परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

संखुवासभा मादी नगरपालिका पूर्वाधार तयारीमा

काठमाडौं । हिमाली जिल्ला संखुवासभा नेपालका दुर्गम जिल्ला मध्ये एक हो । केही वर्ष अघिसम्म सडक यातायातसमेत पुग्न नसकेको यो जिल्लामा अहिले सुविधा सम्पन्न गाडिहरु पुग्न थालेका छन् । सडक विस्तार भइ जिल्लामा पुगे पछि यस जिल्लाको मादी नगरपालिकाले आफ्ना नौंवटै वडामा सडक पु¥याएको छ। 

मादी नगरपालिकाले आफ्नो विकासका गौरवका योजना अन्तर्गत सडक खानेपानी, विजुली, वत्ती, सिंचाई, स्वास्थ्य, शिक्षा र उत्पादनमा जोड दिएको छ र सोही अुनरुप काम गरिरहेको मादी नगरपालिकाका मेयर जीवन लिंथेपले बताउनु भयो । उहाँका अनुसार शिक्षाले ज्ञान र सीपमा दक्ष बनाउने भएकाले कोही पनि शिक्षाबाट बन्चित नहोस् भन्ने उद्देश्यले विद्यालयको स्तरीकरण र विद्यार्थी भर्नामा जोड दिदै काम भई रहेको छ ।

वर्खामा गाडी नपुग्ने मादी नगरपालिकामा अहिले बाह्रै महिना गाडी पुग्छ भने आरामदायी र भरपर्दो यात्रा गर्न सकिने पनि नगर प्रमुख लिंथेपले बताउनु भयो । उहाँ थप्नु हुन्छ – हामीले हाम्रा प्रत्येक वडामा पुग्नका लागि भरपर्दा सडकहरु निर्माण गरेका छौं । ती सडकहरु झारा टार्ने हिसाबले होइन रैथाने सामान प्रयोग गरेर दिगो विकासको उद्देश्य साथ निर्माण गरिएको हो । हाम्रो गाउँघरमा रहेका फुसका छाना हटेका छन् र सबैतिरका छानाहरुमा जस्ता पाता टल्किन थालेका छन् । हामी स्थानीय जनताको अवाश्यकता पुरा गर्न र विकासका पूर्वाधार निर्माण गर्न दत्तचित्त भएर अहोरात्र खटिई रहेका छौं ।

आफूहरुले नगरपालिकाको गौरवको योजनाहरु तयार गरी फुसको छानो हटाउने, विशेष अन्न उत्पादन क्षेत्र छनोट गरी बाघा खोलादेखि पुलुङसम्म बृहत्त सिंचाइ योजना सुरु गर्ने र ओखरबोटे माओदिन साथै ओखरबोटे मंगलवारे सडक पिच गर्ने कार्य सुरु गरेका छौ ।

मेयर जीवन लिंथेप अलि खिन्न हुँदै भन्नु हुन्छ – स्रोत र साधनको कमी हुनु जनअपेक्षा बढी हुनु र नगरपालिकासंग आम्दानी नहुनुको कारणले गर्दा बेलैमा योजनाहरु सम्पन्न गर्न अलि गाह्रो भएको छ । यसमा संघीय र प्रदेश सरकारले बजेट उपलब्ध गराउने हो भने जनताको आवश्यकता पुरा गर्न हामी सक्षम छौ ।

वडा अध्यक्ष तीर्थकुमार दाहाल भन्नु हुन्छ ‘हाम्रो केही योजनाहरु पुरा हुने क्रममा छन् । सर्वसाधारणको घरमा फुसको छानो हटाएर जस्ता पाताको छानो हाल्ने काम अन्तिम चरणमा पुगेको छ । नौ वटै वडामा यातायातको साधन पुग्ने भएको छ । एक घर एक धारा भन्ने मान्यता अनुरुप घरघरमा धारा जडान सहित स्वच्छ खानेपानी पु¥याउने काम भएको छ ।’

वडा अध्यक्ष दाहाल भन्नु हुन्छ – उपयुक्त र पायक पर्ने स्थानमा जग्गा खोजी गरी आगामी आर्थिक वर्ष भित्र १५ शैयाको अस्पताल निर्माण गर्ने योजना अनुसार जग्गा खोजी गरिदै छ । यहाँ मादी नगरपालिकाको शीरमा रहेको लाली गुराँसको राजधानी भनी परिचित मंगलवारे, चौकी, लामपोखरीसम्मको क्षेत्रमा सिजन अनुसार पर्यटक भित्र्याउने योजना अनुरुप अगाडि बढ्ने निर्णय नगरपालिकाले गरेको छ । यसले यस मादी नगरपालिकालाई थोर बहुत आर्थिक उपार्जन हुने विश्वास गरिएको छ ।

वडा नं. ५ का वडा अध्यक्ष तीर्थकुमार दाहालका अनुसार यस मादी नगरपालिकामा प्रसस्त अलैची उत्पादन हुन्थ्यो । डढुवा रोगका कारण अलैंची समाप्त भयो । अहिले अलैंचीका सबै विरुवा हटाएर त्यस स्थानमा सुन्तलाको विरुवा लगाइ किसानले आम्दानी गर्दै गरेको अवस्था छ । अहिले सुन्तला, कागती लगायतका फलफूलको सिजनमा व्यापारीहरु किसानको घरघरमा आउने गरेका छन् । यसै नगरपालिकाको ४, ५ र ६ नं. वडालाई सुन्तला जोन घोषणा गरिएको छ । किसानलाई फाइदा पु¥याउने उद्देश्यले वडा नं. ५ मा सुन्तला जोन कार्यालय स्थापना गरिएको छ । यस कार्यालयबाट अनुदानमा विरुवा, औषधी र रोग पहिचान गरी रोग निवारण गर्ने काम भइ रहेको छ । पशु पालक कृषकहरुको लागि नौ वटै वडामा पशु विशेषज्ञ राखी किसानलाई सेवा पु¥याउने काम भइ रहेको छ । यहाँका जनताको मुख्य पेशा कृषि भएकोले यस मादी नगरपालिकाले कृषककै हितमा काम गर्दै आएको छ ।

पर्यटनतर्फ यहाँ खास काम नभए पनि मिल्के, तिनजुरे क्षेत्रसंग जोडिएर फैलिएको मादी तर्फ पर्ने स्थानमा पर्यटकलाई सिजनमा ल्याउन योजना तर्जुमा गरिदै छ । हरेक प्रजातीका गुराँसका फूल र चराहरुको आकर्षण रहेको यस पालिकाको शीरान भागमा पर्यटक आकर्षण गर्नका लागि के कसो गर्न सकिन्छ त्यसको खोजी हुदै छ । खेलकुदको विकासका लागि वन्जीजम्पको सम्भावित स्थान हाङथुङ डाडाँमा वन्जीजम्पको संरचना तयार गर्ने र नौं वटै वडामा खेलकुद मैदान तयार गर्ने काम हुदैछ ।

यसरी यस नगरपालिकाले उपलब्ध सिमित स्रोत साधन प्रयोग गरी विभिन्न योजनामा काम गरिरहेको छ ।

Facebook Comments