पितृ ऋण
कविता
सूर्य बिना ग्रहहरू, चन्द्र बिना तारा
आमा बाउ बिना घर, हुन्न सहारा
बिना पानी बिना रुख सुक्खा बगर
बुढाबुढीबिना सधैँ उराठ घरबार
आमा बुवा थिए र पो जीवन यो पाइयो
उनकै दया मायाले पो ठूला पनि भइयो
बाउ आमा बिना रित्तो सिंगो संसार
आगो बिना चुल्हो जस्तो चिसो घरबार
मैले थाहा पाएदेखि उनले दिए मात्रै
उनीहरू बाचुन्जेल मैले लिएँ मात्रै
त्यो ऋण तिर्ने सुद्धिबुद्धि पहिले आएन
सम्झीसम्झी रुन्छु अहिले चैन भएन
यो मन अब बुझाउँ म कता गएर ?
दिक्क लाग्छ आँसु झार्छु बगर भएर
इस्टमित्र मेरा भन्छु उनले दिई गए
जान्ने बुझ्ने भएको छु उनले बनाइ दिए
अरु पनि माया गर्छन् खल्लो लाग्छ तर
आमाबुवा हुँदा जस्तो हुन्न संसार