परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

तेह्रथुमको पत्रकारिताका गुरु भगवानमान श्रेष्ठ

श्रद्धाञ्जली स्तम्भ

सोकेसभित्र सजिएका पुस्तक र कापीका साथमा केही किराना सामान । शुक्रवारे हटियाका दिन मात्र वाहिर निकालिने बाँकी दिन सँधै सोकेसमाराखिएका ती सामानका विक्रेता मैले पहिला देखेको भगवानमान श्रेष्ठ । उहाँसँगको भेट पनि वडो गजवको थियो । २०३३-३४ सालतिरको कुरा हो हामीतेह्रथुमको साब्लास्थित तात्कालिन नारायण निमावी हालको नारायणमाविमा पढ्थ्यौँ । खेतको पानीले सबै बाटो हिलो बनाएको थियो । हामीलाईपुर्वब्यवसायिक विषय पढाउने सर स्व. डम्वर फुदोङ्ले विहान स्कुल जाँदा सबैले एक एक ढुंगा राख्ने र बेलुका फर्कदा पनि त्यसरी नै एक एक ढुंगाराख्ने भन्नुभयो । करिव सात दिनमा एक सय मिटर बाटोमा  हामीले सोलिङ् गरिसक्यौँ । बाटो हिलोमुक्त भयो । जेठ महिनाको अन्त्यतिरको त्यो कामभदौको १/२ गते रेडियो नेपालको जिल्ला समाचारमा विद्यार्थीदवारा एक सय मिटर घोडेटो बाटो निर्माण भन्ने शिर्षकमा समाचार प्रसारण भयो ।

भोलिपल्ट स्कुलमा हाम्रो त्यो समाचारको विषयले चर्चा मात्र पाएन हेडसर इन्द्र तुम्वाहाम्फेले हामी सबैलाई धन्यवाद पनि दिनुभयो । हामीलाई सबैलेतिमीहरु त कामका बारेमा रेडियोमा फुकाउने मान्छे भनेर चर्चा गरे । तर हामीलाई थाहा थिएन त्यो समाचार रेडियोले कसरी थाहा पायो र प्रसारणगर्‍यो ।

पाँचौ घण्टीमा डम्बर सरको कक्षा थियो । हामीले यो समाचार कसरी रेडियोमा बज्यो भनेर सरलाई सोध्यौँ । सर म्याङलुङ बजार जानुभएछ कापीकिताब बेच्ने भगवान श्रेष्ठ (जसलाई म पछि दाइ भनेर सम्वोधन गर्दथेँ) सँग कुरा भएछ । सरले विद्यार्थीले एक सय मिटर बाटोमा ढुंगा बिच्छ्याएकोकुरा सुनाउनुभएछ । उहाँ त राष्ट्रिय समाचार समितिको तेह्रथुम प्रतिनिधि पनि हुनुहुँदो रहेछ । उहाँले हामीले गरेको कामलाई समाचार बनाएरहुलाकबाट पठाउनु भएछ । राससले प्रकाशन गरेको त्यही समाचारलाई रेडियो नेपालले प्रसारण गरेको रहेछ । सरले भोलि भदौ ४ गते बालदिवसमा मतिमीहरुलाई  त्यो मानिस चिनाउँछु भन्नुभयो । बालदिवसका सबै कार्यक्रम सके पछि डम्बर सरले भगवान मान दाइकोमा ल्याएर चिनाउनुभयो । उहाँलेपनि हामी सबैलाई स्यावासी दिनुभयो ।

तर यो मेरो लागि एक सामान्य दिन मात्र रहेन । भगवानमान दाइको सादगीपन र सरल स्वभाव अनि घर गाउँमा भएका कामलाई देशभरी सुनाउन सक्नेत्यो कर्म दुबैप्रति म नतमस्तक भएँ । नतमस्तक मात्र भइनँ मनमनै म पनि पत्रकार बन्छु भन्ने अठोट गरेँ । नभन्दै मैले जीवनका बहुमुल्य वर्षहरूपत्रकारितामै बिताएँ, बिताइरहेकै छु ।

अब हरेक कार्यक्रममा उहाँलाई नियाल्न थालेँ । उहाँ त सदरमुकाममा हुने अधिकांश कार्यक्रमको संसञ्चालन गर्नुहुन्थ्यो। उहाँ नभए रत्न निङलेखुलेकार्यक्रम संसञ्चालन गर्नुहुन्थ्यो ।

त्यसबेला हरेक वर्ष राजाले एक विकास क्षेत्रको भ्रमण गर्ने कार्यक्रम हुँदोरहेछ । त्यही अनुसार हरेक पाँच वर्षमा पूर्वाञ्चल विकास क्षेत्रको भ्रमण गर्नेपालो पर्दोरहेछ । त्यहिबेला पूर्वाञ्चलका सबै जिल्ला भ्रमण गर्ने क्रममा तेह्रथुम आएका बेला भगवानमान दाइलाई अग्रपंतीमा देख्दा पत्रकारिता क्षेत्रकानिकै ठूलो मानिस जस्तो लाग्न थाल्यो । २०३६ -०३८ साल तिरको कुरा हो,  प्रधानमन्त्री सूर्यबहादुर थापा हुनुहुन्थ्यो, हेलिकप्टरबाट तेह्रथुमआउनुभएको थियो । सिंहवाहिनी भगवतीको दर्शन गरेर फर्कने क्रममा हामी बाटामा फूलमाला दिन लाइनमा बसेका थियैँ । म भगवानमान दाइलाईपछ्याउदै हिँड्दै थिएँ । मञ्चमा पुगे पछि प्रहरीले सबैलाई हटाउने भयो । म पछि हट्दै थिएँ यहाँ राससको प्रतिनिधि को छ भनेर प्रधानमन्त्रिले सोधेकोसुनेँ । अनि भगवानमान दाइ भनेर कसैले बोलायो र उहाँ त्यहाँ जानुभयो । लाग्यो, यो पत्रकार भनेको त प्रधानमन्त्री भन्दा पनि ठुलो रहेछ ।

म एसएलसी पास गरे पछि काठमाडौँमा आरआर क्याम्पसमा पढ्न आएँ । काठमाडौँमै पत्रकारिताको कखरा सिकेँ र काम थाले । पछि २०५१ कोनिर्वाचनमा रिपोर्टिङका लागि तेह्रथुम आएँ र यतैबाट पत्रकारिता गर्ने निर्णय गरेँ । २०५३ सालतिरको कुरा हो, जिल्लामा पत्रकारको संख्या बढाऔ, त्यसो भयो भने काम गर्न पनि सहज हुन्छ भन्ने सोचका साथ सञ्चार विकास समुह गठन गरी त्यसको अध्यक्ष भगवानमान दाइ स्वयं बसेर सात दिनेतालिम चलाउने निर्णय गर्नुभयो । जनही एक सय रुपैया शुल्क लिएर तालिम चलाउने भनेको कोही भएन कसो गर्ने होला भनेर मसँग भन्नुभयो । अनिमलगायत नरेश ढुंगाना टंक ढुंगाना, अन्जु श्रेष्ठ, सविता अधिकारीलगायत केही सदस्य भयौँ । अनि शुरु भयो तेह्रथुमको पहिलो पत्रकारिता तालिम ।जुन तालिम गोकुल पोख्रेल र चिरञ्जिवी खनाल सरहरुले सहजिकरण गर्नुभएको थियो । उक्त तालिममा तेह्रथुम, धनकुटा, संखुवासभा र भोजपुरकासाथीहरुको सहभागिता थियो ।

दुखान्त संयोग भनौँ, उनै गोकुल सर र भगवानमान दाइ केही दिनको फरक पारेर हालसालै परलोक हुनुभयो ।

जिल्लामा रहँदा भगवानमान दाइले सन्दर्भ साप्ताहिक प्रकाशन गर्नुभयो । पछि सुचना विभागमा नाम जुधेकाले नौलो सन्दर्भ नाममा साप्ताहिक पत्रिकाप्रकाशन गर्नुभयो । अलि पछि हामीले तेह्रथुम साप्ताहिक प्रकाशन गर्ने गरेका थियौ । हामीसँग एउटा टिम थियो पत्रिकामा काम गर्ने तर उहाँ प्रायएक्लै पत्रिकमा समाचार लेख्ने सम्पादन गर्ने काम गर्नुहुन्थ्यो । यसले उहाँको पत्रकारिताको लगन पनि देखाउँछ । पछिका केही समय हालका राससकाकार्यकारी निर्देशक सिद्धराज राइलाई पनि उहाँले लगेर पत्रकारिता सिकाउनु भएको हो ।

यसरी हेर्दा तेह्रथुममा पहिलो पत्रकारको रुपमा मात्र उहाँ रहनुभएन जिल्लामा पत्रकारहरुको गुरु समेत बन्नुभयो । उहाँको यही सकारात्मक सोचकाकारण तेह्रथुममा पत्रकारिताको जग बस्यो । पत्रकारको संख्या बढ्यो । २०५३ सालमा सञ्चार विकास समुह गठन गरेर तालिम नचलाउनु भएको भएपत्रकारिताको यो जग बस्न धेरै समय बित्ने थियो ।

अनि २०६० सालमा पत्रकार महासंघको शाखा स्थापना गर्यौ । त्यो शाखाको संस्थापक अध्यक्षको रुपमा मैले काम गरिरहँदा उहाको यो पेशाको दिगोविकास र पत्रकारको सुरक्षाका लागि दिनु भएको सल्लाह र सुझाब आज पनि ताजै र सान्दर्भिक छन् ।

सायद अहिले नेपाल पत्रकार महासंघको ९० को हाराहारी पत्रकार सदस्य कठिन हुने थियो भने जिल्लामा केही युटुव पत्रकारिता र चार सामुदायिक एकब्यावसायिक रेडियोको जन्म पनि हुनसक्ने सम्भावना कम थियो । प्रकाशन हुँदै बन्द हुने गरेका साप्ताहिक तथा दैनिक पत्रिकाको पनि संख्या राख्नसकिदैन थियो ।

अहिलेको राजनीतिक खिचातानीभन्दा जहिलै पनि माथि रहेर काम गर्ने क्षमता भएका उहाँ कहिलै कुनै पार्टी विशेषको हुन चाहनुभएन । तर सबैलेउहाँलाई आफ्नो ठाने । यो उहाँले जीवनमा कमाएको अमूल्य पहिचान हो भन्ने लाग्छ ।

२०५९ साल मंसिरमा म्याङलुङ बजार आगलागीमा परेर सर्वश्व खरानी भए पछि उहाँले  प्रकाशन गर्दै आउनुभएको नौलो सन्दर्भ साप्ताहिक पुन: प्रकाशनहुन सकेन । उहाँ सँधैभरी भन्ने गर्नुहुन्थ्यो, पत्रकारिता कसैको गुनगान गाएर मात्र गर्नुपर्छ भन्ने सोच गलत छ । यसो नगरी सहीलाई सही र गलतलाईगलत भन्ने आँटसहितको पत्रकारिता चल्छ र टिकाउन सकिन्छ भन्ने उद्देश्यले आफुले नौलो सन्दर्भ साप्ताहिक चलाएको उहाँ बताउनुहुन्थ्यो ।

गाउँबाट आएका समाचार तयार पारेर हुलाकमा हालेको महिनौँ पछि प्रकाशन हुने र त्यसको १५ दिन पछि जिल्ला सदरमुकाममा आउँदा पनि त्यसलाईताजा समाचार भनेर पढ्ने समयको पत्रकारितादेखि फ्याक्स हुँदै इमेल मार्फत गरिने पत्रकारितामा समेत आफूलाई अपडेट गर्दै पत्रकारितामा सक्रियरहनुभएका भगवानमान दाइ साँच्चै तेह्रथुमको पत्रकारिताका एक खम्बा रहनुभएको थियो ।

भगवान दाइ तेह्रथुमे पत्रकारिताको जिवित संग्राहलय हुनुहुन्थ्यो । तर अब भगवान दाई हामी माझ रहनुभएन । हाम्रा भगवान दाइ हामीलाई छोडेरभगवानकैमा जानु भयो । कुनै बेला कार्यक्रममा ढिला पुगे पत्रकार आएको छैन भनेर कार्यक्रम रोकिनेदेखि अहिले कतिपय कार्यक्रममा यो हाम्रो पार्टीकोहोइन वा हाम्रो विरोधमा समाचार लेख्छ यसलाई प्रवेश नदिनु भन्नेसम्मको पत्रकारिता देख्नु भोग्नुभएका भगवानमान दाइको हँसिलो मुहार र अनि सँधैजिम्मेवार र लगनशील परिचय अब इतिहास बनेको छ । तेह्रथुमको पत्रकारिता जति अघि बढ्छ, भगवानमान दाइले बसाएको जगमै टेकेर अघि बढ्नेछ। दाइले तेह्थुमको पत्रकारितामा पुर्‍याएको योगदान कहिल्यै र कसैले भुल्न सक्ने छैन । उहाँ बित्नु भएको आज सोह्रौ दिन, उहाँप्रति हार्दिक श्रद्धासुमन!

Facebook Comments