परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपाल नर्सिङ परिषदद्वारा आफूमाथि लगाइएका लाञ्छनाको कडा निन्दा

काठमाडौं । नेपाल नर्सिङ परिषद्का रजिष्ट्रार विन्दा घिमिरेले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा आएका समाचार तथा टिप्पणीहरुप्रति एक विज्ञप्ति प्रकाशित गरी खण्डन गर्नु भएको छ र यस्ता भ्रमपूर्ण हल्लका पछाडि नलाग्न अपिल पनि गर्नु भएको छ। नर्सिङ परिषद्का तर्फबाट रजिष्ट्रार घिमिरेले आज जारी गर्नुभएको विज्ञप्तिको पूर्ण पाठ :

नेपाल नर्सिङ्ग परिषद्को बिषयमा कतिपय सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आएका समाचार/ टिप्पणीहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल नर्सिङ्ग परिषद्ले सञ्चालन गर्ने नर्सिङ्ग लाइसेन्स परिक्षाको विषयलाई लिएर यस परिषद्का सदस्यले पैसा वार्गेनिङ गरेको समाचार आएका छन् । यो सम्बन्धमा परिषद्ले सम्बन्धित सदस्यसँग सोधपुछ गरेको छ । उहाँले लिखित रुपमा यो बिषयमा परिषद्लाई जानकारी गराउनु भएको छ र आफ्नो ‘फेक’ आइडी बनाएर अपराधिक समूहले सो कार्य गरेको परिषद्लाई जानकारी गराउनु भएको छ । साथै ‘फेक’ आइडी बनाउने समूहको पहिचान गरेर कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा उजुरी समेत दिइसकेको बताउनुभएको छ । साथै, पत्रकार सम्मेलनमार्फत पनि आफ्ना भनाई सार्वजानिक गरिसक्नुभएको छ । यसको वास्तविकताबारे परिषद्ले पनि आवश्यक छानविन गरिरहेको छ ।

नेपाल नर्सिङ्ग परिषद्ले सञ्चालन गर्ने परिक्षा पूर्णत वैज्ञानिक निष्पक्ष र पारदर्शी हुने गर्दछ । परिषद् अन्तरगत एक परिक्षा समिति रहने व्यबस्था छ । यसका सबै प्रश्नहरु बस्तुगत हुन्छन् । उत्तरपुस्तिका ‘कोडिङ्ग’ प्रणालीबाट तय गरिन्छ । परिक्षा केन्द्रबाट खामबन्दी भएर आएका उत्तरपुस्तिका परिक्षा समितिका सबै सदस्यहरुको रोहबरमा खोलिन्छ र जाँचका लागि स्क्यानिङ्गमा हालिन्छ । स्कानिङ्गमा हाल्ने वित्तिकै मेसिनले नै स्वत यसको रिजल्ट दिन्छ । यसरी निस्कने रिजल्टको सबै प्रतिमा समितिका सबै सदस्यहरुले हस्ताक्षर गरेपछि मात्र त्यो रिजल्ट सार्वजानिक गरिन्छ । तसर्थ उत्तर पुस्तिका जाँचमा कसैको प्रभाव रहने प्रसङ्ग नै रहदैंन । यसर्थ,प्रभाव र पहुँचका आधारमा नतिजा प्रभावित नहुने हुँदा यस्ता भ्रमपूर्ण हल्लाका पछाडि नलाग्न हामी सम्बन्धित सबैलाई अपिल गर्दर्छौ ।

राज्यको एउटा नियमनकारी निकायकारुपमा आफ्नो स्वच्छ छवी र प्रतिष्ठा कायम गर्दै आएको यस संस्थामाथि लगाइएको लान्छानाको घोर भत्सर्ना गर्दछौं । परिषद् र परिषद्मा आबद्धको नाम लिएर दलाली गर्दै बदनाम गराउने काममा संग्लनलाई छानबिनको दायरामा ल्याएर कडा कानुनी कारबाही गर्न नेपाल नर्सिङ्ग परिषद् राज्यका सम्बन्धित निकायसमक्ष माग समेत गर्दछ ।

Facebook Comments