परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपालमा चाकडी

कविता (छन्द: शार्दूल विक्रीडित)

कुर्सीका हकदार नै मुलुकमा पारेर बस्छन् दुलो

गर्छन् देश खुलेर दोहन सधैँ छानेर पल्ला ठूलो

राखी चाकर औ दलाल सहजै ढाकेर गौँडा–गढी

खेती उत्तम एउटै छ अहिले नेपालमा चाकडी॥१

 

सच्चा मानव देशभक्त कहरै काटीवरी बस्तछन्

केही गोखर चाटुकार तलुवा चाटेर नै मस्त छन्

मिल्ने हैन विशेष मान गुणले खारेर धेरै पढी

खेती उत्तम एउटै छ अहिले नेपालमा चाकडी॥२

 

चारैतर्फ छ लूटको कहर यो फैली रहेको यहाँ

होला देश दिगो समुन्नत हरे जागेर कैले कहाँ?

गर्दामा सब माफ हुन्छ खलले जस्तोसुकै गड्बडी

खेती उत्तम एउटै छ अहिले नेपालमा चाकडी॥३

 

झूटो सत्य भनेर बम्कन सके पाइन्छ रे दक्षता

झोली थाप्न पुगे कुदेर घरमा पाइन्छ हो अक्षता

पुग्छन् गोखर नै झुरेर पदमा पर्खाल नाघी चढी

खेती उत्तम एउटै छ अहिले नेपालमा चाकडी॥४

 

पेवामै अधिकार मिल्छ गुटमा कुर्सी ठूलो भ्याउन

छोपी दाउ अनेक राष्ट्र ढुकुटी पाइन्छ कुम्ल्याउन

भ्रष्टाचार लुकेर जान्छ सहजै छोएर जादू-छडी

खेती उत्तम एउटै छ अहिले नेपालमा चाकडी॥५

 

जस्ले मानवता विसर्जन गर्यो ढुङ्गो बनायो मन

नेपाली जनता भुली मुलुकको काढी उछित्तो झन

पापी दूच्छरकै भयो जय हरे! बस्दैछ तक्मा जडी

खेती उत्तम एउटै छ अहिले नेपालमा चाकडी॥६

Facebook Comments