परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सामाजिक उत्तरदायित्वका लागि चिकित्सक नेपालको कोरोना महामारीबारे दृष्टिकोण

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) प्रकोपको सन्दर्भमा सामाजिक उत्तरदायित्वका लागि चिकित्सक नेपालले एक विज्ञप्ति जारी गरी कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले गरेको थालनी र प्रयास सकरात्मक र आशालाग्दो रहेपनि जन समुदायको तहसम्म सचेतनाको बिकास गर्न अझै प्रयास गर्नु पर्ने आवश्यकतामा जोड दिनु भएको छ । संस्थाका तर्फबाट अध्यक्ष डा शरद वन्तले जारी गर्नु भएको विज्ञप्तिको पूर्ण पाठ निम्न अनुसार छ :

 

बिश्वब्यापी रुपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमणमा नेपाल उच्च जोखिममा रहेको सन्दर्भमा हामी सामाजिक उत्तरदायित्वका लागि चिकित्सक नेपालका सम्पूर्ण सदस्यहरुले गम्भीर रुपमा नागरिक तथा पेशागत दायित्वको बोध गरेका छौँ । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले गरेको थालनी र प्रयास सकरात्मक र आशालाग्दो छ तापनि जन समुदायको तहसम्म सचेतनाको बिकास गर्न यति मात्र प्रयास पर्याप्त भने छैन । देशमा सङ्क्रमण देखिएमा वा शङ्कास्पद् बिरामीहरुको परिक्षण र बिरामीहरुलाई अबलोकनका लागि भर्ना गर्नु परेमा त्यसको उपचार ब्यबस्थापनको तयारी अत्यन्तै न्युन र कमजोर रहेको छ । दिनहुँ भोगीरहेका समस्याहरुलाई समाधान गर्नै हामीसँग भएको अपर्याप्त स्वास्थ्य सेवाका संरचना श्रोत र साधनले कोरोनाको गम्भीर थप समस्यालाई थेग्न नसक्नु स्वाभाबिक हो । त्यसैले, आबश्यकता अनुसार थप संरचना, कोरोना भाइरस (कोभिड—१९) बारे आधारभूत प्राबिधिक ज्ञान र सीप भएको स्वास्थ्य जनशक्ति तथा ब्यबस्थापन प्रणालीमा सुधार सहित बिश्व स्वास्थ्य संघको निर्देशिका अनुरुप राष्ट्रिय तैयारीलाई बलियो बनाउनु जरुरी छ ।

 

कोरोना भाइरसको (कोभिड—१९) सङ्क्रमणको रोकथाम र सम्भाबित सङ्क्रमणको ब्यबस्थापनका लागि सामाजिक उत्तरदायित्वका लागि चिकित्सक नेपाल आफ्नो जिम्मेवारीपूर्ण दृष्टिकोण सार्बजनिक गर्न चाहन्छ ।
  • संघीय तथा प्रदेश राजधानीहरुमा सरकारी स्वामित्वमा रहेका बिभिन्न संरचनाहरुलाई अस्पताल शैयामा रुपान्तरण गरेर आबश्यक पर्दा अस्पतालको रुपमा प्रयोग गर्न सकिने अबस्थामा तयार राख्नु पर्दछ । त्यस्तो संरचनामा सघन उपचार कक्ष (आई सी यु) को ब्यबस्थापन हुन नसक्ने भएकोले केन्द्रको सरकारी वा निजी कुनै एउटा सुबिधा सम्पन्न अस्पतालमा भएका सबै आई सी यु बेडहरु कोभिड—१९ का बिरामीहरुलाई मात्र आबश्यक पर्दा प्रयोग गर्न सकिने गरी तयारी अबस्थामा राखिनु पर्दछ ।
  • बिश्व स्वास्थ्य संघ लगायत बिभिन्न अन्तर्राष्ट्रिय निकायहरुसँग सहयोग र समन्वय गरेर देशको प्रयोगशालाको परिक्षण क्षमता तत्कालै बढाउनु पर्छ र प्रदेश तहसम्म बिस्तार गरिनु पर्छ । केवल अहिलेको कोरोना भाइरसको संक्रमणको प्रकोपलाई सम्बोधन गर्नका लागि मात्र नभएर भविष्यमा हुन सक्ने अन्य प्रकोपहरुको सम्भावनालाई समेत ध्यानमा राखेर प्रयोगशालाको प्राबिधिक क्षेमता बृद्धि गरिनु जरुरी छ ।
  • कोरोना भाइरस सङ्क्रमणको रोकथामका लागि मास्क, स्यानिटाईजर जस्ता अत्याबश्यक बस्तुहरुको बजारमा कृतिम अभाब हुन थालेको सन्दर्भमा सरकारले यस बारे सशक्त निगरानी र अनुगमन गरेर दोषीलाई कडा कारबाही गर्नु पर्दछ र ती बस्तुहरुको उत्पादन र आयातमा प्रोत्साहन गरी सबै नागरिकहरुको पहुँचलाई सहज बनाउनु पर्दछ ।
  • हाम्रो सिमित श्रोत र साधन तथा अपर्याप्त तयारीको पृष्ठभूमिमा विश्वब्यापीरुपमा फैलिएर हामी पनि कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा परेको यो सङ्कटको बेला हामी नागरिक समाज – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, प्राज्ञिक सस्था, पेशागत संगठन्, उद्योग ब्यबसायी, तथा आम नागरिकहरुलाई आफ्ना प्राथमिकताहरुलाई यही समस्यामा केन्द्रित गरेर एकबद्ध भै विद्यमान चुनौतिलाई सामना गर्न आह्वान गर्दछौँ ।
  • कोरोना भाइरस सङ्क्रमणको अबस्थादेखि नआत्तिई यो अबस्थाको गम्भिरतालाई अबमूल्यन गर्दै लापर्बाही नगरी सङ्क्रमणको रोकथाम गर्न सूचित गरिए अनुसार आबश्यक बानी ब्यबहार अवलम्बन गर्न सबैलाई हार्दिक अनुरोध गर्दछौँ ।
अन्त्यमा, सामाजिक उत्तरदायित्वका लागि चिकित्सक नेपाल कोरोना भाइरस सङ्क्रमणको यो सङ्कट समाधान गर्ने राष्ट्रिय प्रयासलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न प्रत्येक क्षण तयार रहने प्रतिबद्धता जाहेर गर्दछ ।
Facebook Comments