परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

छ व्यक्तित्वहरूलाई ‘नइ पुरस्कार’ २०७५ बाट सम्मान गरिने

काठमाडौं । नइ प्रकाशनले विविध क्षेत्रका छ जना व्यक्तित्वहरूलाई २०७५ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जारी गर्नुभएको प्रेस विज्ञप्तिका अनुसारऽ सनातन हिन्दूधर्म, संस्कृतिको संवर्द्धन, संरक्षण तथा जागरणका लागि मन, वचन र कर्मबाट समर्पित श्री १००८ स्वामी रमणानन्द गिरीलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यसैगरी नेपालको राष्ट्रियता र राष्ट्रिय भौगोलिक अखण्डताका लागि सदैव चिन्तन, विश्लेषण र प्रचारप्रसारमा अहोरात्र समर्पित भएर मातृभूमिप्रति दिएको विशिष्ट योगदानका लागि श्री चन्द्रप्रकाश मैनालीलार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गरिने भएको छ ।

प्रा.डा.चूडामणि बन्धु भाषाको श्रीवृद्धिका लागि अनवरत समर्पित रहँदै देश देशान्तरमा नेपाली साहित्यको प्रतिष्ठा बढाउन विशिष्ट योगदानका निम्ति  ‘नइ खरा सुकीर्ति पुरस्कार’ बाट सम्मानित हुनुहुनेभएको छ ।

नेपालको आधुनिक इतिहासलाई निष्पक्ष र सकारात्मक रुपमा परिमार्जन गर्दै नेपालको इतिहासको अध्ययनमा नै समर्पित प्रा.डा.त्रिरत्न मानन्धरलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिनेभएको छ ।

यस्तै, साढे सात दशकअघिदेखि चित्रकलामा अविछिन्न समर्पित रहँदै नेपालमा पहिलोपल्ट एकल चित्रकला समेत प्रदशर्नी गर्ने गेहेन्द्रमान अमात्यलाई ‘नइ यउजा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

काठमाडौं उपत्यका बाहिर रही नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउने स्याङ्जाका देवीप्रसाद वनवासीलाई ‘नइ धनरुप पुरस्कार’ समर्पण गर्ने निर्णय समेत नइ प्रकाशनले गरेको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले ताम्रपत्रका साथै जनही एक लाख रुपियाँ राशीका यी पुरस्कारहरू शताब्दी पुरुष सत्यमोहन जोशीको १०० औं शुभजन्मोत्सवको अवसर पारी २०७६ साल वैशाख २८ गते काठमाडौंमा शताब्दी पुरुषकै हातबाट समर्पण गर्ने निर्णय  गरेको छ।

यसैबीच, प्रा.डा. शशि शर्मा तथा प्रा.डा. ज्योति शर्माले नइ प्रकाशनको अक्षयकोषका लागि थप ३ लाख रूपियाँ प्रदान गर्नु भएको छ । अबदेखि ‘नइ ईश्वर बराल पुरस्कार’को राशि पनि एक लाख रूपियाँको हुनेछ । प्रा.डा. शर्मा दम्पती नेपाली भाषा साहित्यका महारथी प्रा.डा. ईश्वर बरालका छोरीज्वाइँ हुनुहुन्छ । ‘नइ ईश्वर बराल पुरस्कार’ अविच्छिन्न समर्पण गर्नका लागि ईश्वर बरालकी श्रीमती रानू बरालबाट नइ अक्षयकोषका लागि ३ लाख रूपियाँ यसअघि नै प्राप्त भैसकेको प्रकाशनले जनाएको छ।

२०५२ सालमा स्थापित नइ प्रकाशनले विविध कार्यक्रमका साथै वार्षिक लगभग १५ लाख रूपियाँ राशिसम्मका पुरस्कार नियमित रूपमा समर्पण गर्दै आएको छ ।

 

Facebook Comments