मैले देखाउन धेरै कमाल बाँकी छ !
चट्याङ प्रहार
खूब चुसे मेरा पाकेका रसिला आँपहरू सबले
त्यही चुसिएको आँपको मेरो यो छाला बाँकी छ,
कस्तो मीठो मानेर खाए कलिला काँक्राहरू सबैले,
त्यही काँक्राको अब यो रित्तो झाल बाँकी छ !
अझै गहिरिएर हेर यी चाउरी मेरा,
मैले देखाउन तिमीलाई धेरै कमाल बाँकी छ !
फुलेकै हो कपाल, झरेकै हो दाँत
तर कसका लागि फुले र कसका निम्ति झरे ?
सोध्न अझै तिमीले यो सवाल बाँकी छ,
गहिरिएर हेर यो कुप्रो शरीर,
मैले देखाउन तिमीलाई धेरै कमाल बाँकी छ !
मैले मेरो फूर्ती त सुर्ती थुके झैँ थुकिसकेँ,
बेहोसी पार गरी होशमा आइसकेँ
आँसु त जिन्दगीमा कति बगे बगे,
आँसु पुछ्न अझै मेरै रुमाल बाँकी छ,
गहिरिएर हेर यो दुर्बल शरीरलाई ,
मैले देखाउन तिमीलाई धेरै कमाल बाँकी छ !
अझै कसैका छोरा, छोरी, नाति र नातिना छौ तिमी
हजुरबुबा र हजुरआमा बन्नै बाँकी छ ।
“कस्तो देखिन्छ हँ संसार बूढो भएपछि ?”
सोध्न अझै तिमीले मलाई यो सवाल बाँकी छ ।
गहिरिएर हेर मेरा धमिला आँखा,
मैले देखाउन तिमीलाई धेरै संसार बाँकी छ !
म त घरबारमा नअँटाएर संसारभरि छरिएको मान्छे,
तिमीले त समेट्न अझै तिम्रै घरबार बाँकी छ ।
यो हाल छ मेरो, त्यो चाल छ तिम्रो,
हालचालपछि आउने कति बेहाल बाँकी छ ।
हेर्दै जाऊ गहिरिएर मलाई,
मैले देखाउन तिमीलाई धेरै कमाल बाँकी छ ।
तिमी मेरो कपाल देख्छौ, म तिम्रो गिदी देख्छु,
तिमी तरुना–तरुनी देख्छौ , म स्त्री–पुरुष देख्छु,
थिए बोसो र मासुका थुप्रा मेरा पनि,
तर अझै पनि यो कङ्काल बाँकी छ ।
हेर्दै जाऊ गहिरिएर मलाई,
यो कङ्कालले पनि देखाउन धेरै कमाल बाँकी छ ।