परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हल्ट प्राइजको अनक्याम्पस प्रतिस्पर्धा

काठमाडौं । यस वर्ष हल्ट प्राइजको अनक्याम्पस कार्यक्रम नेपाल इन्जिनियरिङ कलेज (नेक) मा हुने भएको छ । पोखरा विश्वविधालयभरका विद्यार्थीहरूले  प्रतिस्पर्धा गर्न पाउने गरि कार्यक्रम हुन लागेको हो । प्रत्येक वर्ष  हल्ट प्राइज फाउन्डेसन र संयुक्त राष्ट्रसंघको सहकार्यमा विश्वभर हल्ट प्राइज आयोजना हुने गरेको छ ।

आगामी डिसेम्बरमा आयोजना हुन लागेको यस कार्यक्रमको तयारी अगाडि बढिसकेको हल्ट प्राइज नेकका क्याम्पस निर्देशक निरज बिकेले जानकारी दिनुभयो ।

खाध सुरक्षा, शुद्ध खानेपानी, शिक्षा, उर्जाको क्षेत्रमा रहेका विश्वव्यापी साझा सामाजिक समस्याका चुस्त समाधान खोज्दै आएको हल्ट प्राइज फाउण्डेसनले यस वर्षका लागि फुड फर गुडः टान्सफरिंग फुड इन्टु भेइकल फर चेन्ज शिर्षकको चुनौती छनोट गरेको छ ।

विद्यार्थीहरूले तीनदेखि चार जनाको समूह बनाई प्रतिस्पर्धामा भाग लिन पाउने र यस चुनौतीमा उत्कृष्ट सामाजिक व्यावसायिक योजना प्रस्तुत गर्ने विद्यार्थी समूह अघिल्लो चरणको क्षेत्रीय प्रतिस्पर्धाका लागि छनोट हुने छन् । एक वर्षसम्म चल्ने यस कार्यक्रमको ग्लोबल विजेताले दश लाख अमेरिकी डलर पुरस्कार स्वरुप पाउने छन् ।

सन् २००९ मा शुरु भएको र पहिलो वर्षमा नै पच्चीस देशका एक हजार विद्यार्थी सहभागी हल्ट प्राइजको प्रतिस्पर्धामा अहिले विश्वका एक सय बीस देशका दुई हजारभन्दा बढी विश्वविधालयका विद्यार्थीहरूले भाग लिने गरेका छन् । विद्यार्थीहरूको नोबेल पुरस्कार भनेर चिनिने हल्ट प्राइजले विद्यार्थीहरूलाई सामाजिक उद्यमी बन्न उत्प्रेरित गर्ने गरेको छ ।

कोरना महामारीको विषम परिस्थिति कायमै रहेको खण्डमा हल्ट प्राइजका सबै कार्यक्रम वैकल्पिक माध्यम (अनलाइन) मार्फत् सञ्चालन गर्ने योजना रहेको हल्ट प्राइज नेपाल इन्जिनियरिंग कलेजका सञ्चार प्रबन्धक रोबर्टराज उपाध्यायले जानकारी दिनुभयो ।

Facebook Comments