परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

तिमारु कुन पार्टीका हौ ?

लड्डु कपाकप खाको फोटो देख्यौ काका ! सारै मिठो लड्डु खाए । कोच्याई कोच्याई, खाँदी–खाँदी खाए । म त ट्वाँ परेर हेरेकौ हेरै भएँ ।

खुशियालीमा खाए नि भिरघरे । मैले पनि एकपाउ लड्डु ल्यार खाएँ । आखिरमा हाम्रो काम्रेड प्रधानमन्त्री भरै छाडे ।

भै सकेर काका ! कस्तो छिटो भए छन् । हतार त हतारै गरेका थिए । तर, काका समाचारमा त भनेन नि ! त्यही लड्डु खाको, हाम्रो देउवा दाइलाई प्रधानमन्त्री बन्दिनु होस् भन्न गाको । अनि राजेन्द्र महतोलाई फकाउदा ‘तिमारु कुन पार्टीका हौ’ भनेर सोधेको कुरा मात्रै समाचारमा लेखेको छ ।

भै सके भन्दा पनि फरक पर्दैन । अब हुने प्रधानमन्त्री भनेको जनताका ढुकढुकी, सर्वहारा वर्गका महिसा, माओवादका ब्याख्याता, प्रचण्डपथका रचयिता, अलौकिक मार्गका पथप्रवर्तक, साकाहारी आन्दोलनका शक्त विरोधी, जननेता, महामानवको महिमाले वेष्ठित उच्च छलाङका…!

भयो काका अब ब्याख नगर । तर, एउटा कुरो चै सोध्छु ‘देउवाकोमा चैं

किन काका थिएछन् ? ‘प्रधानमन्त्री बन्दिनु होस्’ भन्दै बुढानिलकण्ठतिरको दौड किन गरे छन् ?

हौ भिरघरे अब हाम्रो काम्रेडले काँग्रेसका २।४ जनालाई मन्त्री बनाई दिन्छन् । सबैलाई मिलाएर लाने क्षमता काम्रेड प्रचण्डसंग छ । राजेन्द्र महतोहरु पनि सलल आउछन् ।

अनि, तिमार्को पार्टी चैं कुन हो नि काका ! देउवा र राजेन्द्र महतोले ‘तिमार्को पार्टी चाहि कुन हो’  भनेर किन सोधेका ? रोजन्द्र महतो जस्ताले तिमारु कुन पार्टीको हौ भनेर सोध्ने र परिचय खोज्ने अवस्था कसरी आयो काका ?

त्यस्तो मुलाङहर्ले सोधेर हुन्छ’ हाम्रो पार्टी नेकपा हो । सबैलाई थाहा छ नेकपा र सूर्य चिन्ह प्रचण्डको हो भनेर ।

प्रचण्डले सूर्य चिन्हबाट जितेका होइनन् नि, सूर्य चिन्ह एमालेको हो । अब २० गतेबाट नेकपा (नेपाल कम्युनिष्ट पार्टी) पनि ऋषि कट्टेलको बन्छ । अनि तिमारु ‘ओल्लो तिर न पल्लोघाट’ को बन्छौ । हाम्रो देउवा दाइ प्रधानमन्त्री बन्छन् । कि कसो झुम्री काकी ।

ठिकै भनिस् भतिज ! प्रचण्ड र माधव को पालो आउछ जस्तो छैन । ओली नै प्रधानमन्त्री बनी रहने अवस्था देखिन्छ । यदि ओली प्रधानमन्त्री नरहने अवस्था आयो भने देउवा प्रधानमन्त्री बन्छन् । प्रचण्ड र माधव काम्रेडहर्ले यही २१ महिना प्रतिनिधिसभा सदस्यमा चित्त बुझाउने र आउने चुनापमा हारेपछि राजनीतिबाट विश्राम लिने अवस्था देखिन्छ ।

झुम्री कुरै नबुझी बोल्छे ! हाम्रो प्रचण्डले स्थानिय चुनापमा देउवाको गर्धनमा टेकेर घुच्चुकमा हाने, प्रतिनिधिसभा चुनापमा ओलीको बुई चडेर चुनाप जिते । अब अहिलेको खेलामा पनि प्रचण्डले नयाँ जुक्ति निकालेर ओली र देउवालाई पासोमा पारेर राज गर्छन । हाम्रो काम्रेड माहिर खेलाडी हो । अब छोड यो कुरा देउवा, मधेशी दललाई हाम्रो काम्रेडले काखी च्याप्छन् । ओली चै कता जान्छन् होला ! मलाई त त्यो पो चिन्ता लाग्दै छ ।

ओलीको चिन्ता तिमार्ले गर्नु पर्दैन काका ! तिमार्ले आफ्नो चिन्ता गरे हुन्छ । ओली प्रधानमन्त्री नै रहन्छन् । यदि उनी प्रधानमन्त्री रहेनन् भने ओलीलाई लिएर देउवाले सरकार गठन गर्छन् । तिमार्लाई देउवाले रुचाउदैनन् र लिदैनन् । किन भने तिमार्ले आफ्नै पार्टीको ओलीलाई त स्वीकार्न सकेनौ भने काँग्रेसको देउवालाई स्वीकारे जस्तो गरेर कल्ले पत्याउछ ।

प्रचण्ड वचनको पक्का छन् । जनयुद्धको समयमा पनि नेपाली जनतालाई मुक्त गर्ने राष्ट्रलाई विस्तारवाद र साम्राज्यवादको खेल मैदान नबनाउने र भारतसंग बदला लिएर छाड्ने भनेर उद्घोष गरेका थिए । दिल्लीमा बसेको बेला पनि भारतीय नेताहर्लाई थर्काएर, पैसा, हतियार, सहयोग ल्याएकै थियो । अब एमसिसी पास गरेर र भारतलाई कम्र्फटेवल हुने सरकार गठन गरेर अम्रिकालाई पनि तह लाउने भन्दै छन् ।

लु सुन्यौ काकी ! अस्ति ओलीले एमसिसी पास गर्नु पर्छ भन्दा प्रचण्ड, माधव, झलनाथहर्ले अलि–अलि विरोध गरेका होइनन् त । आहिले आएर उनारु नै यो पास गर्ने अरे ! अब चाहिँ पक्का भयो यिर्नालाई दशा लागेकै हो । हौ काका ! तिमार्को सडक सडक आन्दोलन सर्वोच्चले सकी दियो, सरकार ओलीले सकि दियो । अब तिमार्को भोगचलन समाप्त भयो । दशा भनेको बाजा बजाएर आउदैन भन्थे हो रछ । लड्डु खुवाउँदै दशा आयो । आफ्नै छातीमा ‘हामी यहाँ छौं’ भन्ने लेखेर थचक्क सडकमा बस्ने, सडकमा नाच्तै एकले अर्कालाई लड्डु कोच्याउने गर्दैमा प्रधानमन्त्री बन्न पाउने भए……!

के नचाहिदो कुरो गर्छस् भिरघरे ! काँग्रेस र एमालेहर्ले प्रचण्ड कस्ता खेलाडी हुन भन्ने बुझेकै छैन । प्रचण्डले माधवलाई गुलियो मात्र होइन नुनिलो पनि खुवाई सकेका छन् । अब देउवा र राजेन्द्र महतोहर्लाई पनि खुवाउछन् । त्यसपछि नुनको सोझो गर्न बाध्य हुन्छन् ।

अब यस्ता पनि कुनै तर्क हुन्छ ? यो त कुतर्क मात्रै हो । काका तिमारु भनेको खरानीको लागि आफ्नो घर डढाएर परचक्रीलाई आगो ताप्न दिने र अर्काको घरमा बास माग्ने जमात हौ । ओलीले ठिकै भने ‘भाइहर्ले केको खुशीमा हो लड्डु खाए’ भनेर ।

ओलीको कुरा नगर भिरघरे । तिन्ले जे भने पनि, तैले जे भने पनि अब प्रचण्ड काम्रेड प्रधानमन्त्री । हेरी राख ! अबको दुई वर्ष भित्र नेपाल अर्कै बन्छ । तिमारु र ओली समूहको विजोक हुन्छ ।

हौ बुढा ! आफ्नो बिजोक भाको होस् पाउँदैनौ । लड्डु खुवाउदैमा सत्ता प्राप्ति भएको भन्ने नठान । निकट भविष्यमा फेरि ओलीले नै चुनाप गराउँछन् ।

ठिक भनिन काकीले । तिमारु त अब ओली र देउवाको खेल हेरेर बसे हुन्छ । लौ म विदा हुन्छु अब ।

जै नेपाल !

Facebook Comments