परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रचण्ड भन्छन् – राजा र कांग्रेस नै ठीक !

कोरोनाले जनता त्राहिमाम् छन् । विश्व आक्रान्त छ । शहर बजार, गाउँ–घर, छरछिमेकी, ओल्लो–घर, पल्लो–घर त्रस्त मन लिएर मानिसहरु छटपटाई रहेका छन् । कतिपय आफन्त, साथी – संगीलाई कोरोनाले लगेको खबर सुन्नु परिरहेको छ । काठमाण्डौमा कोरोना ब्यापक बनेको खबर आईरहेको छ । यस्तै बेलामा अदालत, नेता र राजनीति भने भाँडभैलोसंग तात्तिएको छ ।

ए झुम्री ! रेडियोले त्यो के भनेको हँ ! हाम्रो राष्ट्रनायक काम्रेड प्रचण्डका बारेमा ! कतै हाम्रो सर्वहाराका नेता महान काम्रेडले पनि ‘राष्ट्रपति भन्दा राजा ठिक’ र ‘कम्युनिष्ट भन्दा काँग्रेस ठिक’ भन्दा हुन त । रेडियो पनि किन बौलाको हँ !

फुटानी

हेर बुढा ! मैले भन्यो भने तिमीलाई रिस उठ्छ । तर, तिम्रा राष्ट्रनायक महान काम्रेड प्रचण्ड जे सुकै बोल्छन् । अब अस्ति विहिवार ‘राजा र कांग्रेस नै ठिक’ भनेर बोले । के बोल्दा कस्तो सन्देश जान्छ भेउ पाउदैनन् । जाँडा खार बोलेका होलान भनौ भने बाहुनका छोरा हुन क्यारे !

त्यस्तो कुरो नगर्न झुम्री ! हाम्रो काम्रेडको बानी अलि भिन्न खालको छ बोल्दा बोल्दै कहिले काँही झुक्किएर भुँडीमा भाको सत्य कुरा फ्याट्ट बोल्छन् ।

नमस्कार है काका – काकी ! कसले के कुरो सत्य बोल्छ काका ! कि आफ्नै महान क्रान्तिकारी नेता, राष्ट्रनायकको कुरो गर्दैछौ !
हैन काठमाडौ गाको भनेको हैन, कहिले आइस भिरघरे ! लौ त भतिज काठमाडौको तातो खबर खरर् सुना त ! हाम्रो प्रचण्ड काम्रेडको लाइनमा देउवा, माधव, बाबुराम, उपेन्द्र, मोहन विक्रमहरु मात्र छन् कि अरु पनि आए ।

काका ! अब कोही आउनु पर्दैन । जे गर्छ अदालतले गर्छ ! हाम्रो देउवा दाइले भनेको ‘अदालत, सेटिङ’, वकिल, फैसला ओके छ । पेलपाल गरेर देउवा दाइ प्रधानमन्त्री ! देउवा दाइका छेउमा प्रचण्ड, माधव जस्ता राष्ट्रनायकहरु त लत्राकलुत्रुक । जे गर्छ अब अदालत र देउवा दाइले गर्छ भन्न थालेका छन् । प्रचण्ड र माधवले हामी ‘देउवा दाइको हली बन्न ओके छौं’ भनेर ल्याप्चे ठोके भने सप्पै कुरो मिल्यो । तर, उच्च छलाङ लगाउँदै हाम्रो कांग्रेससंग मिल्न आई पुगेका महान काम्रेडले अण्टसण्ट बोल्छन् र पो !

हाम्रो काम्रेडको पनि भुँडी भरी पीडा छ । कहिले काही मनको कुरो फ्याट्ट बोल्छन् । अब अदालतले देउवालाई झ्याम्मै प्रधानमन्त्री बनाई दियो भने ‘यो ब्यवस्था नै धरासायी बनाउने’ इच्छा पुरा हुन्छ उनले नसोचीकन ‘राष्ट्रपति भन्दा राज ठिक, कम्युनिष्ट भन्दा राजा ठिक’ भनेका होइनन् होला ।

नेताले त्यसरी चैं बोल्न हुदैननी काका ! पहिला हाम्रो देउवा दाइले सत्ता राजालाई बुझाउँदा र तिमार्का नेताको टाउकाको मोल तोक्दा कांग्रेसको अदोगति भाकोथ्यो । हुन त प्रचण्डको अब बिग्रने ठाउँ नै छैन । उनले जे बोल्दा पनि हुन्छ ।

त्यसो नभन भिरघरे ! प्रचण्ड भनेको महान ब्यक्ति हुन, राष्ट्रनायक हुन । उस्तै पर्दा अदालतले पनि ‘सेटिङ’ विर्सिएर देउवाको सट्टा ‘आजका मितिदेखि प्रचण्ड प्रधानमन्त्री’ भनेर फैसलामा ठोक्न बेर छैन ।

लौ सुनिस भतिज । यी बुढाको हावा गफ । यस्ता त माउवादीका नेता छन् । अनि यिनार्को पार्टी नसकिए कसको सकिन्छ ?

नकरा झुम्री ! हेर अदालत, प्रचण्ड देउवा एक भएपछि उभिण्डे खेलाको पानी पनि झापाको अदुवा खोलातिर पुग्न सक्छ ।

होइन हौ काका ! अब देउवा दाइ प्रधानमन्त्री भएपछि तिमीलाई काठमाडौ लिएर जान्छु । अनि सप्पै नेतासंग भेटाउँछु । हेलिकेप्टरबाट नेपालगंज जाने, त्यहाँबाट बसमा चढेर काठमाण्डौ । त्यसपछि हाम्रो दाइ सिटौला र विश्वप्रकाशको गाउँ झापासम्म पुगेर आउनु पर्छ ।

देउवा प्रधानमन्त्री त बन्ने भए । उता महाधिवेशनमा सभापति चैं बन्छन्, कि बन्दैनन् । पार्टीमा कांग्रेसका अरु नेताहरु मोर्चाबन्दी गर्दै छन् भन्ने खबर आइराछ ।

हाम्रो कांग्रेसमा देउवा दाइ बाहेक अरुको ‘चान्स’ छैन काका ! अब तिमार्को महान राष्ट्रनायक काम्रेड प्रचण्ड जस्तै बाँचुन्जेल पार्टीको बागडोर देउवाले नै समाल्नु हुन्छ । यता पार्टीमा देउवा दाइको विकल्प छैन भने उता अदालतले पनि ‘पाँच वर्षसम्म सत्ता चलाउने कार्यमा देउवाको विकल्प खोज्न नपाउने’ भन्ने निर्णय गर्दै छ ।

त्यस्तो चैंं अलि होइन होला भतिज । अब को प्रधानमन्त्री, को उप्रधानमन्त्री र को मन्त्री भनेर अदालतले नै निर्णय गर्ने होर ! यदि त्यसै हो भने पार्टी–साटी र दलिय ब्यवस्था किन ? अदालतले नै राजनीति !

यो झुम्री पनि सेटिङको कुरो नबुझी बोल्छे ! भिरघरेले यसपालि चैं कुरो बुझेर आए छ । एउटा कुरो चाहिँ के हो भने अदालतबाट पाँच वर्षका लागि कसैले हल्लाउन नसक्ने प्रधानमन्त्री देउवा बने पनि प्रचण्ड र देउवाबिच आधा आधा ‘टाइम’ प्रधानमन्त्री बन्ने सहमति हुन्छ । त्यसैले हाम्रो काम्रेडले कम्युनिष्ट भन्दा कांग्रेस ठिक भनेर देउवालाई उचाल्दै छन् ।

हौ काका ! हाम्रो देउवा दाइलाई राम्ररी थाहा छ कम्युनिष्टहरु त्यसमा पनि माओवादीका नेता प्रचण्ड कस्ता छन् भनेर ! हाम्रो दाइले यिनारुलाई दास बनार नचाउन सकेनन् भने म यो उभिण्डेको पानी नै खान्न । अहिले बुढानिलकण्ठमा खेलिने रत्यौली भोलि यिनार्ले नै बालुवाटारमा पु¥याउँछन् । स्थानीय चुनापमा देउवालाई अंगालो हाल्ने, संसदयि चुनापमा ओली नै प्यारो भनेको कांग्रेसले कहिल्यै विर्सिदैनन् ।

तँ पनि उहिलेको कुरो गर्छस् ।

अहो काका ! मेरो त आज रोपाईं छ । लागेँ खेततिर । अर्को हप्ता भेटौंला ।

जै नेपाल !

Facebook Comments