लेखनी यो नखोस
कविता (छन्द: स्रग्धरा)
मेरो माटो मलाई, सुन सकल छ यो, छैन घृणा र दोष
माटोमै फल्छ राम्रो, फल सरस बनी, दिन्छ माधुर्य पोस
माटोमा झार्छु मैले, अविरल पसिना, गर्छु सङ्घर्ष घोष
माटोको हीत बक्ने, शुकमुख कविको, लेखनी यो नखोस॥१
माटो नै हो सबैको, पद कद रहने, ठाउँ यो राख होस
माटो भुल्ने पिपासु, अबुझ जन विषे, बुद्धकै हुन्छ रोष
माटोको निम्ति सच्चा, सवल मनुजले, गर्दछन् कर्म ठोस
नेपाली जीत बक्ने, अविजित कविको, लेखनी यो नखोस॥२
पुर्खा हाम्रा लडेथे, विजय-पथ चुनी, दौडिँदै कोस कोस
लम्कीझम्की निकाली, चमचम खुकुरी, उग्रपारेर जोस
यस्तो समृद्ध-पाटो, भन किन यसरी, आज पर्दैछ ओस
पुर्खाको नीत बक्ने, मुखरित कविको, लेखनी यो नखोस॥३
हाम्रो झण्डा गडेको, मणीजडित खलो, हुन्न कैल्यै प्रदोष
मैदानी औ पहाडी, हिमशिखर थलो, साथ दिन्छन् भरोस
पुस्तौँपुस्ता उभेको, अति प्रबल मियो, भन्छ कस्ले ढलोस
कर्खाको गीत बक्ने, सुललित कविको, लेखनी यो नखोस॥४
माटो पुज्ने कला यो, कविसित रहँदा, साधना गर्छ रोज
भाकामा फुल्छ सारा, विनय मनुजको, काव्यपीयूष ओज
आशा गर्दैन जस्ले, अनुचित पदको, स्वार्थको पारितोष
साराको धीत बक्ने, अनुपम कविको लेखनी यो नखोस॥५