परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

भरेदेखि कम्फर्टेवल सरकार !

हेर भिर्घरे हाम्रो प्रचण्ड काम्रेडले ‘कमफर्टेबल’ सरकार बनाएरै छाड्ने भए । आज २०७७ साल फाल्गुन २३ गते आइतबार प्रचण्डलाई शुभसाइत परे छ ।

होइन विहानै के कुरा गर्छौ हौ काका ! कता प्रचण्डले कमफर्टेवल सरकार बनाउनु ! प्रधानमन्त्री हाम्रो देउवा दाइ बन्ने भै सके ! दाइले सफथ लिएकै दिन उभिण्डेको जेठो र म काठमाण्डौ जाने भै सक्यौं  ।

नभाको कुरा नबोल्न भिरघरे ! एमसिसी पास गर्ने, भरतलाई ‘कमफर्टेबल’ हुने सरकार गठन गर्ने, चुच्चे नक्साको विरोध गर्ने र युरोपिएन युनियनलाई क्रिश्चिन धर्मको प्रचारमा सहज वातावरण बनाउने सहमति अनुसार नै प्रचण्ड प्रधानमन्त्री बन्ने कुरो मिलेको छ । अब बेलुकासम्म पर्खी ! सप्पै क्लियर हुन्छ ।

के हो काकी !  काकाले त ठोकुवै गरे त । उता हाम्रो काँग्रेसहर्ले देउवा दाइ प्रधानमन्त्री भनेर ठोकुवा नै गर्दै छन् । यता काका प्रचण्ड कमफर्टेवल भन्छन् ।

खै के हो के हो भतिज ! बाबुरामलाई चुच्चे नक्शाले पोलेको छ, प्रचण्डलाई भारतलाई कमफर्टेवल सरकार नेपालमा नभै भा छैन, झलनाथ र भीम रावललाई एमसिसी पास गर्नु छ, माधव नेपाललाई हिन्दीमा प्रबचन दिएर पनि भारतलाई रिझाउनु छ अनि रघु पन्त जस्तालाई सेतो तिघ्राले चिथोर्छ यिनार्को कुरो बुझी नसक्नु छ ।

नचाहिने कुरा गर्छे झुम्री ! अब छिमेकी मित्र राष्ट्रलाई सजिलो हुने सरकार गठन गर्नु पर्छ भन्न पनि नपाउनु ! किन चाइयो त्यो चुच्चे नक्शा ! नक्शाले खान दिने होर ! त्यो नाकाबन्दी पनि वास्तवमा भारतले ओली कै कारणले गरेको हो । ओलीले भारतले जे भन्छ त्यही मान्नु पथ्र्यो । जेमा पनि अडान लिएपछि त्यस्तै हुन्छ !

काका ! अस्तिसम्म विस्तारवादी भारत भन्दै थ्यौ, चुच्चे नक्शा प्रचण्डको जोडवलले पास भएको पनि भन्थ्यौं । अहिले आएर छेपाराले रंग फेरे जस्तो पर्लक्कै बिब्ल्याँटो कुरा पो गर्छौ त !

हेर भतिज भिरघरे ! जसरी पनि हामी माओवादीहर्ले नेकपा एमाले भन्ने पार्टीको दह्रो, शसक्त, खँदिलो र ब्यापक बनेको संगठन तहसनहस् पार्नु थियो । त्यसमा हाम्रो प्रचण्ड सफल भए । अर्को ओली नै हाम्रो प्रमुख दुश्मन भएको हुदा उनलाई समाप्त पार्नु थ्यो, त्यो पनि भयो । तेस्रो भनेको सूर्य चिन्ह । त्यो नेपाली जनताको हृदयमा बसी सकेको छ त्यो चिन्ह पनि अब माओवादीकै हुन्छ । यस पछि कमफर्टेवल सरकार !

सुनिस् भतिज तेरो काकाको कुरो ! अब थाहा हुन्छ प्रचण्ड कसरी थाङनामा सुत्न पुगे भन्ने कुरा । अरु कुरा त सप्पैलाई थाहा भाकै हो । माओवादी आतंक इन्डियाको मातहत भएको हो भन्ने, १२ बुँदे लगायतका खेल पनि उतै भएका हुन् । अब भारतले प्रचण्डलाई अघि सारेर आफ्नो अनुकुल सरकार बनाउछ भन्ने स्वभाविकै मान्नु पर्छ । ओलीले जस्तो अडान लिएर नेपाली जनतालाई अनुकुल हुने सरकार अब नेपालमा बन्दैन ।

हेर झुम्री ! अडान लिएर मात्र हुदैन । भारत जस्तो छिमेकीको छत्रछायाँ भएन भने राष्ट्र कसरी बाँच्छ ? हामीले एमसिसी ओलीलाई पास गर्न नदिने आफैं पास गर्ने भनेको हो । पासै नगर्ने भनेकै होइन । अनि भारत र अम्रिका त हाम्रै हुन नि ! अब साम्राज्यवाद र विस्तारवाद भनेर पुरानो नारा फलाक्नुको कुनै काम छैन ।

ठिक भने काकाले ! यो पंखेटा पलाएको अवस्था हो । अब नेपालमा कम्युनिष्टहरु समाप्त हुन्छन् । हाम्रो देउवा दाइ प्रधानमन्त्री बनेपछि प्रचड–माधवहर्लै वेग्लै खालको स्वाद चाख्छन् । हाम्रो कांग्रेसले पनि तिमार्को खासै विश्वास गर्दैन । देउवा दाइले नै हो तिम्रा नेताहर्को टाउकाको मोल तोकेको ! अब फेरि आउँदै छ त्यो दिन ! चुनाव मात्रै होस्न तिम्रो प्रचण्ड–माधवहर्को हालत के हुन्छ हामीलाई थाहा छ !

थाङग्ने कुरा नगर भिरघरे ! हामी अब एक्लै छैनौ । भारत पनि हाम्रो साथमा छ । अर्कोतिर चुनापमा हाम्रो बहुमत आयो भने संविधान पनि भारतले भने अनुसार संशोधन गर्छौ ।

तिमार्लाई कमफर्टेवलले समाप्त पार्ने भयो । हामी त ओलीले भने जस्तै नेपाली जनता र नेपाल राष्ट्रलाई कमफर्टेवल हुने सरकार गठन गरेर एकछत्र कांग्रेसी शासन चलाउँ छौ । वहुमत त होइन चुनाप भयो भने तिमारु बडारिन्छौ ।

हेर भिरघरे ! तँलाई म एउटा अर्को गोप्य कुरा भन्छु – हाम्रो प्रचण्ड भनेको माहिर खेलाडी हो । प्रचण्डले आफू प्रधानमन्त्री बन्ने अवस्था नआएमा बाबुरामलाई अगाडि सार्छन् । त्यो नभए माधव र देउवा मध्य एक जनालाई बनाउँछन् । तँलाई यो चै गोप्य कुरो सुनाई दिएको । अब जसरी पनि कमफर्टेवल हुन्छ ।

काकी ! गोप्य कुरो भन्दै काका त अर्के कुरो पो गर्न थाले त !

होला नि भतिज । ओलीलाई प्रधानमन्त्रीबाट हटाउन भारतले रोपेको मुसल जतासुकै उम्रिएको छ । द्वारिकाधशिलाई पन्छाउन अथवा समाप्त पार्न यदुवंशीहरु जसरी उचालिएका थिए अहिले ओलीलाई हटाउन केही व्यक्ति त्यसरी नै उचालिएका छन् । अब यिनार्को उत्ताउलो कार्यक्रम हामीले चुनापसम्म हेर्नै पर्छ ।

के चुनापसम्म भन्छेस् झुम्री ! हाम्रो प्रचण्डले चुनापसम्म माधव नेपालहर्लाई बडो मायाँ गरेर राख्छन् । त्यसपछि ‘काम सकियो भाँडो, आफल तेरो ठाँडो’ बनाउँछन् । अब तिमारु हेर्दै जाउ, हामी काम गर्दै जान्छौं ।

खै ‘खुट्टी हेर्दै पत्याएँ’ भने जस्तो तिमार्को भारत भक्तिले त्यति काम देला जस्तो लाग्दैन । तिम्रो गोप्य कुरा अनुसार बाबुराम नै तिमार्को प्रधानमन्त्री भनेपछि अरु केही भन्ने वाँकी नै रहेन ! लौ त काका ! म लागें ठिमीतिर ।

जै नेपाल !

Facebook Comments