक श्रीराम सिंह बस्नेतले जानकारी दिनुभयो  । मैनाली तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा संलग्न हुनुहुन्छ भने पकवाल एक दशकबढी समयदेखि ।  

सो समारोहमा केसीसी मिडिया जर्नलको पनि बिमोचन गरिएको थियो ।

पोहोरबाट प्रदान गर्न थालिएको सो पुरस्कारबाट यसअघि बरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी र घटना र विचार साप्ताहिकका सम्पादक बबिता बस्नेतलाई सम्मान गरिएको थियो । यो पुरस्कार एक महिला र एक पुरुष पत्रकारलाई प्रदान गर्ने गरिएको आयोजकले जानकारी दिए ।

मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार २०७५ घोषणा

मदन पुरस्कार गुठीले बिक्रम संवत् २०७४ को मदन पुरस्कार र जगदम्बाश्री पुरस्कारको घोषणा गरेको छ । भदौ ११ गते गरिएको घोषणा अनुसार मदन पुरस्कार साहित्यकार नीलम कार्की निहारिकाको उपन्यास ‘योगमाया’ लाई ‘मदन पुरस्कार’ लाई ‘अर्पण’ गरिने छ । यस वर्षको ‘जगदम्बाश्री’ पुरस्कारबाट बाल साहित्यकार तथा अनुवादक शान्तदास मानन्धर सम्मानित हुनुहुनेभएको छ । दुबै पुरस्कारको राशी २/२ लाख रूपैयाँ रहेको छ ।

मदन पुरस्कारका लागि २०७४ सालमा प्रकाशित २५३ पुस्तकमध्ये उत्कृष्ट आठमा ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइँया’, नयनराज पाण्डेको ‘यार’, राज माङ्लाकको ‘लुम्बिनी गाउँ’ र मोहन वैद्यको ‘हिमाली दर्शन’ उत्कृष्ट कृतिमा परेका थिए । तीमध्ये मदन पुरस्कारका लागि विद्रोही चरित्र भएकी योगमायाको जीवनीमा आधारित ‘योगमाया’ उपन्यासलाई छनौट गरिएको र बाल साहित्यको विकास, विस्तार तथा प्रबर्द्धनमा पाँच दशकदेखि समर्पित साहित्यकार मानन्धरलाई २०७४ सालको जगदम्बाश्री अर्पण गर्ने निर्णय गरिएको मदन पुरस्कार गुठीले जनाएको छ । 

बिक्रम संवत् २०१२ मा जनरल मदन शमशेरको स्मृतिमा मदन पुरस्कार स्थापना गरी  २०१३ सालदेखि प्रदान गर्न थालिएको हो । यसैगरी, उनकी पत्नी रानी जगदम्बाको  सम्झनामा वि.सं. २०४५ मा जगदम्बाश्री पुरस्कार स्थापना गरी गुठीले प्रदान गर्दै आएको छ ।

Facebook Comments