परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

बारा र पर्सामा आँधीहुरीबाट ठूलो जनधनको क्षति, २७ को निधन, पाँच सय बढी घाइते

सबै संयन्त्र परिचालन गर्ने सङघीय सरकारको निर्णय, देशभरि नै राहत सङ्कलन अभियान

काठमाडौँ । आइतबार साँझ  पानी र असिनासँगै आएको हावाहुरीका कारण पर्सा र बारा जिल्लामा कम्तीमा २७ जनाको ज्यान गएको छ भने पाँच सयभन्दा बढी घाइते भएका छन् । यसअघि स्थानीय वासिन्दाले कहिल्यै अनुभव नगरेको शक्तिशाली हावाहुरीका कारण ठूलो मानवीय र भौतिक क्षति हुन पुगेको छ । स्थानीय पीडितहरूको दुःखमा मलम लगाउन सबै क्षेत्रका देशवासी एकजुट हुन थालेका छन् ।

हावाहुरीका कारण घर टहरा नष्ट भएका छन् भने बालीनाली र चौपाया, हाँस, कुखुराको क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ  । विनाशक हावाहुरीले बिजुलीका पोल, बाँस, रूख तथा पक्का घरदेखि ट्युवेल समेत ढालेको छ । खानेपानी, खाद्यान्न र विजुली छैन । राहत र उद्धारका कार्य जारी छन् । स्थानीय २ न‌ंबर प्रदेश सरकार र सङ्घीय सरकारको तर्फबाट उद्धार र राहतका काम भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र सङ्घीय सरकारका केही मन्त्रीले घटनास्थलको अवलोकन गरी उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देश गरेका छन् । प्रधानमन्त्रीले सरकार पीडितहरूसँगै रहेको आश्वासन समेत दिनुभएको छ ।

प्रदेश नंबर २ सरकारले मृतकका परिवारलाई ३ लाख दिने र घाइतेको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । देशका विभिन्न भागबाट राहत र उद्धार अभियान सुरु गरिएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरी हिजै बेलुकादेखि उद्धारमा खटेका छन् । घाइतेहरूलाई रगतको अभाव भएपछि सुरक्षाकर्मीले घटनास्थलमै रक्तदान गरेका थिए । गम्भीर घाइतेहरूलाई सेनाको स्काई ट्रकबाट काठमाडौँ ल्याई उपचार सुरु गरिएको छ ।

यसैबीच, घटनास्थलको अवलोकन गरी प्रधानमन्त्री र केही मन्त्री फर्केपछि सोमबार साँझ बालुवाटारमा बसेको संघीय सरकारको मन्त्रिपरिषद बैठकले राहत तथा उद्धारमा सबै संयन्त्र परिचालन गर्ने निर्णय गर्नुका साथै हावाहुरी प्रभावितहरुलाई यथोचित बासस्थानको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

मौसम विज्ञान विभागले देशका पहाडी र तराई क्षेत्रमा गड्याङ्गुडुङसहित पानी पर्ने बताएको भए पनि हावाहुरीको भविष्यवाणी गर्न सकेको थिएन । तर, सीमावर्ती भारतीय क्षेत्रमा आँधी तूफान आउने भविष्यवाणी भारतीय मौसम विज्ञान विभागले गरेको पाइयो । यो भविष्यवाणी स्थानीय वासिन्दामाझ भने पुगेको देखिएन ।

यसैबीच बारा र पर्सामा भएको आँधी बेहरीको प्रकोपमा परेका वासिन्दालाई सहयोग गर्न देशैभरिबाट पहल भइरहेका छन्। हिमाल, पहाड, तराई; कोही छैन पराई भन्ने नाराका साथ देशको हिमाली तथा पहाडी भेगबाट तराईमा परेको यो दुःखद् विपत्तिमा सहयोग गर्न स्वतःस्फूर्त अभियान जनस्तरबाट थालिएका छन् । जनप्रतिनिधिहरूले एक एक दिनको तलब विपत्मा परेका स्थानीय वासिन्दाका लागि प्रदान गरेका छन् ।

यसैबीच, घटनास्थलको अवलोकन गरी प्रधानमन्त्री र केही मन्त्री फर्केपछि सोमबार साँझ बालुवाटारमा बसेको संघीय सरकारको मन्त्रिपरिषद बैठकले राहत तथा उद्धारमा सबै संयन्त्र परिचालन गर्ने निर्णय गर्नुका साथै हावाहुरी प्रभावितहरुलाई यथोचित बासस्थानको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सबै तथ्याङक सङ्कलन गरेपछि उपयुक्त थप निर्णय लिने जानकारी सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बाँस्कोटाले दिनुभएको छ ।

तस्बिर सौजन्यः सुरेश बिडारी, बीरगन्ज

 

 

 

Facebook Comments