परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

झूर साहित्य !

चटयाडमास्टरको झटारो

न नर हत्याको विभत्स चित्रण गर्नुहुन्छ

न लुटपाट आतङ्कको वर्णन गर्नुहुन्छ

न बलात्कृत बालिकाको चित्कार लेख्नुहुन्छ

न सिंगो देश र जनताको धिक्कार लेख्नुहुन्छ

तपाईं किन यस्तो झूर साहित्य लेख्नुहुन्छ ?

 

न वाद लेख्नु हुन्छ न विवाद लेख्नुहुन्छ

न सफेद पोषको संवाद लेख्नुहुन्छ

न दाना लेख्नु हुन्छ न पानी लेख्नुहुन्छ

व्यर्थ छ तपाईंको यो लेख्ने बानी

तपाईंं कस्तो झूर साहित्य लेख्नुहुन्छ !

 

साहित्यकारले सशक्त साहित्यकै रचना गरिसकेपछि

पाठकले रचनाको रस-स्वादन गरिसकेपछि

उसको चिसो रगत पनि तातोस्

दुई-चार जनाको ढाड, गर्दन भाँचोस्

सडक तताओस्, गाउँ-घरमा आगो सल्काओस्

अरुलाई नसके आफ्नै गलामा पासो लगाओस्

हाँसी बसेकालाई रुवाओस्

देश, समाजमा एउटा नयाँ विचार क्रान्तिको लहड लेराओस्

पढ्यो-पढ्यो अनि खिस्स दाँत देखाउने खालका मात्रै रचना गर्नुहुन्छ

अचम्म लाग्छ, तपाईं किन यस्तो झूर साहित्य लेख्नुहुन्छ ?

Facebook Comments