परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मुकेश पोख्रेललाई २०१८ को वातावरण पत्रकारिता पुरस्कार

सन्दर्भः जून ५, विश्व वातावरण दिवस

काठमाडौँ, २२ जेठ २०७६ ।
नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५ को अवसरमा हिमाल खबरपत्रिकाका संवाददाता मुकेश पोख्रेललाई ‘‘वातावरण पत्रकारिता पुरस्कार’’ सन् २०१८  प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार स्वरुप उहाँलाई २५ हजार रुपैयाँ र प्रमाण–पत्र प्रदान गरिने छ । नेपाल वातावरण पत्रकार समूहले विगत तीन दशकदेखि यो पुरस्कारबाट सङ्गमािनत  गर्दै आएको  छ ।

समूहले प्रत्येक वर्ष जुन महिनाको ५ तारिख विश्व वातावरण दिवसको अवसरमा सन् २०१८ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाईनमा उत्कृष्ट लेख–रचनाहरू प्रकाशित गर्ने वा कार्यक्रम प्रस्तुत गर्ने पत्रकारमध्येबाट छनौट गर्दा विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकता भएका लेखहरुको मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०१८ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व महासचिव वरिष्ठ पत्रकार बद्री पौड्याल संयोजक, पूर्व महासचिव तथा पत्रकार रमेश भुसाल तथा विज्ञ सदस्य तथा वातावरणविद् डा. तीर्थबहादुर श्रेष्ठ रहेको छनौट समितिले मूल्याङ्कनका लागि प्राप्त सामग्रीहरुमध्ये सान्दर्भिकता, गहनता, विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकता समेतका आधारमा प्रतिस्पर्धीहरूको मूल्यांकन गरेको थियो ।

समाजशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण पोखरेल हिमाल खबरपत्रिकामा संवाददाताका रुपमा कार्यरत हुनुहुन्छ । समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०१८’ पाउने उहाँ ३२औँ पत्रकार हुनुहुन्छ ।

Facebook Comments