परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

भानू–नारद संवाद

सन्दर्भ भानू जयन्ती

एक् दिन् नारद काव्यलोक पुगिगया भेट्छु म भानू भनी
भानू त्याहिँ थिया, बस्या समिपमा, बात् मार्न लाग्या पनि ।
दौरामाथि टमक्क बाँधी पटुका, टोपी त बिर्के धरी
सा¥है हर्षित भानूले ऋषिजीको स्वागत गरे बेसरी ।।१।।

कम्मरमा खुकुरी र बाम करमा रामायणै साथ छन्
बाक्ला घप्प जुँघामुठे कविजीका मीठामीठा बात छन् ।
सोधे नारदलाई – क्यान मुनिवर् यो कष्ट गर्नुभयो ?
यौटा प्रश्न म सोध्छु – नारद मुनि ! नेपाल झर्नुभयो ? ।।२।।

बोले नारद – हे कविबर ! म ता नेपाल पैले गएँ
त्यस् पश्चात तपाईका समीपमा सोझै प्रकट् भैगएँ ।
नारदका यी बचन् सुनी खुशी भई भानु रमाया अनि
सोधे – देश पवित्र मातृभूमि त्यो कस्तो छ भन्नुस् भनी ।।३।।

भाषा, शास्त्र कसो, कसो हुन गया, शिलोक कस्ता भया ?
के कस्ता रचना र छन्दहरूका कीर्ति कहाँतक् गया ?
यस्ता प्रश्न जसै सुन्या कविजीका नारद् रिसाया त्यहाँ
बाँकी कत्ति कुरा नराखी मनमा यथार्थ खोल्दा भया ।।४।।

आज्कल् छैन शिलोक लोकभरिमा, गफ्गाफ् कविता भया
छन्दैबन्द भया, कवि र कविता सस्ता भएरै गया ।
जे लेखे पनि हुन्छ फेसबुकमा कृति त विकृत छन्
मीठो शार्दूल बिक्रीडित कविता को भन्छ ? को सुन्दछन् ।।५।।

कस्को फूर्सद डुब्न भाव, गणमा, मात्रा गनोस् को बसी !
ह्रश्वै दीर्घ रटेर बस्दछ कउन्, के मिल्छ त्यस्तो रटी ?
एकछिनमै नवरस् अनुभूत गरी बस्छन् अचेल मानिस
आफ्नो उन्नति छैन ता पनि भने, बस्छन् गरी आरिस ।।६।।

कस्तोसम्म बनिसक्यो अब त्यहाँ चोरेर बन्छन् कवि
लज्जा, शील, शरम् यी त्याग्छ जसले, उस\कै ठूलो भो छवि !
त्यागी, सन्त, इमानी मानिसहरू सड्छन् त्यहाँ दिन्दिन
डाँका, चोर, फटाह, चाकरहरू चढ्छन् सिँढी छिन्छिन ।।७।।

सच्चा चिन्तक, त्यागी, सर्जकहरू बाँच्नै कठिन भैगयो
हे भानू, असली र खाँटी रचना–को ता खडेरी भयो ।
नारद्का यी कुरा सुनेर कविजी भावुक बन्दा भया
मेरो नाम, कृति छ कि मरिसक्यो भनेर सोध्दा भया ।।८।।

केही मौन रहेर नारद मुनि भन्छन् – सुने हे कवि १
मुग्लान्मा तिमी हिट छौ, घरविषे तिम्रा अनेकौँ छवि
यौटै देशमहाँ कहीँ त पुजियौ, कहीँ त शालिक् फुटे
तिम्रा नै बदख्वाइँबाट हिट छन् केही थरीका ठुटे ।।९।।

उनान्तीस असारका दिन भने तिम्रै कुरा चल्दछन्
तिम्रा शालिकमा अनेक रूपका बत्तीहरू बल्दछन्
माला, फूल सजाई शालिकमहाँ पूजा पनि गर्दछन्
तिम्रो राम चरित्र पाठ पनि पो धुम्धामसाथ् गर्दछन् ।।१०।।

नारद्बाट सुनेर हाल कविजी बेहाल जस्तै भए
आँखा नारदका छलेर उनी ता अल्पेर जाँदा भए
प्यारो कान्तिपुरि नहेरी उनको मानेन मन्‍ले कसै
माला, फूल, अबिर शालिकमहाँ देखी रमाए उसै ।।११।।

एकै छिनपछि सबै फूल अनि माला उठाइकन
आर्याघाटमहाँ ती बिक्रय भए लाश्माथि राख्नाकन
यस्तो रङ्ग र ढङ्गबाट कविवर दिक्दार बन्दा भया
झट्पट् उर्वसी साथ लागी चुपचाप् स्वर्गै रवाना भया ! ।।१२।।
(समाप्त)

Facebook Comments