परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सिन्धुपाल्चोकः प्रतिकूल मौसमका कारण बाढी पीडितको उद्धारमा कठिनाई

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न तीन ठाउँमा आज गएको बाढी र पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने दुई जनाको मृत्यु भएको छ । सात जना घाईते मध्ये चार जनालाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको छ । आज दिनभरी नै प्रतिकुल मौसमका कारण घाईतेहरुको उद्धार र वेपत्ताहरुको खोजीमा समस्या भएको छ ।

बाढी र पहिरोको कारण विभिन्न ठाउँमा गरी ३६ वटा घर बगेका छन् । पहिरोले खागदलको पक्की पुल बगाउनुका साथै अरनिको राजमार्ग पनि भत्काएकोले जुरे पहिरो नजिकबाट नै अरनिको राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण विस्थापित भएकाहरु अहिले डर र त्रासका साथै खान र बस्नका लागि समस्यामा बेहोर्न बाध्य छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले पीडित ३० परिवारलाई राहत सामग्री उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको छ ।

मध्यरातमा अरनिको राजमार्गको जम्बुमा आएको बाढीले बेपत्ता बनाएकाहरुको संख्या १८ पुगेको छ । बेपत्ताहरुमा भीमबहादुर वाइवा (बाह्रविसे ५), चीनमाया वाइवा (बाह्रविसे ५), लिला माया वाइवा (बाह्रविसे ५), पासाङ डोल्मा वाइवा (बाह्रविसे ५), निमा डोल्मा वाइवा (बाह्रविसे ५), लक्ष्मण वाइवा(बाह्रविसे ५), सुनमाला वाइवा(बाह्रविसे ५), जनक बहादुर थिङ(बाह्रविसे ५), सविना तामाङ(बाह्रविसे ५), आकाश तामाङ(बाह्रविसे ५), हिेमेश शर्मा (मध्यभोटेकोशी हाइड्रोपावरका सेक्रेटरी), आकाश केसी (जाइकाका इन्जिनियर), तोकबहादुर तामाङ(बाह्रविसे ५), सलिनी तामाङ(बाह्रविसे ५), सुबेश तामाङ(बाह्रविसे ५) र युक्तबहादुर तामाङ(बाह्रविसे ५) रहनु भएको छ ।

बाढीले वितण्ड मच्चाएपछि विहानै देखि उद्धारका लागि प्रयास भएको थियो । तर प्रतिकुल मौसमका कारण हेलिकोप्टर जान सकेको थिएन भने बाढीले बगाएका कारण सडक मार्ग अबरुद्ध छ । दिउँसो २ बजेतिर घटनास्थल पुग्नुभएका सभामुख अग्नि प्रसाद सापकोटाले हरहालतमा घाईतेका उपचार र वेपत्ताको खोजि गरिने बताउनुभयो ।

बाढीका कारण विस्थापित भएकाहरुलाई ब्यवस्थापन तथा खोजी, उद्धार, राहत लगायतका कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, रेडक्रस तथा स्थानीयबासी सक्रिय छन् ।

यसै गरी बुधबार राति अविरल बर्षासँगै आएको बाढीले निर्माणाधीन एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ । बाह्रविसे नगरपालिकास्थित जम्बुमा आएको बाढी आयोजनामा पसेपछि त्यहाँका उपकरणहरु बगाएको हो ।

आयोजनाको जम्बुमा रहेका छवटा गोदाम पुरिएका छन् । गोदाममा हाइड्रोमेकानिकलका सामग्री रहेको आयोजना प्रमुख सुनिल लामाले जानकारी दिनुभयो । अन्य दुइटा गोदाम पूरै बगाएको छ । गोदाममा पावर हाउसमा रहने टर्वाइन्, जेनेरेटर लगायत मेशिनरी उपकरणहरु राखिएका थिए । के कति क्षति भयो भन्ने एकिन तयार गर्न सकिएको छैन ।

आयोजना प्रमुख लामाका अनुसार ती सामाग्री केही पुरिएका र केही बाढीसँगै भोटेकोसीमा बगेका छन् । गोदाममा पावर हाउसमा रहने उपकरणका ९० प्रतिशत सामान रहेको जानकारी आयोजना प्रमुख लामाले दिनुभयो । चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रोले हाइड्रो मेकानिकलको काम गरिरहेको थियो । क्षतिको एकिन बिबरण आउन अझै केही दिन लाग्ने आयोजनाले जनाएको छ ।

आयोजनाका सेक्रेटरी हिमेश शर्मा पहिरोमा बेपत्ता हुनुभएको छ । ‘अर्का एक चिनियाँ प्राविधिक पनि वेपत्ता रहेको र उहाँको अबस्थाबारे अझै पत्तो नलागेको कुरा पनि आयोजना प्रमुख लामाले जानकारी दिनुभयो । पावर हाउसको जेनेरेटर बन्द गर्न गएका बेला आएको बाढीले उहाँलाई बगाएको अनुमान गरिएको छ ।

Facebook Comments