प्रधानमन्त्रीको राजीनामा !
मलाई थाहा छैन को हुन् केपी शर्मा ओली ! एउटा कुरा निश्चित थाहा छ उनी “कोही” हुन् । मलाई थाहा नभे पनि मेरो बुढी डोल्मालाई था’ रैछ । उनले फ्याट्ट भनिन् “कस्तो नचिनेको हाउ तिमीले ! अब हुने वाला प्रधानमन्त्री ! वहाँ नेपालाँ (काठमाडौँ) उनको राजीनामा मागिसके ।”
हो त साँची ! केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभन्दा लगभग १० दिनअघि नै डाक्टर गोविन्द केसीले केपी ओलीको राजीनामा मागेका थिए । मैले पो भुसुक्क बिर्सेछु । काठमाडौंको माइतीघर मण्डलामा केसीसहितको जमातले हुनेवाला प्रमको राजीनामा मागेको समाचार म बसेको यो अनकण्टार ठाउँमा समेत रेडियोले सुनाएको थियो । त्यसताका रेडियो उस्तो हो कि, केसी उस्तो हो कि, केपी उस्तो हो, मेरो दिमाखले छुट्याउनै सकेन । प्रधानमन्त्री बन्ने तरखरमा रहेका ब्यक्तिले हुँदै नभएको पदबाट कसरी राजीनामा दिने र राजीनामा पत्र कहाँ बुझाउने ? मेरो सानो दिमाख झण्डै पन्चट भा`को । कागभन्दा बाठो केसीको दिमाखी तन्तुसँग मेरो भुरे तन्तु परास्त भयो । म ठूलो सोचमा परिरहेको बेला भेडा चराएर भख्खर घर आएकी मेरी डोल्माले फित्कौली हाने जस्तो फ्याट्ट भनी – राजीनामा दिनैपर्छ, ठीक भनेछन् । तिमी कुरो बुझ्दैनौ बुढा ! तुरुन्त नेपालाँ जाऊ र केसीसँग साउती गरेर हुनेवाला प्रधानमन्त्रीमा आफ्नै नाउँ लेखाऊ । मेरी डोल्मा निकै बाठी छ । उसले भन्या जस्तो नेपाल त गइनँ तर, उसको कुरालाई भने माउ कुखुराले छपक्क चल्ला छोपे जस्तै जतनसँग छोपेर मनमा राखेँ ।
अबको प्रधानमन्त्री पक्का मै हो ! लु… ठोकुवा गरें । अब १७ औँ अनशनमा वारका पार गरिन्छ । अहिले डाक्टर सा’ब अम्रिका टूरमा हुनुहुन्छ । टुरबड (बाट) फर्केपछि कि ओल्लो तीर कि पल्लो भिर ! फाइनल ठोकिन्छ । होइन भने राजीनामा माग्न विप्लवको मुद्दा बोकिन्छ ! भूत्रैसित !!
जब गोविन्द केसी १६ औँ अनशनमा बसे, तब मैले धुवाँधार समर्थन गरेँ । सामाजिक सञ्जालमा लेखेर काठमाडौंमा रहेको टिचिङ भन्ने अस्पतालको भित्रै पस्ने गरी, मिल्छ भने भरसक केसीको समर्थनमा अनशन नै बस्ने गरी पठाइदिएँ । मेरो त्यो समर्थनले बिरामी लतार्दै र कुरुवा पछार्दै भित्र पसेर बिलौना कहेछ । मेरो ‘मेसेज’ कम चोटिलो र लर्तरो थिएन । आखिर केसीलाई बोल्न लगाइछाड्यो । ‘मेसेज’ पाएको भोलिपल्टै डाक्टर केसीले मेरो उद्देश्य र डोल्माको भावना अनुरूप विद्वताले भरिपूर्ण, ऐतिहासिक वक्तव्य निकाल्नु भो । वक्तव्यमा ठाडै प्रधानमन्त्रीको राजीनामा मागिएको थियो । अब मेरो प्रधानमन्त्री बन्ने पालो आयो भनेर हर्षले गद्गद् भएँ । डोल्मा फुरुङ्ग परी ।
एउटा एफएमले केसीको समर्थनमा १० मिनेट लामो मुख्य समाचार बनायो । मैले त्यत्रो तनावमा रहेका, १६ औँ अनशनका जन्मदाता, “महान्” ब्यक्ति, तीन करोड जनताका “प्रत्यक्ष तर्फका” प्रतिनिधि, तथाकथित बौद्धिकहरुका अगुवा सम्पूर्ण जनताका ढुक्ढुकी डाक्टर केसीलाई सामाजिक सञ्जालको चरम उपयोग गर्दै लेखिपठाएँ ।
ठेगानामा-
‘जहाँ जान्छ, डाक्टरले पाम्छ
नपाए मात्र फर्केर आम्छ‘ भनेर लेखिदिएँ ।
भित्र पेटबोलीमा कड्किएर भनेँ – ‘नियम, कानून, ऐन, संविधान, विधान र भुक्तमानका महासागर हे डाक्टर ! प्रधानमन्त्रीको राजीनामा आफैं बुझ्नू र तपाईंको डायरीमा, अत्यन्त बुझ्ने अक्षरमा, अब बन्ने प्रधानमन्त्रीमा खुल्लमखुल्ला मेरो नाम लेखिदिनुहोला । म प्रधानमन्त्री भएपछि तपाईंका हुने–नहुने भए जति सबै माग खार्लापखुर्लुप पूरा गरिदिन्छु। यदि तपाईंका माग पूरा गर्न सकिनँ भने आजैका मितिबाट राजीनामा पेश गर्दछु’, भनेर धस्काएँ । तर, के गर्नु ! डोल्मा र मेरो भाग्य नै छैन ! त्यत्रो ठूलो राष्ट्रिय खबर पनि पत्रपत्रिकाले छापेनन्, टिभी, रेडियोले बोलेनन् । बरु भोलिपल्ट सरखारले केसीसँग वार्ता गर्न ‘वार्ता टोली’ गठन गरेको कुरा रेडियोले बोल्यो । पर्सिपल्ट सरखारले डाक्टर केसीको माग “गोपीक्याँच” पारेको खबर खोक्यो । यस्तो खबर सुनेपछि डोल्माले बलिन्द्र धारा आँसु झार्दै प्रार्थना गरी – ‘हे हिमालय, हे पार्वती ! यी मेरा भेडा जाऊन् भाँडमा, मेरो बूढोलाई प्रधानमन्त्री बन्न नदिने तिमी शिव ! अब शिव रहन सकेनौं । तिमी पनि अब गोविन्द केसीको माग जस्तै ‘गोपीक्याँच’ भयौ । मैले डोल्मालाई सम्झाएँ, थुम्थुम्याएँ र भनेँ – ‘पीर गर्नु पर्दैन, नेपाली काङ्ग्रेसले पनि बेलाबेला प्रधानमन्त्रीको राजीनामा माग्न छोडेको छैन। कुनै बेला कसो राजीनामा नबुझाउलान् ! फेरि भएन, यता विप्लववालाहरूले पनि राजिनामा माग्न थाले । अबको प्रधानमन्त्री पक्का मै हो ! लु… ठोकुवा गरें । अब १७ औँ अनशनमा वारका पार गरिन्छ । अहिले डाक्टर सा’ब अम्रिका टूरमा हुनुहुन्छ । टुरबड (बाट) फर्केपछि कि ओल्लो तीर कि पल्लो भिर ! फाइनल ठोकिन्छ । होइन भने राजीनामा माग्न विप्लवको मुद्दा बोकिन्छ ! भूत्रैसित !!