परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

गस्ती बढाऊँ अब

कविता (छन्द:शार्दूल विक्रीडित)

लागौँ रक्षण गर्न मातृभूमि यो धर्ती पटाऊँ तब

माटो नै सबले चिनौँ मुलुकको बालेर उम्दा पव

मिल्दा लेक पठार टारहरुमा बस्ती ठड्याऊँ सब

कालीका भलपूर्वका जमिनमा गस्ती बढाऊँ अब॥१

 

चर्चेको छ पराइले मुलुक यो गर्दै ठुलो दोहन

गालौँ एक भएर गिद्धमुखका साम्राज्यवादी कन

नेपाली जन जाग्नु पर्छ अहिले पारेर यौटै मन

फैलाईकन राख्न शान भवमा नेपालको शोभन॥२

 

खाँदामा अघि शत्रुले छल गरी नेपाल आधा भयो

आधामा पनि घोर कालकूट नै फैलेर बाधा भयो

खप्ने साहस देखिँदैन अहिले अन्याय ज्यादा भयो

बाली दीपक न्याय खोज्नु जगमा यौटै सहारा भयो॥३

 

पुर्खाले खुकुरी भिरेर अघि जो नेपाल निर्माणमा

देखाए जति वीरता मुलुक नै हाली सदा काँधमा

आस्थाले, अभिमानले फजितिले माटो परित्राणमा

नेपाली किन जान डर्छ सहजै दौडी स्वयं साँधमा॥४

 

छाला जब्बर शेरको किन खुसी देखिन्छ शृङ्गालको

ठाडो सङ्कट सार्वभौमतिरको बन्दैन ख्याल्ख्यालको

सुल्झाऔँ अब हस्तक्षेप अरुको टालौँ सबै झ्याल हो

हेरी सुन्दर शारदा रदबनी काढ्ने नहोस् र्‍याल त्यो॥५

Facebook Comments