परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मेयर र पत्रकार; नाक र भ्रष्टाचार

यसपाला भने सामाजिक सञ्जाल अझ भनौं आमसञ्चार माध्यमले मेयर र पत्रकारका कुराकानी खुवै चर्चा गरे । पत्रकारहरूलाई समाचारका लागि दु:खै गर्नु परेन । भररर फुरेर आयो । होइन हाउ यो हिमाली भेगको भेडी गोठालाले पनि समाचार चैँ सुन्न पाम्छ के । यो उपल्लो डोल्पाको हावामा बुकी फूलको गन्धसँगै मुस्लो भएर बटारिएर आउने समाचारले कोक्याउने भाका बोल्छ गाँठे । पूर्वतिरको एउटा जौडे मेयरले पत्रकारको नाक भाँच्ने कुरो गरे छ अनि त हौ पत्रकारहरू पनि के कम अरिङ्गाल जस्तो खनिए छ । तर, हौ ! मेयर पनि मापाकै र’छ ! ऐन कानून मारो गोली, इटहरीमा पीत पत्रकारिता र भ्रष्टाचार चल्दैन भनेर मेयरले त खोक्स पो दियो । लत्रन्छ कि भनेको लत्रन चै लत्रिएन है ।

पदीय मर्यादा र कानूनलाई पनि ध्यानमा राखेर वोल्नु पर्ने आसयको पत्रकारको प्रश्नमा पनि खासै दिलचस्पी दिएको पाइएन । एउटा कुरो चाहिँ किलोर भयो नेताहर्को झगडामा पत्रकार फसे छ । झगडा पनि पुरानै पो रै छ त । तर, जाँतोलाई भन्दा हातोलाई खसखस भनेजस्तो त्यो पत्रकारले चाहिँ के लेखेको थियो ? भनेर सोध्न पो मन लाग्यो । हुन त हाम्रो पत्रकारहरूलाई पनि त्यस्तो खोज्न के जाँगर चल्दो हो र । यदि म यो भेडी गोठालो नभै पत्रकार भएको भए दुवैको कुरो खोदलेर लेख्ने थिएँ । अर्काको हातमा समाचार लेख्ने कलम प¥यो, आफ्नो हातमा भेडा धपाउने लौरी । कस्तो अप्ठयारो ! यो मन छ नि, हिमालमा भए नि, पहाडमा भए नि, तराईमा भए नि परक्क बटारिएर फनफनी घुम्नी क्या ! साँच्चै अप्ठ्यारो लाग्छ मेयर र पत्रकारको कुरा गर्न । होइन के हो के हो नि ! नभरेको बन्दूक पड्किन्छ भन्छन् ।

रिसानी माफ होस् है पत्रकार सरहरू ! आफू त ‘लुकाउनी कुरो पनि छैन, राख्ने धन पनि छैन’ भने जस्तो पो छु । होइन के जिव्रो चवाएर वोल्नु । साँच्चै भन्ने हो भने मेयरले बोलेको त सुनेँँ, बुझेँ, उस्ले पदीय मर्यादा र कानूनको मर्म, साथै धर्म विपरीत बोलेको भन्ने आरोप सबैले लगाए । त्यो पनि पढें । अब भन्नु होस्, पत्रकारले चाहिँ के लेखेको थियो र के बोलेको थियो ? त्यो चाहिं मैले बुझेन । म त अहिले पनि भन्छु किलोर भएन । कसैलाई थाहा भए किलोर गराई दिनु भए धन्यवात दिने थिएँ । मेरी डोल्मा पो भन्दै थिई – एक दुई जनाले गर्दा धेरैको बदनाम हुन्छ भनेर । मैले उसलाई सोधें तिमीले – मेयरलाई भनेको कि पत्रकारलाई ? डोल्मा ज्यान गए बोल्ने भए पो । बरु अर्कोतिर कुरो बटारी र भनी ‘यहाँ पत्रकार होस् कि मेयर होस्, तुलोमा हालेर को बढी दोषी भनेर कसैले छुट्याउन सक्तैन ।’

डोल्माले त भनी नि आफ्नो मन मान्दैन । साँच्चै त्यो मेयरले भ्रष्टाचारीलाई तह लगाउन खोजेको हो भने पत्रकारहर्ले पनि सघाउनु पर्छ । तर, मेयरले पनि भ्रष्टाचारी, पीत पत्रकारी, हो भन्दैमा सरासारी गएर पट्टापट पिट्न पाउन्नन् । उनले कानूनी प्रक्रिया अपनाउनु पर्छ ।

अब नाकको कुरो आयो । नाक त मेयरले पनि, पत्रकारले पनि जोगाउनै पर्छ । नाकै जोगिएन भने समाप्तै भै हाल्छ नि । मान्छे यही नाक जोगाउनको लागि कति दुख बेसाउँछन् । पत्रकारको मात्र कुरा गरेर हुँदैन । नाक सबैको जोगिनु पर्छ । मेयरको, उनको पार्टीको, उनलाई भोट दिने जनताको र उनको पदको । पत्रकारले पनि पत्रकारिताको, आचारसंहिताको, आवद्ध संस्थाको र आफ्नो नाक जोगाउनै पर्छ । कोही भावनामा बग्नु हुँदैन र आदर्शले मात्र पनि कुनै लछारपाटो लाउँदैन ।

Facebook Comments