परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

चुनापमा कांग्रेसको औंलो समाउने, त्यसपछि डुँडुलो निल्ने !

फुटानी

खै के भो के भो । प्रतिगमन सच्चियो भने, हो हो भनियो । ओलीबाट सत्ता खोसेर चिरिप्पझ्याप्प पारियो भने, ठिक गरेछौ भनियो । अहिले देश विकासको योजना छैन, स्वदेशमै रोजगारी सिर्जना गर्ने सोच छैन, सबै काम विग्रदै गएको छ । विग्रेको, भत्किएको, यो सरकारले गर्न नसकेको जति सप्पै काम ‘ओलीले गर्दा’ विग्रिएको भन्ने आरोप लगाउँदै पन्छिदै गर्न थालेका छन् । यो सरकार बनेपछि बोकाले नै दाइँ हुन्छ भनियो । तर, हाम्राहर्ले विनास बाहेक निर्माण जानेको भा’पो !

ओलीले बिगारेको भन्दा पत्यउने कोही नाई । हाम्राहर्ले एउटा कौनै संरचना निर्माण गरेको कहीँ कतै छैन । देउवा, दाहाल, नेपालहर्ले ‘विकासका कौना काम गरे ?’ भनेर कसैले सोधनी भए जवाफ दिने ठाउँ नाई । यस्ताको पछि लागेर हामी हिड्दै छौं ! गफले चिउरा भिज्दैन भन्थे बुढापाकाहरू हो रैछ ।

नमस्कार है काका ! आज दिन सफा छ । किनभने हाम्रो नेपाली कांग्रेसको महाधिवेशन जो छ । यो दिन जस्तै म पनि खुशी छु । हाम्रो देउवा दाइले ‘मलाई नजिताए फेरि प्रतिगमन आम्छ । त्यसै कारण मलाई भोट दिएर सभापतिमा फेरि जिताउनु’ भनेर भासन गरे । दाइले फेरि जित्ने भए ।

हौ भिरघरे ! एउटा कुरो सोधौं है तँलाई । हाम्रा नेताहर्ले ‘प्रतिगमन सच्यायौं, मुलुकलाई प्रतिगमनबाट जोगायौं’ भनेर भासन गर्ने गरेका छन् । त्यो भासनपछि मैले सोच्न थालेको छु– प्रतिगमन भनेको के हो ? ओलीले कुन चाहिँ काम प्रतिगमनकारी गरे ? र हाम्रा नेताहर्ले के सच्याए ? ए.. सण्डे पनि आई पुगे छ त ! मुढा तानेर बस हौ भतिज । अँ.. मेरो प्रश्नको उत्तर दे त भिरघरे भतिज !

मलाई नै थाहा नभाको कुरा सोध्छौ अनि कसरी जवाफ दिनु ! मलाई लाग्छ हाम्रा नेताहर्का लागि ओलीलाई जनताले जिताएर प्रधानमन्त्रीको कुर्सीमा बसाउनु नै प्रतिगमन भयो, गिरिजाले जसरी नै संसद विघटन गरेर चुनापमा जाने निर्णय गर्नु झन प्रतिगमनकारी देखे । त्यसपछि जनतालाई भ्रममा राख्दै, न्यायाधीशहर्लाई समेत विलो दिएर (सेटिङ ठोकेर) परमादेश मार्फत हाम्रो देउवा दाइ प्रधानमन्त्रीको कुर्सीमा बसी सकेपछि प्रतिगमन सार्लाकसुर्लुक सच्चियो । त्यसपछि अहिले हेरन, अग्रगमनको उच्च छलाङ मारेपछि राष्ट्रमा विकासको बाढी आको छ, जतासुकै जनता हर्सोल्लास मनाई रहेका छन । कि कसो सण्डे !

हो नि ! क्या सटारो हाने है भिरघरे दाइले । अस्ति कांग्रेसको महाधिवेशनमा देखेनौ विध्वंसे काका ! चिलिमच्वाँटे र विलखबन्धेको अनुहार ! ओलीका छेउमा विचराहरू  ‘… गने केजाति’ भर बसेका थे । ओलीले पनि दिए दनक । चुनापमा कांग्रेसले औंला समाउन दिएन भने ‘हामी समाप्त हुन्छौं’ भन्ने वाक्य कण्ठ गरेर बसेका रा’न । औंलो खुस्कियो कि चिलिमच्वाँटे र विलखबन्धेको पार्टी समाप्त । औंलो दियो कि डुँडुलो निल्न बानी परेका छन् ।

हाम्रो महाधिवेशनमा पनि ओली नै हिरो देखिए । त्यसपछि जसोतसो राजेन्द्र लिङदेन देखिए । अरु त नुन खाको कुखुराको नियति भोग्दै घोप्टो परेर बसे । मलाई त दया लागेर आयो । फेरि महाधिवेशन स्थलमा ओली आइपुग्दा कांग्रेसीहरू कस्तरी रमाएका ! कांग्रेसका जिल्ला सभापतिहर्को एउटा झुण्ड नै ‘आई लभ यु केपी बा’ भन्दै खुशी ब्यक्त गर्दै थियो । जताततै, जहाँसुकै ‘ओली क्रेज’ देखिन्छ ।

ओलीको प्रशंसा नगर भिरघरे ! मेरो कन्सिरी तातिन्छ र खप्पर फुट्ला जस्तो हुन्छ । कांग्रेसले आफ्नो महाधिवेशनमा बोलाएर ओलीलाई प्रमुख अतिथि बनाउनु गम्भीर गल्ती गरेको छ । सरकारका सहयात्री घघडान अदक्षज्युहरू हुँदाहुदै ओलीलाई बोलाएर ठूलो नेता किन बनाउनु ! म हो भने अन्तिमको कुर्सिमा राखेर बोल्न पनि दिने थिइन ।

हौ काका ! अहिले नेपालको सबभन्दा ठूलो पार्टी कुन हो ? सबभन्दा प्रतिवद्ध कार्यकर्ता भएको पार्टी कुन हो ? नेता मध्ये स्पष्ट वक्ताको हो ? जिब्रो नचपाई, कुरो नघुमाई सोझो हिसबले, भूमिका नबाँधी भन्न सक्छौ ?

हेर भिरघरे तँ कांग्रेस भएर ओलीको प्रशंसा नगर । सप्पै भन्दा ठूलो पार्टी, प्रतिवद्ध कार्यकर्ता, स्पष्ट वक्ता नेता भर केभो ? हाम्रो प्रचण्ड र माधव दुइटैको सप्पै भन्दा ठूलो पार्टी हुन्छ । माधव र हाम्रो कुन ठूलो हुने भन्नेमा अहिले प्रतिस्पर्धा छ ।

भिरघरे दाइको कांग्रेस र हाम्रो एमालेलाई कति कति लम्बरमा राखेका छौ विध्वंसे काका ! तिम्रो पार्टी र माधवको पार्टी कांग्रेसको औंला नसमाई हिड्दा कति ठूलो बन्ला !

कांग्रेस तेस्रो बन्छ । तिमार्को उताबाट कांग्रेसले भ्याकुम क्लिनर लाएपछि माधवले लाल्टिन बालेर खोज्दा पनि नभेटिने बन्छ । कांग्रेसले औंला समाउन दिएन भने त्यो कांग्रेस नै समाप्त हुन्छ । हाम्रो महान राष्ट्रनायक काम्रेड प्रचण्डले भनी सकेका छन् । कि कसो भिरघरे !

सपनामा घिउ र भात खाँदा अघाइन्छ र काका ! तिमार्को पार्टीलाई हात समाएर ताते गराउने ठेक्का कांग्रेसले लेको छैन । हाम्रो कांग्रेस एक्लै एमालेसँग लड्छ । तिमार्को जिरो सिट आउने बेलामा हाम्रो कांग्रेस एक्लै नलडेर भद्रो हेरेर बस्छ ?

ठिक हो भिरघरे दाइ ! एमाले सप्पै भन्दा ठूलो दल बन्छ, दोस्रो कांग्रेस नै हुन्छ । यी साना दलहरू ‘काँहा जान्छस् हराउने, विलाउनेको फेद’ । काका ! अब तिमारू कांग्रेसले हातको औंला कतिखेर समाउन दिन्छ भनेर हेरी बस । दिएन भने भित्तामा पुरपुरो ठोक ।

नाप्पेको कुरो नगर सण्डे ! जनता हाम्रो पक्षमा नभए पनि कांग्रेस र अदालत हाम्रो पक्षमा छ । कांग्रेससँगको सहयात्रा अटुट रहन्छ ।

काका ! मैले अघिनै भने आफ्नो झोलितुम्बा बोकेर बाटो तताउदा नै तिमारुलाई राम्रो हुन्छ । माधवसँग पार्टी एउटै बनाउने अनि अँगालो मारेर वलिन्द्र धारा आँशु झार्दै रुने । काका हामीलाई ढिला भयो । हामी जान्छौ ।

जै नेपाल !

Facebook Comments