परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रचन्न काम्रेसको सारगर्भित भासन!

हाम्रो पार्टीका सदावहार अध्यक्ष काम्रेस प्रचन्नले अस्ति सारगर्भित भासन गरे । कमफर्टेवल सरखारको प्रधानमन्त्रीको हैसियतले बोल्दा कस्तो राम्रो सुहाएको ! अनि हौ भिरघरे ! यो राष्ट्रमा यतिको विकास कसले गर्यो भनेर गम खाँदै थिए हाम्रो काम्रेस प्रचन्नले “मैले हो” भनिदिए । म ढुक्क भए । अब अरुले विकास भएन भनेर नबोले हुन्छ । विद्युत १० हजार मेगावाट, त्यसमा पनि ४० मेगावाट त बंगलादेशलाई बेच्न पाम्ने । सेती, भेरी, कर्नाली, सुनकोसी, भोटेकोसी, अरुण, तमोर सबैतिर बिजुली नै बिजुली । काम गर्ने मुखलाई जुंगाले छेक्दैन भनेको हो रछ । सुशासन हेर्न भिरघरे सुशासन । तेरो काङ्ग्रेसले माग्यो उसैलाई सुशासन हाम्रो माउवादीले माग्यो हामीलाई नै सुशासन । अनि अर्थतन्त्र हेर्न अर्थतन्त्र कस्तो खिरिलो भर छलाङ मार्दै छ ।

होनि ! विध्वांसे काका ! विकास खर्च त १२% भए छ । सुन पनि जतिसक्दो भित्र्याउनु पर्छ भन्ने मान्यता अनुसार सरखार अगाडि बडेको देखिन्छ । सुशासनकै करामत हुनुपर्छ एयरपोर्टमा सिसि क्यामराको फुटेज पाइँदैन । माउवादी र हाम्रो काङ्ग्रेस मिलेर २०/३० कुइन्टल सुन ल्याम्दा यहाँ मान्छेको मन भतभति पोल्छ । अब प्रधानमन्त्रीले त्यत्रो ठूलो बिजुली उत्पादन गरिसके । जनताले नपत्याएर हुन्छ ! प्रधानमन्त्रीले बोलेपछि सकियो । महेन्द्र राजमार्गको बारेमा चाहिँ के भने सुनिन । प्रधानमन्त्रीको भासन पुरै सुन्छु भनेर टिभीको अगाडि बसेको एकछिन एकछिनमा लघुसंकाले च्यापेर ट्वाइलेटका ट्वाइले, ट्वाइलेटका ट्वाइलेट भयो ।  मुलुक खत्तम भयो, कुनै काम भएन भन्नेहर्लाई चाहिँ प्रधानमन्त्रीले कामले भन्दा पनि भासनले मुर्रा जवाफ दिए । कि कसो धोर्जे भन्त !

हो नि भिरघरे दाइ ! परराष्ट्र सम्बन्ध, भूकम्प पीडितको उद्धार र राहत,  हिमाल चिनाउने काम, खचाखच उद्योगधन्दा खोल्ने काम, विदेश पलायन युवालाई स्वदेशमै रोजगारी, दिनको चार कुइन्टल भन्दा बढी सुन एयरपोर्टबाट भित्र्याउन नपाउने नीति, सिसि टिभी क्यामराको फुटेज गायब गर्ने कार्य अरु सरखारले कहिल्यै गर्न सकेको थिएन । यो सरखारले कस्तो सजिलै गर्दै छ । गरेको कुरालाई गरेकै भन्नू पर्छ । विश्वका मान्छे हिमाल नचिनेर अलमलिई रहेका थिए । हाम्रो कमफर्टेवल सरखारका प्रधानमन्त्रीले खातखुत्त चिनाई दिए । हाम्रो यो अपी हिमाल चाहिँ चिनाए कि चिनाएनन थाहा भएन, कन्चनजंगा भारततर्फ छोएको हुनाले आफ्नो भन्न सकिएन । सगरमाथा, मकालु, लोत्से, गणेश, माछापुच्छ्रे त विश्व सामु खोलेर देखाइ दिए ।

वाइयात कुरो नगर धोर्जे ! सिसि क्यामराले खिचेको फोटो हेरेर सुन काण्डमा हाम्रो माउवादीका नेताहर्लाई झ्यालखानामा जाक्न खोज्ने तिमारू नै हौ । ए बाबा ! देशलाई धनी बनाम्न दिनको २/४ कुइन्टल सुन ल्याम्दा तिमार्लाई उखर्माउलो किन हुन्छ हँ ! हाम्रो सरखार हो, तिमार्को होइन । गामघरमा कुनै समस्या छैन, यो सरखार बनेसी समस्या सबै समाधान भयो । जतासुकै विकासका काम धमाधम हुदैछन् भन्दा तिमारुलाई काउसो दले जस्तो हुने ? युवा पलायन रोक्ने ठेक्का प्रचन्न काम्रेसले लेको छर ! सबै कुरा गर्दिन्छु भनेको छ । खेलाडीलाई खेलमैदान, जग्गा नहुनेलाई जग्गा घर नहुनेलाई घर, जनजातिलाई राज्य, काम नहुनेलाई काम, माम नहुनेलाई माम । यतिको भन्न कोही माइका लालले सकेको थिएन । यतिको भासन गर्न त अरुले सक्ता पनि सक्तैन लाजले भुतुक्क हुन्छ ।

हेर विध्वांसे काका ! तिमी बेफ्वाकमा रिसाउछौ । माउवादीका झुन्डले जतिसुकै खोके पनि जनताको आर्थिक अवस्था दिनप्रतिदिन खस्किदै गएको छ । आर्थिक रुपले राष्ट्र खोक्रो हुदै गएको डाटाले देखाउ छ । वैदेशिक ऋणको भार बढदै गएको छ । विकास खर्च हुन सकेकै छैन । अरुण तेस्रो जलविद्युत आयोजना, सुुनकोशी ड्राइभरसन र ओलीले हतार गरेको नागढुङ्गा सुरुङमार्ग बाहेक अन्यत्र काम ठप्प छ । हिजो मात्रै म काठमाडौंबाट तीन दिन लगार  गाम आइ पुगे । अरु त कुरै छाडौ नारायण गड देखि बुटवलसम्म आइ पुग्न एक दिन लाग्छ । त्यही ओलीले थालेको काम मात्रै सुचारु गर्देको भा पनि केही त हुन्थ्यो । त्यो पनि ठप्प । विकास खर्च नभए पछि विकास चाहिँ भयो भनेर पत्याउनु पर्ने ?

कुरा त धोर्जेको ठिकै हो काका ! “म जस लिने पक्षमा छैन” भनेर प्रचन्नले जति भने पनि जस लिन हत्ते गरेको देखिन्छ । परराष्ट्र सम्बन्ध भारत र अम्रिका बाहेक अरुसँग चिप्लियो । आर्थिक अवस्था डामाडोल छ । भौतिक विकासमा माखो मार्न सकेनन् । अबका जनताले भासन पत्याउदैनन् । जसले काम गर्यो उसलाई पत्याउछन् । अस्तिको भासनमा प्रचन्नले जलविद्युतमा फड्को मारियो, ७०० मेगावाट विद्युत मेरै पालामा थपियो भने, त्यो हाउडे गफ हो । फर्पिङको इतिहास हेरेर अहिले तुलना गर्न मिल्दैन । कसको पालामा के भयो भनेर अहिले डाटा खोलेर हेर्न सकिन्छ । गफले अब च्युरा भिज्दैन । वन तरुल खन्ने हो भने गैंती लिएर जंगल पस्नै पर्छ । कि त हाम्रो देउवा दाइ जस्तो “काङ्ग्रेस सकिए भुत्रैसित” भनेर चुपचाप बस्न सक्नुपर्छ होइन भने प्रचन्नका जस्तो ढाँटको पुस्तक नपढे हुन्छ ।

तँ भिरघरे पनि पुरै ओलीको पिठ्ठु भर बोल्छस् । त्यरो बोलीले काङ्ग्रेस छाडेको संकेत गर्छ । म त आँखा चिम्लिएर प्रचन्न काम्रेसको समर्थन गर्छु । अरुले त्यसरी हो नै जसरी बोल्नै सक्तैन । उनले त वास्तवमा विकास जति यिनले गरेका रान, अब केही गर्न बाँकी छैन भने जसरी नै ठोकी दिए । यो भन्दा राम्रो जनताका लागि राष्ट्रका नाममा लौ त अरूले सम्बोधन गरोस् । यदि कसैले त्यसो गर्यो भने  हेर्दा हेर्दैको टिभी ढुट्टो पारेर फुटाइ दिन्छु । हेर्न हाम्रो भुकम्प पीडितले पाको त्रिपाल, सोलार सेट, उ यो चामलको बोराहरू, दाल भुटन सप्पै हाम्रो माउवादी काम्रेसहर्ले बाँडन ल्याको । मेरो घर गोदाम भाको छ । मेरो परिवारका लागि एक वर्षलाई पुग्नेल उता मतानमा राख्देका छन् । भविष्यलाई हुने सामान जडान गर्नु भनेर काम्रेसहर्ले राम्रै रकम छाडदेका छन् ।

ठिक गरेछौ विध्वांसे काका ! तिम्रो घर नभत्के पनि राम्रोसँग अर्को घर बनाउने राहत पाएछौ ।

हो नि भिरघरे । यो गोदाममा राखेको पनि उभिण्डेको पसलमा बेचिदिन्छु । बाँड्दै हिड्न सकिदैन । अब २/४ वर्ष यो भेगका माउवादीलाई काम नगरी खान पुग्छ । जय प्रचन्न कनम्रेस, जय माउवादी कम्रेसहरू, जय धनार्जन काम्रेसफ ।

Facebook Comments