परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोना सङ्क्रमण फैलिन नदिन सरकारद्वारा एक हप्ताका लागि देश पूर्ण रूपमा लकडाउन

अत्यावश्यक अवस्था बाहेक घरबाट निस्कन नपाइने, सवारी साधन सञ्चालनमा रोक

काठमाडौँ, चैत्र १० । सङ्घीय सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राख्दै  भोलि ११ गते मङ्गलबार बिहान ६ बजेदेखि १८ गते सम्म देशमा पूर्ण रूपमा लकडाउन गर्ने आदेश जारी गरेको छ । याे लकडाउनको अवधिमा सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिए लगतै सरकारले लकडाउनको आदेश जारी गररेको हो । सो आदेशको पूर्ण पाठ यसप्रकार छः

१. औषधी उपचार र खाद्यवस्तु खरीद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने,

२. अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन
संचालनमा पूर्ण रोक लगाउने,

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडानहरु बन्द गर्ने,

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति  आवश्यक सेवा बाहेक अन्य कार्यालय संचालनको लागि आवश्यक पर्ने कर्मचारीहरू मात्र उपस्थित हुने व्यवस्था गरी अन्य          कर्मचारीहरुलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने,

५. औषधी तथा स्वास्थ्य उपकरण, खानेपानी, इन्धन उत्पादन गर्ने उद्योगहरू बाहेक निजी अन्य उद्योग कलकारखानाहरूमा काम गर्न श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने,

६. व्यवसायीहरुले औषधि र औषधीजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने। अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने,

७. संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने,

८. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने।

 

निर्णयहरू:

१. संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीज्यको संयोजकत्वमा गठित कार्यदलबाट प्रस्तुत कोरोना भाइरस (कोभिड १९) सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड- २०७६ स्वीकृत गर्ने,

२. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतत्वमा आजैदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बल, नेपालको अस्पतालबाट कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी कार्य नेपाली सेनाका चिकित्सकहरूको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र आवश्यकता अनुसार सरकारी, सामुदायिक र निजी क्षेत्रका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु परिचालन गरी शुरु गर्ने । यसका लागि रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयले आवश्यक पहल गर्ने।

 

Facebook Comments