परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

रानीपोखरी मन्दिरको गजुर

काठमाडौं । रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको शीर्षमा गजुर प्रतिस्थापन गरिएको छ । प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण भएको मन्दिरमा बिधिपूर्वक पूजाआजा गरी गजुर स्थापना गरिएको हो ।

मन्दिरको शीर्षमा स्थापित मुख्य गजुर १२३.७ केजी तामा प्रयोग गरी निर्माण गरिएकोे हो । जसमा करिब २५ तोला सुनको जलप लगाइएको छ । उक्त मुख्य गजुरको उँचाइ ६ फिट १० इञ्च छ ।

त्यसैगरी मन्दिरको चारै दिशामा रहेका चारवटा मण्डप शैलीका बुर्जाको शीर्षमा पनि गजुर राखिएको छ । ती साना प्रत्येक गजुरको तौल ३.३३ केजी रहेको छ जसमा १.९३ तोलाका दरले सुनको जलप लगाइएको छ ।

गजुरको निर्माण ललितपुर महानगरपालिका–१२ का कालीगढ विनोद शाक्यको नेतृत्वमा भएको हो । २० दिन लगाएर निर्माण गरिएको गजुरमा सुनका जलप लगाउन पाँच दिन लागेको थियो ।

गजुर स्थापनासँगै बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण लगभग सम्पन्न भएको छ । त्यसैगरी, पोखरीको माथिल्लो पर्खाल वरिपरि सौन्दर्यकरण तथा बत्ति राख्ने काम चलिरहेको छ ।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेको रानीपोखरीमा केही दिनअघि पानी भरिएको थियो । शिखर शैलीको मन्दिरको पुनर्निर्माण भएपछि र पोखरीमा पानी भरिएपछि रानीपोखरी क्षेत्र आकर्षक देखिएको छ ।

लकडाउनका कारण केही महिना पुनर्निर्माणका काम रोकिएको थियो । पछि स्वास्थ्य मापदण्ड अपनाएर काम पुनः सुरु गरिएको हो ।
गजुर स्थापना कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा.चन्द्रबहादुर श्रेष्ठ, सहसचिव भरत प्रसाद अर्याल, सिडिई धुव्र प्रसाद पौडेल उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी, पुरातत्व विभाग  एवं निर्माण कम्पनीका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।

Facebook Comments