परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

विदेश प्रधान देश

लघु कथा

ए.. जेठाजू पो? यति बिहानै कताबाट त?
(साइँल्यामा पछ्यौराले शिर ढाक्दै निहुरिनु भो।)
***
“मनमा पीर परे’सि सुख-सुबिस्ता आरामसंग बास बस्दारछ’न्। निद्राले चाँडै नै छाड्यो, अनि आइपुगियो नि, साइँली।
***
“के पर्यो र त्यस्तो?”
“ठूलो कुरो त हैन – कान्छा आ’छन् रे नि त, शहरबाट ! हाम्रो चरीमायाँको खबर के छ काठमाडौँ तिर भनेर।”

***
“ए मीत’बा? नमस्कार छ है… हेर यत्ति चाँडै कहाँदेखि…. म आइहाल्थेँ नि त भेट्न !”
(यति भन्दै कान्छो बाहिर निस्कियो।)

***
“सानो बाबु सहरबाट कैले आ’को? अनि हाम्रो चरीलाई भेट्यो त नानीले?”
(के गर्नु चरीलाई भेटेको कुरो कोट्याएर अब? शहरतिर सुनेकै भरमा उसको खबर मीत्बा’लाइ भन्नु कि नभन्नु? कान्छो मनमनै गुन्न थाल्यो र एकैछिनमा उसले मुख खोल्यो।)
***
“शहरतिर बस्ने कसैलाई पनि फुर्सद हुन्न मीत’बा। त्यसैले चरीदिदीलाई मैले नभेटेको धेरै नै भयो।”

***
” अहो, हेर- यसो कैले-कैले फुर्सद मिलाएर आफ्नो दिदीभाइ भेट्न पो पर्छ त। लौ त नानी, त्यसो भए म गएँ। पछि आउँला फेरि।”

***
“के भा त कान्छा तँ? मीत’बाले चित्त दुखाउनु’भो जस्तो छ।”
(साइँल्यामा फत्फताउनुभो।)

***
“आ.… आमा पनि ! चरीले पखेटा बदलेकी कुरो मीत’बालाई के थाहा? भेट त दिनदिनै हुन्छ नि! सुनाउन योग्य कुरो पनि त गरेको हुनपर्यो नि, चरीदिदीले।

नयाँ शीशावाला बिल्डीङ्गमा काम गर्न थालेपछि, क-कसको संगतले हो कुन्नि, दिदी त फरक हुनुभा’छ । अस्ति भेट्दा, ‘मेरो पढाइ सिद्धियो, अब म घर जान्छु अनि आफ्नै ठाउँमा काम गर्छु, दिदी’- भनेको मात्र के थिएँ- ओहो… ‘गाउँमा के छ? तिमीजस्तो पढेको मान्छे गाउँमा गएर के गर्ने?’ अरे… म त छक्क परेँ भन्या।”

“दिदी त विदेश जाने रे छिट्टै। अनि उतै बस्ने रे। नेपालमा कसैको पनि ‘फ्युचर’ छैन रे। यस्तो कुरो मैले कसरी भन्नु मीत’बालाई? जब कि मीत’बा भने बिदेशिएका युवाहरुलाई समेत गाउँ फर्किन पर्छ; बाहिर सिकेको सीपले आफ्नै ठाउँमा केही गर्न पर्छ भन्दै हिँडिर’नुभा’छ। बरु दिदीसँग भेटै भएन भन्द्यो- ढुक्कै।”

Facebook Comments