स्वतन्त्र मान्छे
चट्याङ्-प्रहार
म खान्छु मीठो खाना, म मीठो मन पराउँछु
नपाए म मीठो खान, आफै खाना पकाउँछु
म सुङ्घ्छु वासना मीठो, सुगन्ध मन पराउँछु
नपाए वासना सुङ्घ्न, आफैँ अत्तर बनाउँछु
म सुन्छु मीठो सङ्गीत, म सङ्गीत मन पराउँछु
नपाए सुन्न कतै सङ्गीत, आफैँ बाजा बजाउँछु
म हेर्छु दृश्य सब सुन्दर,सुन्दरता मन पराउँछु
नपाए हेर्न केही सुन्दर आफैँ चित्र बनाउँछु
म छुन्छु कोमल सप्पै, कोमलता मन पराउँछु
नपाए म कोमल छुन पानीमा गई नुहाउँछु
मेरा ज्ञानेन्द्रीय जम्मै ज्ञानमा म लगाउँछु
ज्ञानमा सधैँ रम्दै ध्यानमा मन लगाउँछु ।