परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेकपामा अन्तिम प्रहार !

फुटानी

काठमाडौंमा ह्वात्तै जाडो बढेको छ । यो जाडो संगै राजनीतिको तापक्रम पनि तन्किएर छिन्न लागेको खबर छ। खास गरी नेकपा भित्रको किचलो उम्लिएर कतिखेर पोखिने हो त्यसको नतिजा सुन्न नेपाली जनता पर्खिएर बसेका छन् । हुतिहाराहरुको जमात तीन वर्ष अघिदेखि ताहुरमाहुरमा मात्र रमाई रहेको छ।

के सोचेर बसेका छौ ए बुढा ! अब नसोचे हुन्छ । तिम्रा पार्टी साटी सकिए । अब अन्त्येष्टी मात्र बाँकी छ । मलामी बोलाए अरे !

के भन्छे यो झुम्री ! अब हाम्रो प्रचण्ड काम्रेडले माधव नेपाललाई साथ लिएर सत्ता आरोहण गर्दै छन् । अनि त्यसपछि हेरौंन को को कहाँ कहाँ पुग्छन् ।

हौ काका – काकी ! नमस्कार है । आज त पारिलो घाम लागेको छ । मेरो मन पनि चङ्गा छ ।

हैन के’भर मन चङ्गा भो हौ भिरघरे !

थाहा पाए नौ ! देउवा प्रधानमन्त्री बन्ने भए नि !

वाइयात कुरो नगर भिरघरे । देउवा होइन प्रचण्ड बन्ने भए प्रधानमन्त्री । माधव नेपाल र रामचन्द्र पौडेलको दह्रो साथ पाएर हाम्रो काम्रेडले सत्तातिरको छलाङ मारी सके ।

हाम्रो नेपाली काँग्रेसको रामचन्द्रलाई बोलाए पछि नै प्रचण्ड माधवको हुती थाहा भै गयो नि ! त्यो पनि अख्तियारले भविष्यमा चिरिप्प झ्याप पार्छ भनेर अरे! नेपाली काँग्रेसको सबैभन्दा दह्रो नेता छानेर वैतणर्ी तर्ने भए ।

राजनीति हो, भिरघरे राजनीति ! ओलीको दास हुनु भन्दा त रामचन्द्रको जजमान हुनु निको भन्ने ठाने छन् । त्यो पनि राम्रै हो ।

ठिक हो काका ! सकिने बेलामा ‘कहाँ जान्छस् हराउने विलाउनेको फेद! भने जस्तै हुँदैछ । हाम्रो काँग्रेसलाई त राम्रै हो । नेकपा सकिए हाम्रो एकलौटी ।
नेकपा सकिदैन भतिज ! सकिए ओली गुट सकिन्छ । केही समयपछि हाम्रो प्रचण्डले यो राष्ट्रलाई नेकपामय बनाउने छन् । थोरै त्याग र सानो बलिदानले यो सत्ता प्राप्त भएको होइन । हाम्रो प्रचण्ड अब १५ वर्ष निरन्तर प्रधानमन्त्री र नेकपाको अध्यक्ष बनेर हाँक्छन् ।

यस्तो कल्पना नगर काका । नेपाली काँग्रेस डराएकै ओलीसंग मात्र हो । प्रचण्ड माधवसंग होइन । हाम्रो देउवा र ओली मिले मात्र राजनैतिक परिवेश सँङ्लो हुन्छ। प्रचण्ड-माधव, रामचन्द्र मिलेर हुँदैन। साँच्चै भन्ने हो भने यिनारुसंग नेता त होलान कार्यकर्ता छैनन्।

कस्तो कार्यकर्ता छैनन् भन्छस् । अनि हामी को हो त !

भो काका ! कुरो नगर ! यो गाउँ भरिमा प्रचण्डको कार्यकर्ता तिमी एक जना ! माधव नेपालका छ जना । अरु सप्पै ओली र देउवाका कार्यकर्ता । बरु हाम्रो यही डोल्पा जिल्लाकै हकमा भन्नु पर्दा त वामदेवका कार्यकर्ता बढी छन् ।

आ… भिरघरे । यी कार्यकर्ता पनि अनौठा रान । पैला सप्पै माओवादी थिए । पछि त ओली र देउवा भए छन् । हाम्रो जल्दो बल्दो कालमा भएको भए यिनार्लाई आलोक प्रवृति भनेर घोची घोची भौतिक रुपले…!

हो काका हो । त्यसबेलाको व्यक्ति हत्याले अहिले पनि तिम्रा नेताहर्लाई लखेटी राको छ । कुनबेला त्यो काँचो वायु जागेर तिमार्लाई सक्छ । अहिले नै अख्तियारलाई रोक्न रामचन्द्रको सरणमा …!

लु यो चाहिँ कुरो नगर भिरघरे । हामीले गणतन्त्र ल्याकोले अहिले तिमार्को र ओलीको चुरीफुरी खपिनसक्नु भाको छ । आ छोड यो कुरा । बरु भन अब ओलीले अध्यादेश कहिले फिर्ता लिने अरे।

संवैधानिक निकायहर्मा ओली र देउवाले भनेका व्यक्ति नियुक्ति भएपछि फिर्ता हुन्छ । संवैधानिक निकायमा प्रधानमन्त्रीले पदपूर्ति गर्नु पर्‍यो परिषद्को बैठक बसौं भन्दा बैठक बस्नै नदिने हुन्छ ? बैठक बस्नु आफ्ना कुरा राख्नु । त्यो पनि गर्न नसक्ने ?

ओलीले पेलेर आफ्नो मान्छे राख्ने । हाम्रो प्रचण्ड काम्रेडले भनेको चैं कोही नहुने । अनि बैठक किन बस्नु ? भिरघरे तँ आफै भन ।

काका तिमी नरिसाउ । अख्तियारमा प्रेम राई जस्तो स्वच्छ छवि भएको मान्छे ल्याउँ भन्दा सिस्नोले हाने जस्तो गरी प्रचण्ड किन उफ्रनु ! दीप बस्नेतलाई थुन्दा माधव किन तर्सनु ! क्यान्टेनमेन्टको कुरा गर्दा प्रचण्ड किन खुम्चिनु !

त्यस्तो कुरो नगर भिरघरे ! त्यस्तो खोज्ने हो भने ओलीको त कति छ कति !

ओलीको पत्रपत्रिकामा छ । प्रचण्डहर्को मुद्दा चलेर अख्तियार र अदालततिर छ । सभामुख अग्नी सापकोटाको मुद्दाले फणां उठाई सकेको छ । अख्तियार र अदालतलले निणर्य गरी सकेपछि त्यसबेला कतिपयले देख्छन् चितवनको तोरीको फुल ।

हाम्रो पनि पालो आउँछन् । त्यसबेला ओली देउवा चंै कहाँ जान्छन् ?

ओली देउवा विरुद्ध माओवादीले मुद्दा दर्ता गरेको छ र । तीन पटक त माओवादी कै सरकार थियो त त्यसबेला किन दर्ता नगरेको !

त्यसबेला गल्ती भकै हो । त्यतिखेर नै ओली देउवालाई २०।२० वर्ष जेल जाक्नु पर्ने थियो । अहिले हाम्रो छालामा रजाइँ गरीराका छन् । कत्लेयाम गरेको भा पनि टन्टै साफ हुने थियो ।

यो मुलुकमा माओवादी मात्र भएको हुन्थ्यो भने राष्ट्र नै साफ हुने थियो । हैन त काका !

हेर भिरघरे तँ जतिसुकै कुरो गर अब नेकपाको अध्यक्ष र मुलुकको प्रधानमन्त्री भनेको एक मात्र प्रचण्ड हुन । अनि ५।७ महिनापछि माधव नेपालहर्लाई पनि चिलिमच्वाँट बनाएपछि शासन एकलौटी हाम्रो हुन्छ । अब अन्तिम प्रहार बाँकी छ ।

लोभी बाहुनले सातुको घैंटो फुटाए पछि अनि सप्पै योजना पुरा हुन्छन् । काका अरु त त्यस्तै हो प्रचण्डले एउटा काम चैं सम्पन्न गरेकै हो । त्यो भनेको एमाले समाप्त पर्ने काम ! लु काका-काकी । लामै गफ गरियो । अब म घरतिर लागें ।

जै नेपाल ।

Facebook Comments