परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

ओली प्रतिष्ठानका पुरस्कारहरूबाट प्रा. खरेल, डा. बुढाथोकी, घिमिरे र बि.क. सम्मानित

रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान, झापाले काठमाडौँमा शनिबार एक कार्यक्रमको आयोजना गरी रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार २०१८ बाट डा. केदार बुढाथोकी, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार २०१८ बाट श्रीमती दुर्गा घिमिरे, अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार २०१८ बाट प्रा. परशुराम (पी. खरेल) र देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०१८ बाट यामबहादुर बि.क. लाई सम्मानित गरेको छ ।

सो प्रतिष्ठानद्वारा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिवार आयोजित छैठौं राष्ट्रिय पुरस्कार वितरण समारोहमा वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले सन् २०१८ का लागि छनौट भएका व्यक्तित्वहरूलाई सम्मान गर्नुभयो।

 

प्राध्यापक पी. खरेललाई अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार २०१८

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र Cardiff, Britain बाट पत्रकारितामा Advance Diploma गरी विगत साढे चार दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएका वरिष्ठ पत्रकार प्राध्यापक परशुराम खरेल (पी. खरेल) लाई पत्रकारिता तथा आम सञ्चारको क्षेत्रमा उल्लेख्य योगदान पु¥याए बापत रु.१,०१,१११।– (अक्षरेपी एक लाख एक हजार एक सय एघार रुपैंयाँ मात्र) राशीको अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०१८ प्रदान गरिएको छ ।

खरेलथोक, काभ्रेपलान्चोकमा जन्मनुभएका पी. खरेल सन् १९७३ मा राष्ट्रिय अङ्ग्रेजी दैनिक The Rising Nepal को सह-सम्पादकका रूपमा प्रवेश गरी सोही दैनिकको प्रधान सम्पादक समेत रहिसक्नुभएको छ । यसैबीच उहाँले गोरखापत्र संस्थानबाट प्रकाशन हुने Sunday Despatch मा सम्पादकको कार्यभार सम्भाल्नु भएको थियो ।

राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष एवं नेपाल प्रेस इन्सिटिच्यूटका पूर्व अध्यक्ष खरेलले त्रिविको केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागका प्रथम प्राध्यापक तथा संस्थापक विभागीय प्रमुखमा रहेर प्रशंसनीय सेवा पु्याउनुभएको छ । हाल त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आम सञचार विभागमा भिजिटिङ  प्रोफेसर रहनुभएका खरेलले सन् १९८४ देखि नेपाल प्रेस इन्स्टिच्यूटमा Journalism Trainer का रूपमा कार्यरत हुनुहुन्छ ।

नेपाल प्रेस इन्सिटिच्यूट, UNESCO, Human Rights and Good Governance, DANIDA लगायत दर्जनौँ सङ्घ संस्थासँग आवद्ध रही उहाँले मिडियाबारे अनुसन्धान एवं खोज पत्रकारिता गर्नुभएको छ । उहाँकf अङ्ग्रेजी र नेपाली भाषामा २० वटाभन्दा बढी सञ्चार तथा पत्रकारिता सम्बन्धी पुस्तकहरू प्रकाशित छन् । Political Communication, Media for Participatory Democracy, Wheel of Communication & Media Medley: Issues & Ideas उहाँका प्रमुख कृतिहरू हुन् । उहाँ हाल Nepal’s Political Development ( 1951-1971) प्रकाशोन्मुख कृतिका लागि रचना सङ्कलनमा  लागिरहनुभएको छ ।

हाल राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधिबारे अङ्ग्रेजी तथा नेपाली राष्ट्रिय दैनिक अखवारहरूका लागि नियमित लेख रचना गर्दैआउनुभएका प्रा. खरेलका ३००० भन्दा बढी लेखहरू प्रकाशित छन् । प्रा. खरेलले सन् १९८४ देखि रेडियो नेपालमा रेडियो कमेन्ट्री समेत गर्दै आउनुभएको छ । दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय अखवार एवं पत्रपत्रिकाहरूमा उहाँका लेख प्रकाशित हुँदै आएका छन् ।

 

डा. केदार बुढाथोकीलाई रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार २०१८

युनिर्भसिटी अफ लण्डन, बेलायतबाट “अफ सिजन्स फ्रेश ओनियन प्रोड्क्सन एज दि क्यास क्रप्स” मा विद्यावारिधि हासिल गर्नु भई ३५ वर्षसम्म कृषि विभाग, लुम्ले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वरिष्ठ कृषि वैज्ञानिकको रूपमा कार्यगर्नु भएका नख्खु, ललितपुरमा स्थायी बसोवास गर्नुहुने डा. केदार बुढाथोकीलाई कृषि क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै रु.१,०१,१११।– (अक्षरेपी एक लाख एक हजार एक सय एघार रुपैंयाँ मात्र) राशीको रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०१८ प्रदान गरिएको छ ।

डा. बुढाथोकीको प्रत्यक्ष नेतृत्वमा वर्णशङ्कर विधिव्दारा नेपालमा प्रथम पटक ओइलाउने र पछौटे डढुवा रोग नलाग्ने अवरोधी, बजार, वजारिया र उपभोक्ताहरूलाई आकर्षण गर्ने, बढी उत्पादन दिने श्रृजना जातको  वर्णशङ्कर टमाटर विकास गर्नुभएको छ । किसानहरूको माझ लोकप्रिय श्रृजना टमाटर हाल करिव ५५ जिल्लाहरूका ४०,००० हेक्टर जमिनमा, १६ लाख प्लाष्टिक घरहरू निर्माण भई मौसमी तथा वेमौसमी ५ लाख साना तथा गरिव किसानहरूको संलग्नतामा यस जातको टमाटर खेती हुँदै आएको छ । पहाडी क्षेत्रमा प्लाष्टिक घरभित्र र खुला जमिनम  टमाटर खेतीगरी किसानहरूले वार्षिक ९ अर्ब रुपैयाको हाराहारीमा आयआर्जन गर्न सफल भएका छन् । श्रृजना, त्रिशना, सम्झना, डाक्टर ३ र डाक्टर सरीता नामक वर्णशङ्कर टमाटरका जातहरू विकास गर्नुहुने डा. बुढाथोकीलाई नेपालको “टमाटरका पिता“ भनेर समेत चिनिन्छ ।

 

दुर्गा घिमिरेलाई गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार २०१८

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एम. ए. र कानुनमा स्नातक गरी वि. सं. २०३३ सालदेखि अनवरत रूपमा सामाजिक सेवाको क्षेत्रमा विशेष गरी मानव अधिकार, चेलिबेटी बेचबिखन बिरूद्दको अभियानमा क्रियाशिल भई महिला उत्थानको क्षेत्रमा उल्लेखनीय योगदान पु्रयाउनु भएकी सुनसरी, धरानकी सामाजिक अभियन्ता श्रीमती दुर्गा घिमिरेलाई रु.१,०१,१११।– (अक्षरेपी एक लाख एक हजार एक सय एघार रुपैंया मात्र) राशीको गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार–२०१८ प्रदान गरिएको छ ।

सन् १९८७ मा आफ्नै पहलमा ए. बी. सी. नेपाल नामक गैह्रसरकारी संस्थाको स्थापना गर्नुका साथै त्यसपछिका विभिन्न समयमा अरु पनि धेरै संस्थाहरू स्थापना गर्न सक्रिय घिमिरेले हालसम्म ३००० चेलीहरूको उद्धार तथा समाजमा पुर्नस्थापना गरी उनीहरूको जीवनलाई रूपान्तरण गर्न सफल हुनु भएको छ ।

श्रीमती घिमिरे महिला र राजनीति, दक्षिण एसिया तथा प्रशान्त क्षेत्रको उपाध्यक्ष, चेलीवेटी बेचबिखन विरूद्धको राष्ट्रिय संस्थाकी संस्थापक अध्यक्ष, शैलजा आचार्य आदर्श सामाजकी संस्थापक अध्यक्ष, महिलाको आर्थिक ससक्तिकरणका लागि स्थापना भएको हस्तकला उत्पादक सङ्घकी अध्यक्ष र शान्ति मालिका नामक संस्थाकी पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार हुनुहुन्छ । बेलायतस्थित बि बि सी नेपाली सेवा रेडियो कार्यक्रममा आबद्ध श्री घिमिरेले  सन् १९९४ मा बेइजिङमा भएको अन्तर्रा्ष्ट्रिय महिला सम्मेलनमा नेपाली गैह्रसरकारी संस्थाको टोलीको नेतृत्व गर्नुका साथै संसारका विभिन्न ३० मुलुकहरूमा श्रोत व्यक्तिका रूपमा भ्रमण गरिसक्नुभएको छ ।

वरिष्ठ महिला अधिकार अभियन्ता घिमिरेले सामाजिक सेवाका साथसाथै एक शसक्त नारी लेखिकाको रूपमा समेत आफूलाई स्थापित गरिसक्नुभएको छ । उहाँका जेलको सम्झना, शक्ति गिती क्यासेट,चेलीका आवाज, चेलीको कथा र व्यथाः केही अनुभव र अनुभूतिहरू, नेपालमा महिलामाथि हुने हिंसा (लेख संकलन), Rescue, Rehabilitation and Reintegration: ABC Experience, उनको सम्झना, प्रेमको बगैंचा लगायतका साहित्यिक तथा अन्य विविध कृतिहरू प्रकाशित छन् ।

 

यामबहादुर वि. क. लाई देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०१८

नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ११ मा अध्ययनरत गुराँस–३, खुम दैलेखका बालक यामबहादुर वि. क. लाई बाल विवाह न्यूनीकरणका लागि चुनौतिपूर्ण कार्य गरी बाल हिंसा र लैगिंक हिँसाका विरुद्ध जनचेतना वृद्धिका लागि अनुकरणीय योगदान गरेबापत् रु.५१,१११।– (अक्षरेपी एकाउन्न हजार एक सय एघार रुपैंयाँ मात्र) राशीको देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार–२०१८  प्रदान गरिएको छ ।

यामबहादुर वि. क. जिल्ला बाल सञ्जालका अध्यक्ष हुनुहुन्छ । जातीय विभेद अन्य गर्न सामाजिक जागरणमा अग्रसर यामबहादुरको नेतृत्वमा बालबालिकाका विकासका लागि दर्जनौँ कार्य सम्पन्न भएका छन् । बाल क्लब भवन निर्माणमा आर्थिक सहयोग जुटाउनुका साथै बेचबिखनमा परेका महिला तथा बालबालिकाको अवस्थाबारे प्रहरी लगायतका निकायमा खबर गरी पुर्नस्थापना गर्ने, महिला हिंसा, बाल हिंसा विरुद्ध, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गर्ने, गाउँ व्यवस्थापन समिति गठन गरी मदिरा नियन्त्रण गर्न तथा तत्कालीन गाउँ विकास समितिलाई खुला दिशामुक्त बनाउने जस्ता अभियानहरूमा पनि यामले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ ।

समाजमा भएका सकारात्मक, नवीन र परिवर्तनकारी कार्यलाई प्रश्रय दिंदै व्यक्तिगत तथा संस्थागत रूपमा भएका अनुकरणीय कार्यहरु गर्ने उत्कृष्ट व्यक्ति, संघ तथा संस्थाहरुको प्रतिभा र कमर्यहरुको संरक्षण,प्रवर्धन एवं सम्मान गर्ने उद्देश्यले स्थापित रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान, झापामा स्थापना भएको हो ।प्रतिष्ठानले अक्षयकोषको ब्याजबाट  सन् २०१२ देखि प्रत्येक वर्ष राष्ट्रियस्तरका चारवटा विविध विधाहरूमा पुरस्कार प्रदान गर्दैआएको छ ।

 

 

 

 

 

 

 

 

Facebook Comments