परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गाई-जात्रा

गाई–जात्रा विशेष कविता (सवाई छन्द))

झूट-पति बाबा भए गुट-पति आमा !
ठूला काण्ड लुकाएर हाले खोकिलामा
आफन्तमा फिँजाएर पदवीको जामा
केस सबै पचाउँछन् अर्का कंस मामा॥१

 

पक्ष को हो विपक्ष को बुझ्न साह्रै धामा
यौटै थाली दुबै खान्छन् दस्तुरीको तामा
हत्या, हिंसा, बलात्कार पञ्च-खतनामा
पञ्चामृत जस्तो भयो पवित्र सत्तामा॥२

 

देशभन्दा नेता ठूला हाम्रो व्यवस्थामा
भ्राष्टाचार केसै दर्ता हुन्न माथिल्लामा
विश्वास र भर छैन ज्ञान योग्यतामा
पद गरे अंशबण्डा बिलो झैँ कित्तामा॥३

 

झोले सबै हण्डी खाई लठ्ठिए नशामा
राहु–केतु लागेको छ सोझा जनतामा
नीतिगत भ्रष्टाचार छन् हाता हातामा
ठूला ठूला स्रोत पारे आफ्नै ढडियामा॥४

 

उम्दा धेरै महल र जग्गा छन् नातामा
करोडौँको धनराशी विदेशी खातामा
अस्मिता नै हाल्नखोजे विदेशी पोल्टामा
बन्धकमा परेकी छिन् यी नेपाल आमा॥५

 

लोकप्रिय छैनन् नेता कुनै जनतामा
जनवादी भन्छन् बस्छन् घेरा सुरक्षामा
कस्ता कस्ता गोरु पुगे जुधेर सत्तामा
बाह्र-मासे गाई-जात्रा भयो यो थलामा॥६
अन्य आकर्षणहरू

हित कसले चिताए?

हाम्रा सिमानाहरू सर्न थाले

म जन्मेको माटो

निशाको कालो प्रहर

कोरोना र जेष्ठ नागरिक

Facebook Comments